सकियो कांग्रेसको दास्रो जागरण अभियान
रमेश विकल
दमौली/नेपाली कांग्रेसले देशव्यापी सञ्चालन गरेको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान मंगलबार समापन भएको छ । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालको जन्मदिन पारेर भाद्र २४ बाट प्रारम्भ दोस्रो जागरण अभियानका क्रममा देशभरका कार्यकर्ताले नेतृत्वप्रति अविश्वास र असन्तुष्टि प्रकट गरे । नेता नेताबीच पनि राम्रै घोचपेच चल्यो ।
नेपाली कांग्रेसले मतदातासंगको सम्बन्ध नविकरण गर्ने, नेता तथा कार्यकर्ताबीचमा भएका असमझदारी हटाउने, सरकारका संविधान विरोधी क्रियाकलापको भण्डाफोर गर्ने लगाएत विभिन्न १५ उद्देश्य राखेर यो अभियान प्रारम्भ गरेको थियो । जागरण अभियान कति फलदायी भयो भन्ने कुरा त कम बोल्ने र धेरै सुन्ने भनेर गाउँ गएका नेताले कति सुने र त्यसलार्ई कार्यान्वयनमा कति ल्याउँछन् भन्ने कुरामा निर्भर रहन्छ तर अभियान कै क्रममा केही कुरा स्पष्ट प्रकट भएका छन् ।
जागरण अभियानका क्रममा आम कार्यकर्ताले स्पष्ट र सुनिने भाषामा भनेको पहिलो कुरा हो, नेताहरु गुटको राजनीति छोडेर आउनुस् स्थानीय स्तरमा कुनै गुट उपगुट छैनन् । गत निर्वाचनमा कांग्रेको गढ भनेर चिनिने तनहुँमा कांग्रेस नराम्रोसंग पराजित भयो । यसको कारण पनि कांग्रेस जिल्ला नेताहरु नै भएको भन्दै आक्रोष पोखे, कार्यकर्ताले । उम्मेदबार छनौटमा विवेक नपुग्दा पनि पराजित हुनु परेको पिडा कार्यकर्ताले पोखे । उनीहरुको गुनासो थियो, नेताहरु जसको सरकार भए पनि मिल्छन्, कम्युनिस्ट कार्यकर्ताको दुइतिहाईको दम्भको शिकार हुने र दुःख पाउने त हामी स्थानीय कार्यकर्ता र समर्थकले नै हो । पार्टी नव आगन्तुक स्वार्थीहरुको कब्जामा परेको भन्दै चिन्ता व्यक्त गरेका कार्यकर्ताले संसदमा लुते भूमिकामा रहेको भन्दै आलोचना समेत गरे ।
वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका विषयमा दलले शसक्त आवाज उठाउन नसकेको, निर्मला पन्तको न्याय प्राप्तीमा सहयोगी हुन नसकेको, सरकार स्वेचछाचारी ढंगले नागरिक स्वतन्त्रता खोसिने खालका कानुनहरु निर्माणमा लाग्दा समेत प्रतिपक्षिय धर्म निर्वाहमा चुकेको, एनसेल प्रकरणमा मौन बसेको, वालुवाटार जग्गा काण्डमा समेत चुप बसेको जस्ता विषयमा आम कार्यकर्ताले नेतृत्वको जमेर आलोचना गरे ।
लाभको पदमा पुगेका नेताहरुबाटै कांग्रेसको हित अनुकुल कामहरु हुन नसकेको, कतिपय निर्वाचित जन प्रतिनिधिहरु आर्थिक अनियमिततामा मुछिएको लगाएतका कुराहरु समेत यस पटक मतदाता र कार्यकर्ताले निर्धक्क उठाए । गुटगत राजनीति नगर भनेर पहिलो जागरण अभियानमा आफुहरुले स्पष्ट बताउँदा बताउँदै फेरी त्यस्तै क्रियाकलाप दोहो¥याइ रहेका भन्दै कार्यकर्ता तथा मतदाताले न्यून उपस्थिती जनाएर आफुहरुको कुरा सुनुवाई नभएकोमा असन्तुष्टी समेत प्रकट गरे ।
आम मतदाता र कार्यकर्ताका आवाजलाई साँच्चै सुनुवाई गरेर सुधारको बाटोमा अग्रसर हुनु कांग्रेसको नव जीवनकालागि अत्यावश्यक भैसकेको छ । वर्तमान नेकपाको सरकारले जनविरोधी क्रियाकलाप गर्छ र जनता हामी तर्फ आउँछन् भनेर कुरेर बस्ने बेला यो होइन् । स्थानीय जनताका दुःख सुखमा साथ रहँदा पनि पार्टीको जनमत बढ्छ भन्ने कुरालाई आत्मसाथ गरेर सत्ता बाहिर रहँदाको यो फुर्सदको समयलाई कांग्रेसले संगठन निर्माणमा लगाउनु पर्छ । न भए यो जागरण अभियान कर्मकाण्डमा सिमित हुनेछ ।