काठमाण्डौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल सकिनु तीन दिन अघि विभिन्न १३ विभागको गठन गरेका छन् । यसका साथै सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्य समेत मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ती अनुसार नेपाली कांग्रेसको विधानको धारा ३७(१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई विभिन्न विभागको जिम्मेबारी दिइएको हो । जस अनुसार संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रमेश रिजाल, सुस्लिम विभागमा फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी र वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना मनोनित भएका छन् ।
यसैगरी तराई–मधेर समन्वय विभागमा अजयकुमार चौरसिया यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादव, तरुण विभागमा शंकर भण्डारी, आदिवासी जनजाति विभागमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागमा गोविन्द भट्टराई, उद्योग व्यापार विभागमा चिनकाजी श्रेष्ठ, सूचना, संचार तथा प्रचार विभागमा विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियन विभागमा शिवप्रसाद हुमागाँइलाई सभापति देउवाले मनोनयन गरेका छन् ।
विभाग गठनसंगै सभापति देउवाले थप गरेका आमन्त्रित केन्द्रीय सदस्यहरुमा कृष्णकिशोर घिमिरे, गोपालकुमार वस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ र ध्रुव वाग्ले रहेका छन् ।
सभापति देउवाले विभाग गठन र आमन्त्रित केन्द्रीय सदस्य थप गर्दा तनहुँलाई विशेष प्राथमिकतामा राखेको देखिएको छ । उनले दुइ विभागको जिम्मेबारी तनहुँका नेताहरुलाई प्रदान गरेका छन् भने आमन्त्रित केन्द्रीय सदस्यमा पनि एक जना मनोनयन गरेका छन् । तरुण विभागको जिम्मेबारी पाएका शंकर भण्डारी तनहुँका युवा माझ लोकप्रिय नेता हुन भने नेपाली जनसम्पर्क समिति समन्वय विभागको जिम्मा पाएका भट्टराई पनि तनहुँकै हुन् । यसैगरी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित वाग्ले तनहुँ कांग्रेसका पूर्व सभापति हुन् ।
सभापति देउवाले नियमति कार्यकालको अन्तिम दिन थप ८ जनालाई आमन्त्रित केन्द्रीय समितिमा मनोनित गर्नुको साथै पार्टीको जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन् । साथै देउवाले पार्टीका ७ वटा केन्द्रीय विभागको प्रमुख तोकेका छन् । देउवाले जंगीलाल राय, कर्णबहादुर बुढा, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गरका छन् । यसैगरी देउवाले कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन् । काँग्रेसको सक्रिय राजनीतिबाट बाहिरिएका पार्टीका पुराना नेताहरुको सम्मान र पार्टी संचालनमा उनीको सुझाव लिने उद्देश्यले जेष्ठ राजनीतिज्ञ सभा गठन गरिएको हो ।