विश्व स्वास्थ्य संगठनले विश्व व्यापि महामारी घोषणा गरेको कोरोना भाइरसको संक्रमण कतै मानव सभ्यताका निम्ती नै खतरा बन्ने त होइन भन्ने चिन्ता सर्वत्र छ । चिन्ता जायज पनि हो किनभने संक्रमणको चार महिनामा यसले झण्डै २० हजार नागरिकको ज्यान लिइसकेको छ भने लाखौं संक्रमित बन्न पुगेका छन् । विश्व अर्थत्रन्त्र तहस–नहस बन्ने बाटोमा छ । पेट्रोलियम पदार्थको मूल्यमा असाधारण गिरावट आएको छ ।
उद्गम थलो चीनमा यसको संक्रमण सून्यमा झरेको भएपनि सानो असावधानीको कारण संक्रमणको एक महिनामा इटलीले सात हजार बढी आफ्ना नागरिक कोरोनाका कारण गुमाएको छ । देखा परेको सय दिनमा संसारका सबैजसो देशमा फैलेको यो भाइरसले सबैलाई त्रसित तुल्याएको छ । समग्रमा भन्नु पर्दा कोरोनाले धेरै विषमताहरु ल्याइदिएको छ । मानव सभ्यता माथि नै खतरा उत्पन्न गरेको छ अनि धेरै समस्याहरु सृजना गरेको छ । तर केही सिक्ने अवसर पनि विश्वलाई र हामीलाई कोरोनाले प्रदान गरेको छ । यिनै विषयमा यस पटक चर्चा गर्न चाहन्छु ।
सबैभन्दा महत्वपूर्ण पाठ सिक्ने अवसर त इटालीको वर्तमान अवस्थाले हामीलाई दिएको छ । एक महिना अगाडि पाँच जना कोरोना संक्रमित हुँदा त्यहाँको सरकारले लक डाउन ग¥यो । तर त्यहाँका नागरिकले त्यसको वेवास्ता गर्दै यातायातका साधन चलाउने, भेटघाट गर्ने, घर बाहिर निर्वाध हिडडुल गर्ने
गरे । त्यो वेवास्ताको दुष्परिणाम के भयो, त्यो हाम्रो सामु छर्लङ्ग छ । नेपालमा लक डाउनको दुइ दिने अवधिमा हामीले पनि जुन लापरवाही गरेका समाचारहरु बाहिर आएका छन् । त्यस्ता दृश्यहरु हामी छेउमै देखिएका छन् । यस्तो लाग्छ, हाम्रा लागि कोरोना केही होइन् । नाथे कोरोना गोर्खाली वीर देखेपछि भागी हाल्छ ।
सरकारले लक डाउन घोषणा गरेको छ, स्थानीय सरकारहरु निरन्तर घर बाहिर ननिस्कन आग्रह गरिरहेका छन् तर हामी डुलि रहेका छौं , हिंडि रहेका छौं । हामीले सोचेका छैनौं कि दुर्भाग्यवश म संक्रमित हुँदा मेरो परिवार, छरछिमेक सबै तहसनहस हुन्छ । यतिमात्र होइन, छिमेकपछि टोल, टोलपछि गाउँ, गाउँपछि वडा अनि सबै देश संक्रमणको जोखिममा
पर्छ । यो आलेख तयार पार्दासम्म नेपालमा तीन जना संक्रमित भेटिइसकेका छन् । हाम्रो यैस्त रबैया रहने हो भने इटलीको नियती भोग्न हामी बाध्य हुनेछौं, जसले दैनिक झण्डै हजारको संख्यमा नागरिक गुमाइरहेको
छ । हामीले इटालीबाट पाठ सिक्न नसकेको देखिँदैछ । स्वास्थ्यका विषयमा अझ खारगरी कोरोना संक्रमणको विषयमा गरिने सानो लापरवाही पनि हाम्रा लागि निकै पिडा दायक र महंगो पर्न जान्छ भन्ने कोरोना सृजित अवसर हो ।
यस बाहेक सबै त नभनौं अधिकांश नेपाली यो संकटबाट देश र नागरिकलाई पार गराउन जस्तो सुकै सहयोग गर्न अग्रसर र तम्तयार रहेको एक जुट भएको अवस्था छ, अहिले । यो अवस्थाको सदुपयोग गर्दै गाउँगाउँमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अवसरको रुपमा यसलाई तिनै तहका सरकार सदुपयोग गर्न सक्छन् । देशमा भएको अस्पतालहरुको क्षमता बढाउने अवसरका रुपमा पनि यसलाई लिन सकिन्छ । नेपालको सबै स्थानीय निकायहरुका सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु बनेका
छैनन् । यो असरको सदुपयोग गर्दै सरकारले सबै स्थानीय निकायहरुमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु स्थापना गर्न सक्छ ।
यहि अवसरमा नेपालमा दैनिक ७५ हजार मास्क उत्पादन सुरु भएको
छ । कोरोनाकै कारण हामी हात धुने, मास्क लगाएर हिँड्ने, धेरै भिडभाडमा नजाने कुरामा अभ्यस्त हुन लागेका छौं । त्यसो भए हाम्रो सरसफाई सम्बन्धी व्यवहारमा आएको यो सकारात्मक परिवर्तनलाई हामीले कोरोना सृजित अवसर भनेर किन नभन्ने ? यति मात्र होइन, अहिलेको कोभिड–१९ महामारीले हाम्रो औषधी उत्पादन क्षमता अभिवृद्धिमा पनि सहयोग अवश्य गर्नेछ ।
कोरोना सृजित अर्काे अवसर हो, संसारको दुःखलाई कमाउने अवसरको रुपमा लिने कालाबजारीहरुलाई चिन्ने । सामान्यतया दश रुपयाँ पर्ने मास्कलाई ५० वा १०० मा बेच्ने । खाध्यान्न लुकाउने, ग्याँसको अभाव सृजना गर्ने, पेट्रोल पम्प रित्याउने कालाबजारीलाई चिन्ने अवसर पनि यसले प्रदान गरेको छ । अनि सुखमा सहर पसेर गाउँलाई घृणा गर्नेहरु कसरी दुःख पर्नासाथ गाउँको शरणमा आउँदा रहेछन् भनेर जान्ने अवसर पनि कोरोनाले दियो ।
कोरोना सृजित अवसर
previous post