बन्दिपुर/बन्दिपुर–१ नाहालाका कार्यकता माझ पुगेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले काँग्रेसभित्रको विभाजित मन एक हुनुपर्ने कुरामा जोड दिएका छन् । नेपाली काँग्रेस एक भए मात्रै तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सकिने धारणा राखेका नेता भण्डारीले गोविन्दराज जोशी र रामचन्द्र पौडेलसंग पनि आफूले कुरा गरेको बताए । नेपाली काँग्रेस नाहालाका पुराना कार्यकर्ता रुद्रनिधि नैनावस्ती, रेशमबहादुर थापा लगाएतका कार्यकर्ता नदेख्दा खिन्नता व्यक्त गरेका के.स. भण्डारीले आफूले उहाँहरुलाई भेटेर मात्रै फर्कने बताएका थिए । रुद्रनिधि नैनावस्ती, रेशमबहादुर थापा लगायतका कार्यकर्ताले आफूहरुलाई भेट्न कोही नआएको र उपेक्षा गरेका कारण कार्यक्रममा जान नसकेको बताए ।
नाहाला आमा समूहले बनाएको भवनको अन्तिम चरणको काम सम्पन्न गर्नका लागि भण्डारीले पचास हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको आमा समूहकी अध्यक्ष बालकुमारी न्यौपानेले बताईन । स्थानीय मञ्जु नैनावस्तीका अनुसार के.स. भण्डारीले तत्कालै नगदै पच्चीस हजार आमा समूहकी अध्यक्ष बालकुमारी न्यौपानेलाई प्रदान गरेका थिए भने बाँकी पछि दिने प्रतिबद्धता जनाएका थिए ।
नेपाली काँग्रेस बन्दिपुर वडा नं १ का वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी ,जिल्ला सदस्यद्वय शिव खत्री, इनकन खनाल र गिरिराज अधिकारीले समेत आ–आफ्नो मन्तब्य राखेका थिए । सोही अवसरमा १४ जना ने. कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई के.स.भण्डारीले सदस्यता प्रदान गरेका थिए ।