भदौ १३ बाट सुरु भएको एसिया कप क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाल सहभागी भएको छ । सोही दिन सम्पन्न खेलमा नेपाल आयोजक राष्ट्र पाकिस्तानसँग पराजित भयो । तर गत सोमबार भारत विरुद्धको खेलमा भने नेपाली खेलाडीले अत्यन्त उत्साहजनक प्रदर्शन गरेर भारतलाई २३१ रनको लक्ष्य दिए । विभिन्न पटक एशिया कप खेलेको तथा विश्वकप क्रिकेटमा समेत सहभागी भैसकेको पाकिस्तानी तथा भारतीय टोलीसंग प्रतिस्पर्धामा उत्रनु र त्यो तहको खेल प्रदर्शन गर्नु आफैमा उपलब्धि हो । पहिलो प्रयासमै भारत तथा पाकिस्तान जस्ता क्रिकेटका बादशाहसंग खेलेर जित हात पार्ने कुरा सहज कुरा होइन तर जुन जोश नेपाली खेलाडीले देखाए, त्यो सलाम योग्य छ ।
पाकिस्तानसंगको पराजयलाई लिएर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया आएका छन् । नकारात्मक प्रतिक्रिया जनाउनेहरुले शायद भारत तथा पाकिस्तानले क्रिकेटमा गरेको लगानी र उनीहरुले खेल क्षेत्रको विकासमा दिएको चासो बुझेका छैनन् वा आधा पानी भएको गिलासलाई उनीहरु आधा खाली देख्छन् । अझ सोझो अर्थमा हरेक कुरालाई नकारात्मक दृष्टिले मात्रै हेर्छन् । होइन भने सिमित लगानी, राज्य संयन्त्रले खेल क्षेत्रको विकासमा प्रदर्शित गर्ने वेवास्तालाई चिर्दै नेपाली क्रिकेट जसरी विकास भएको छ, त्यो प्रशंसनिय रहेको तथ्यलाई भुलेर आलोचनामा शब्दहरु खर्चने थिएनन् ।
र यो बेला नेपालका पुराना भनिएका तथा नयाँ दलका नेताहरुले खेलाडीहरुलाई हौसला प्रदान गर्ने भन्दै शुभकामना दिन तँछाड मछाड गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानसंगको खेल हेर्दै गरेको फोटो सार्वजनिक भयो भने प्रधानमन्त्री पुष्पकमल दाहालले लाइभ कुराकानी गरेर शुभकामना दिए । उता एमाले अध्यक्ष पनि के कम फेसबुक मार्फत शुभकामना दिन उनी पहिलो नेता नै बने । खेल खेल्न जान लागेको बेला शुभकामना दिन तँछाड मछाड गर्ने नेताहरुले आफु सत्ता र शक्तिमा हुँदा नेपालमा राम्रा खेल मैदानहरु बनाउने तर्फ भने चासो देखाएको देखिएन । झापामा अरबौं लगानीमा भ्यू टावर बनाउने ओलीले खेल क्षेत्रको विकासमा दुइ पटकसम्म प्रधानमन्त्री हुँदा पनि चासो राखेनन् । बरु डल्ला फालेर ख्याती कमायो भन्ने जस्ता टिप्पणी गरेर क्रिकेट खेलाडीलाई हतोत्साही बनाउने काम गरे । पौडेल, दाहाल वा अरु जो कोही पनि मैदानमा उत्रेका खेलाडीलाई हौसला दिने नाममा शुभकामना दिने बाहेक उल्लेख्य काम गर्नेमा पर्दैनन् । यस्तोमा अहिले देखिएको खेल प्रेम स्वाङ मात्र हो भन्न हिचकिचाउनु परेन । तर हाम्रो अपेक्षा खेल क्षेत्रको विकासमा सबैले चासो दिउन् भन्ने हो । नेपाली क्रिकेट टिमलाई आगमी दिनको शुभकामना ।
खेल साँच्चै प्यारो कि स्वाङ ? – सम्पादकीय
previous post