दमौली/कारोना संक्रमण दिनदिनै बढ्दै गएपनि यातायात सञ्चालन, सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन भएका कारण सावधानी भने घट्दै गएको छ ।
गत विहिबारदेखि हिजो बुधबार साँझसम्मको हिसाब गर्दा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ४ सय ७७ ले थप भएको छ ।
जसमध्ये ३ हजार २ सय ४७ महिला तथा ६ हजार २ सय ३० पुरुष रहेका छन् । यसैगरी यो साता संक्रमण मुक्त हुनेको संख्या ८ हजार २ सय ४८ रहेको छ । यसैसाता कोरोनाका कारण ५७ जनाले ज्यान गुमाएका छन् ।
यो साता २४ घण्टामा संक्रमित हुने संख्याको हिसाबले पनि उच्च रह्यो । गत शुक्रबार २४ घण्टामा संक्रमित हुनेको संख्या हालसम्म कै उच्च २ हजार २० पुग्यो । तर संक्रमण मुक्त हुनेको संख्या हिजो बुधबारको संख्यालाई छोड्ने हो भने उत्साह जनक रहेन । बुधबार भने यो साताकै सबैभन्दा धेरै १ हजार ८९३ जना संक्रमण मुक्त भए । यो संगै संक्रमण मुक्त हुनेको संख्या ४९ हजार ९४५ पुगेको छ । यसैगरी बुधबार ४ सय २६ महिला र ७ सय ४६ पुरुष नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । यो साता सोमबार सबैभन्दा धेरै १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु मोरङ, सिराह, काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ जिल्ला रहेका छन् भने संक्रमण सून्य भएका जिल्लाहरु सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला रहेका छन् ।
बुधबार सांझसम्म संसारभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख १६ हजार ६ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी बुधबारसम्ममा संक्रमण मुक्त हुनेको संख्या २ करोड ३४ लाख २० हजार ७ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ लाख ७६ हजार २१ पुगेको छ ।
नेपालको पछिल्लो साताको संक्रमण अवस्थालाई हेर्दा बढ्दो क्रममा छ तर यातायात, उद्योग, कलकारखाना सञ्चालन हुने, कतिपय स्थानमा विद्यालय सञ्चालन हुने तथा व्यापार व्यवसाय समेत सञ्चालनमा आउँदा संक्रमण अझ बढ्न सक्ने देखिँदैछ । आवश्यक स्वास्थ्य सावधानी अपनाउने कुरामा त्यति चासो नदेखिँदा संक्रमण अझ बढ्ने खतरा बढेको हो ।
कोरोना: संक्रमण बढ्दै, सावधानी घट्दै
previous post