नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसलाई गठबन्धनको वैशाखी टेकेर निर्वाचनमा जान आवश्यक थियो या थिएन ? भन्ने विषयमा अब बहस मात्र गर्न सकिन्छ । किनभने गठबन्धनमा जान आवश्यक छैन भन्नेहरु अल्पमतमा परेर प्रतिनिधि सभाका १६५ मध्ये ९१ स्थानमा मात्र आफ्नो उम्मेदबार सहित कांग्रेस निर्वाचनमा होमिइ सकेको छ । त्यसैले मैले यो अब बहसको विषयमात्र रहेको उल्लेख गरेको हुँ ।
स्थानीय निर्वाचनको सफलताले हौसिएका कांग्रेस नेताहरुलाई गठबन्धन गरेर जाँदा फेरी सत्ताको नेतृत्व गर्न पाइने लागेको हुनसक्छ । कांग्रेस, माओवादी तथा समाजवादी लगाएतका दलको गठबन्धनसंग जोडिएको एमालेको भयले पनि कांग्रेस नेताहरुलाई थप उत्साहित बनाएकोछ । एमालेले गठबन्धनसंगको भयकै कारण कमल थापा देखि राजेन्द्र लिङदेन अनि एकनाथ ढकालसंग गठजोड गर्न पुगेको बुझ्न राजनीतिको कुनै गहन पुस्तक पढ्नै पर्दैन । एमालेजनको मुहारमा दखिएको यही भयको कारण कांग्रेस नेताहरुको देखिएको उत्साहले कति आकार ग्रहण गर्छ भन्ने हेर्न अब तीन दिनमात्र बाँकी छ । आइतबार हुने मतदानले त्यसको निर्धारण गर्नेछ ।
नेकपा एमाले सत्ता मै भैरहेको भए गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन हुने थियो वा थिएन अनि अहिले हुन लागेको सघीय संसद तथा प्रदेश सभाको निर्वाचन हुन्थ्यो वा हुन्थेन भनेर आशंका व्यक्त गर्नेहरु पनि प्रसस्त छन् । एमाले अध्यक्ष ओलीको कार्यशैली हेर्दा त्यो आशंकामा बल मिल्ने ठाउँहरु प्रसस्त छन् । यही आशंकाको लाभ पनि कांग्रेसलाई यो निर्वाचनमा मिल्ने सम्भावना
छ । किनभने कांग्रेसकै नेतृत्वमा रहेको सरकारले गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ । र कुनै भवितव्य नपरेको खण्डमा आईतबार निर्वाचन सम्पन्न हुनेछ ।
कांग्रेसको उत्साहालाई आकार दिने वा नदिने त्यो मतदाताका हातमा छोड्दै यस पटक कांग्रेसले जारी गरेको प्रतिवद्धतापत्रमा उल्लेखित कोखदेखि शोकसम्ममा कुनकुन कुरा समावेश छन् भन्न विषयमा चर्चा गर्न लागेको छु ।
५६ पृष्ठको आफ्नो प्रतिवद्धतापत्रको ५० औं पृष्ठमा कांग्रेसले बृहत् लक्ष्यः कोखदेखि शोकसम्म भनेर महत्वका साथ विभिन्न विषयहरु समेटेको छ । प्रजनन् स्वास्थ्य र अधिकार समिटिएको पहिलो बुँदामा युवा युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सेवा प्रदान गर्ने उल्लेख छ । कांग्रेसले प्रजनन् छनौटको स्वतन्त्रताको प्रत्याभूति गराउने समेत उल्लेख गरेको छ । गर्भावस्थाको विषयमा उसले आफ्नो सरकार बनेको अवस्थामा गर्भबती महिलाको निःशुल्क परक्षिण गर्ने तथा परामर्श सुविधा प्रदान गर्ने तथा गर्भवती महिलाका लागि निःशुल्क पोषणको प्याकेज उपलबध गराउने प्रतिवद्धता जनाएको छ ।
मातृत्व सुरक्षित गर्न कांग्रेसले निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा, सुत्केरीका लागि पाँचहजार भत्ता तथा सुत्केरी आमा पोषिलो खाना अन्तर्गत आमा र शिशुका लागि १००० दिनसम्म पोषण कुपन उपलब्ध गराउने जनाएको छ । बालविकास तर्फ कांग्रेसको प्रतिवद्धतापत्रमा निःशुल्क खोप तथा पोषण प्याकेज, ३ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार व्यवस्था तथा शिशु स्याहार केन्द्र र दिवा खाजा कार्यक्रम उल्लेख गरिएको छ । तिन वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हुने कुराले बालमृत्युदर घटाउन उल्लेख्य सहयोग गर्नेछ ।
शैक्षिक संस्थामा आवास, खाना, पाशाक, छात्रवृत्ति र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको कांग्रेसले प्राविधिक शिक्षा सहायता र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क आधारभूत तथा माध्यमिक शिक्षा प्रदान गर्ने तथा दलित र विपन्न विद्यार्थीका लागि उच्च शिक्षासम्मको विशेष सहयोग र छात्रवृत्तिको व्यवस्था गर्ने समेत उल्लेख गरेको छ ।
कांग्रेसले सगर्व घोषणा गरेको कोखदेखि शोकसम्ममा सबै नागरिकको स्वास्थ्य विमा गर्न उल्लेख छ । स्वास्थ्य विमा कार्यक्रम केही वर्षदखि सञ्चालनमा रहेको भएपनि औषधीहरु नपाउने, स्वास्थ्य संस्थाका कर्मचारीहरुले विमितमाथी दुव्र्यवहार गर्ने जस्ता गनासा आउने गरको तथा विमितहरु सन्तुष्ट हुन नसकेको अवस्था छ । कांग्रेसको प्रतिवद्धतामा अझ लोकप्रिय कार्यक्रम छ विमाको । उसले भनेको छ, ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारका सदस्य लगायतको निःशुल्क स्वास्थ्य विमा गर्ने तथा स्वास्थ्य उपचारमा नागरिकका खल्तीको पैसा कम खर्च गर्न विशेष व्यवस्था
गरिनेछ ।
रोजगारी र श्रम उपशीर्षकमा कांग्रेसले सबै युवा–युवतीलाई सम्मानित रोजगार, तरुण सीप वृत्ति वा पूर्णकालीन शिक्षा प्रदान गर्ने, विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूति गराउने, सबै श्रमिकको सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गर्ने, सबै श्रकिकको सञ्चयकोष र उपादनको व्यवस्था गर्ने, दलित समुदायको परम्परागत सीप प्रवद्र्धनमा सहयोग गर्ने तथा वैदेशिक रोजगारमा संलग्नका लागि लाभांश दिने रेमिट परियोजना सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।
सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत वजेटबाट गरेको ६८ वर्षका नागरिकलाई जेष्ठ नागरिक भत्तालाई निरन्तरता दिने घोषणा गरेको कांग्रेसले यो उमेर हदलाई घटाएर ६५ वर्ष बनाउने भनेको छ ।
उसले ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्ने, ७३ वर्ष माथिका सबै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने , जेष्ठ नागरिक सत्संग केन्द्रहरु स्थापना गर्ने, जेष्ठ नागरिकलाई उपचार खर्च उपलब्ध गराउने तथा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता महत्वाकांक्षी र लोकप्रिय कार्यक्रम घोषणा गरेको छ ।
कांग्रेसको कोखदेखि शोकसम्म कार्यक्रमको अन्त्यमा विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च बापत १० हजार स्थानीय सरकार मार्फत उपलब्ध गराउने उल्लेख गरेको छ । तर अन्त्यमा कुरा के हो भने घोषणा पत्रको कार्यान्वयनमा कांग्रेस कति इमान्दार हुन्छ ?