
चैत्र १० मा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनयन गरेका छन् ।
नागरिक जीवनमा प्राणको रुपमा रहने अपेक्षा गरिएका स्थानीय निकायको आसन्न निर्वाचनको घोषणा पत्र तयारी जस्तो महत्वपूर्ण जिम्मेबारी प्राप्तीका लागि महामन्त्री थापालाई बधाई । संगसंगै आम नागरिकको रुपमा गगनबाट मैले रोखेका अपेक्षा र घोषणा पत्र निर्माण गर्दैगर्दा ध्यान दिनका लागि केही आग्रहबारे यसपटक तनहुँ आवाज मार्फत संयोजक गगनसंग गनगन गर्ने जमार्काे गरेको छु । गनगन किनभने,मेरो आग्रह गगनसम्म नपुग्ने सम्भावना धेरै छ । पुगेपनि मजस्ता सामान्य नागरिकको आग्रह र अपेक्षाको सुनुवाई अनि सम्बोधन गर्नु शायद गगनका लागि सम्भव हुनेछैन । तथापी वितेको पाँच वर्षमा स्थानीय सरकारहरुले गरेको कामको मूल्याङ्कन गर्दै आगामी दिनमा तिनका प्राथमिकता निर्धारण र जनअपेक्षाको सम्बोधनमा भूमिका बारे कांग्रेसको घोषणा पत्रमा विषय वस्तु समेटिउन भन्ने अपेक्षाका साथ केही कुरा प्रस्तुत गर्न चाहन्छु । गगनसम्म नपुगे पनि वा उनले सम्बोधन गर्न नसकेपनि स्थानीय तहका नेता तथा उम्मेदबारहरुले आफ्ना प्राथमिकता निर्धारण गर्दा , आगामी कार्ययोजना बनाउँदा मैले प्रस्तुत गरेका तर आम नागरिकको चासो रहेका विषयलाई आत्मसाथ र सम्बोधन गरुन् भन्ने अपेक्षा गरेको छु ।
डेढ दशकलामो स्थानीय निकायको रित्ततालाई पूरण गर्दै पाँच वर्ष अगाडि पुर्नसंरचित राज्यको स्थानीय निकायमा स्थानीय निकायमा जन प्रतिनिधिहरु आउँदा उनीहरुमा प्रसस्त अलमल
थियो । काम गर्ने कानून थिएन । ६ महिनापछि २०७४ असोजमा मात्र स्थानीय सरकार सञ्चालन एैन, २०७४ आयो । कहाँ बसेर काम गर्ने ठाउँ र भवन थिएन । कर्मचारीहरु थिएनन् । १५ वर्षसम्म हुन नपाएको अभ्यासले कसरी काम गर्ने भन्ने राम्रो ज्ञान थिएन । तर कोभिडको महामारीका बेला स्थानीय सरकारहरुले जसरी काम गरे त्यसले उनीहरुका प्रति आम जनतामा आशाको सञ्चार गरायो । कोभिडका कारण रोजगारी खोसिएर गास जुटाउन नसकेकाहरुका लागि राहत वितरण देखि कोभिडको रोकथाम र नियन्त्रण जुन प्रभावकारी भूमिका स्थानीय सरकारहरुले निर्वाह गरे वास्तवमै त्यो स्तुत्य रह्यो । आम नागरिकले अहिले खोजेको भनेको विद्युत, सञ्चार, सडक, स्वास्थ्य लगाएत सुविधा हुन । यि सुविधा आफ्ना नागरिकलाई उपलब्ध गराउन स्थानीय सरकारहरुले जुन तदारुकता देखाए त्यो पनि उल्लेख्य रह्यो । कतिपय सन्दर्भमा नागरिकले सरकार भएको अनुभूति गर्न पाए । संघीय सरकार र प्रदेश सरकारको भन्दा बढी विकास खर्च गर्ने क्षमता पनि स्थानीय सरकारहरुले
देखाए । यसले उनीहरुमा सक्षमताको अभाव भन्ने देखिएन ।
तर सबै काम राम्रा भए भन्ने ठाउँ भने स्थानीय सरकारहरुले राख्न सकेनन् । प्रत्येक वर्ष वढ्दै गएको स्थानीय निकायको बेरुजुले आम मानिसमा चिन्ता थप्दै गएको
छ । यतिमात्र होइन, भ्रष्टाचारका मुद्दाको कुरा गर्ने हो भने प्रति पालिका सरदर तीनवटाका दरले अख्तियारमा भ्रष्टाचार सम्बन्धि मुद्दा दर्ता हुनुले नागरिकमा थप चिन्ता थपेको छ । अनावश्यक ठाउँमा सस्तो लोकप्रियताका लागि बजेट विनियोजन तथा खर्च गर्ने कुरामा त स्थानीय निकायहरु अग्रसर नै भए नभए पालिका पिच्छे भ्यूटावर हुने थिएनन् । नागरिकले विरामी पर्दा सिटामोल नपाएका समाचार प्रकाशित भइरहँदा लाखौं र अझ कतिपय पालिकामा त करोडौंको लागतमा भ्यूटावर बनेका समाचार संगै आउनु विडम्बना थियो । यो बीचमा नागरिकले विकासे योजनामा आफ्नो सहभागिता भन्दा सरकारी लगानी मात्र खोजेर बसे । जनप्रतिनिधिका रुपमा नागरिक सहभागिताको खोजी गर्दै सम्पन्न योजनामा अपनत्व भाव उत्पन्न गराउने कुरामा खास चासो देखाउन सकेनन् । राम्रालाई भन्दा हाम्रालाई ठेक्का दिने, अनुत्पादक क्षेत्रमा अनावश्यक लगानी गर्ने, आफ्ना कार्यकर्ता र निकटहरु भर्ती गरेर राज्य श्रोतको दुरुपयोग गर्ने कुरामा पनि पालिकाहरुको कमजोरी रह्यो । यसरी हेर्दा स्थानीय निकायहरु आफ्नो गन्तव्य भुलेर बरालिएको अवस्थामा पुगेका भेटिए ।
र अहिले दोस्रो पटक स्थानीय निकायको निर्वाचन आउँदै गर्दा तन र मनले युवा भनिएका गगन थापाको काँधमा नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको नेतृत्व गर्ने जिम्मेबारी आएको छ । वितेको पाँच वर्षमा स्थानीय सरकारहरुले गरेका राम्रा काम अनि तिनीहरुबाट भएका कमजोरी दुबैबाट सिक्दै घोषणा पत्र होइन प्रतिज्ञा पत्र बनाउनु छ, गगनले ।
कांग्रेसले नेतृत्व गरेका स्थानीय निकायले गरेका राम्रा र जनमुखी कामको निरन्तरताको प्रतिज्ञा सो पत्रमा हुन जरुरी छ भने आलोच्य विषयको खोजी गर्दै आगामी दिनमा त्यस्ता काम नदोहो¥याउने प्रतिज्ञा पनि उक्त पत्रमा गर्नु पर्नेछ । आफ्ना कमजोरीहरुलाई स्वीकार्दै आगामी दिनमा त्यसको पुनरावृत्ति हुन नदिने प्रतिवद्धताले नै आम मतदातामा आफ्ना प्रति विश्वास अभिवृद्धि गर्न सकिन्छ ।
कतिपय कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको व्यवहार तदनुकुल नहुँदा कांग्रेसका प्रति जनतामा वितृष्ण पैदा हुनपुगेका दुःखद अवस्थाहरु पनि छन् । तर सबैभन्दा सुखद कुरा के हुन्छ भने, मानिस भएकाले गल्ती हुन सक्ने तर त्यसलाई पुनः नदोहो¥याउने प्रतिवद्धता जाहेर गर्न सक्नु हुनेछ । अवश्य पनि अघिल्लो निर्वाचनका बेला गरेका बाचा पुरा गर्न सकेको छैन । त्यसमा विभिन्न कारणहरु रहे । ति कुराहरु नागरिकलाई बुझाउँदै कांग्रेसका प्रति भरोसा जगाउने खालको प्रतिज्ञा पत्र गगनले बनाउनु पर्छ । फेरी पनि ओलीमार्का गफ गरेर जनमत बटुल्ने खालको प्रतिज्ञा पत्र सहित गाउँ गएमा मतदाताले विश्वास गर्ने छैनन् ।
त्यसैले स्थानीय टोलहरुलाई सक्रिय बनाउँदै प्रभावकारी कामका प्रतिवद्धता सहित मतदातासम्म जाने प्रतिज्ञा पत्र गगन र उनको नेतृत्वको समितिले निर्माण गरोस् । प्रतिज्ञा पत्रमा आम मतदाताले आफ्ना सुख–दुःखको तस्वीर देखुन् । प्राथमिकता निर्धारण गर्दा नेताहरुको सपना के थियो होइन, मतदाताका सपना के हुन् ? सोधेर सोही अुनुकल गरियो भने आम मतदाताले फेरी एकपटक कांग्रेसलाई अवश्य अवसर दिनेछन् तर मुख्य कुरो कुरा होइन काम गर्छ भन्ने विश्वास मतदातामा जगाउनु प¥यो ।