अघिल्लो साता बन्दिपुर–२ का ६ वर्षिय बालक उत्सव गरुङले चितुवाको आक्रमणका कारण ज्यान गुमाए । कुवादीमा रहेको आफ्नै घरको आँगनमा खेली रहेका गुरुङलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । विगत पाँच वर्षको तथ्याङ्कलाई केलाउने हो भने तनहुँमा मात्र चितुवाको आक्रमणमा परी ज्यान गुमाउने बालबालिकाको संख्या दर्जन पुग्न लागेको छ । भानु, व्यास, शुक्लागण्डकी, आँबुखैरेनी हुँदै बन्दिपुर पुगेको चितुवाको आक्रमणको त्रास अब जिल्ला भरनै फैलिएको छ ।
मकैले सुत्ला काढ्न लागेदेखि बाँदर कुर्नु पर्ने दैनिकी तनहुँका अधिकांश किसानको बनेको छ । धान, गहुँ, कोदो जोगाउन कठिन हुँदै गएको छ, भने विस्तारै बाँदरबाट फलफूल जोगाउने काम पनि कठिन हुँदै गएको छ । घरमा पालेका बाख्राका साना पाठा पाठी अनि कुखुरा र हाँस– स्याल तथा बन विरालोबाट जोगाउन हम्मे पर्न थालेको छ । यि सबैको एउटै अर्थ हो, मानव र वन्यजन्तु बीचको द्वन्द्व विस्तारै बढ्दै गएको छ ।
मानिसको ज्यानै लिने चितुवा नियन्तणमा लिएर अन्यत्र लग्न वा मार्न तनहुँका स्थानीय नागरिकले सम्बन्धित निकायसंग बारम्बार अनुरोध गरेका छन् र यसका लागि आन्दोलन समेत भएका छन् । तर सरकारी तवरबाट प्रभावकारी प्रयासहरु भएको देखिएको छैन ।
यसैबीच हामी नागरिकले पनि सोच्नु पर्ने कुरा के हो भने हामीले बाँदर, स्याल र चितुवाका खानेकुरा खोसेका कारण पेट भर्नकै लागि उनीहरुले हामी र हाम्रो खानेकुरा माथि धावा बोलिरहेका छन् । जंगलबाट जरायो, मृग, वन कुखुरा, खरायो लगाएतका चितुवा र स्यालका खानेकुरालाई हामीले आफ्नो आहारा बनाएपछि विकल्पहिनि भएर उनीहरु हामी माथि जाइलागेका हुन् । जंगलमा भएका फलफूल हामीले खाएपछि वा बोट नै निमिट्यान्न पारेपछि बाँदर खानेकुरा नपाएर हाम्रो मकैबारी वा धान खेत र फलफूल बगैंचामा पस्न थालेको कुरा सत्य हो ।
हामीले सामुदायिक वन मार्फत वन्यजन्तुलाई वासस्थान त दियौं तर उनीहरुका खाना भने खोस्ने गरेका छौं । अहिलेको मानव–वन्यजन्तु द्वन्द्व मानविय क्रियाकलापकै कारण बढ्दै गएको कुरालाई मनन
गरौं । वन्यजन्तसँगको द्वन्द्व घटाएर सुरक्षित जीवन बाँचौं ।
घटाउँ मानव–वन्यजन्तु द्वन्द्व-सम्पादकीय
previous post