रमेश विकल
नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने चौंधौं महाधिवेशनका लागि महाधिवेशन तयारी मूल समिति लगाएत विभिन्न समितिहरु गठन गरेको छ । पार्टीको कार्तिक २८ मा काठमाण्डौमा सम्पन्न केन्द्रीय समितिको बैठकले ति समितिहरु निर्माण गर्नुका साथै प्रदेश अधिवेशनहरु सफलता पूर्वक सम्पन्न गर्न सातै प्रदेशमा संयोजक समेत तोकेको छ ।
कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको छ । समितिका सदस्यहरुमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमन्त्रीत केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरु रहने छन् । यसैगरी केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहनेगरी अर्थसंकलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नेतृत्वमा भोजन तथा आवास व्यवस्थापन समिति, सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहने गरी विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति गठन गरेको छ । यी समितिका सदस्यहरु संयोजकले आवश्यकता अनुसार तोक्ने व्यवस्था गरिएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचार प्रसार समिति गठन गरेको कांग्रेसले काठमाण्डौ जिल्ला सभापति संयोजक तथा ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य रहने उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरेको छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति, केन्द्रीय सदस्य सीता गुरुङ्ग संयोजक रहनेगरी सांस्कृतिक समिति तथा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना संयोजक रहनेगरी स्वयंसेवक व्यवस्थापन समिति समेत कांग्रेसले गठन गरेको छ ।
यसैगरी कांग्रेसले पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गर्दे सातै प्रदेशका आयोजक समितको संयोजक तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रदेश १ को विराटनगरमा हुने प्रदेश अधिवेशनको संयोजक नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् भने जनकपुरमा हुने प्रदेश २ को अधिवेशनका लागि रमेश रिजाल, बागमती प्रदेशको हटौंडामा हुने अधिवेशनका लागि प्रकाशमान सिं, गण्डकी प्रदेशको पोखरामा हुने अधिवेशनका लागि गोपालमान श्रेष्ठ संयोजक तोकिएका छन् । यसकासाथै लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि बालकृष्ण खाँण, कर्णाली प्रदेशको सुर्खेतमा हुने अधिवेशनका लागि जीवनबहादुर शाही तथा सुदूरपश्चिमको धनगढीमा हुने अधिवेशनका लागि दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । प्रदेश अधिवेशन आयोजक समितिका सदस्यहरुमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् ।
कांग्रेस महाधिवेशनका लागि विभिन्न समिति गठन, प्रदेश अधिवेशन संयोजक पनि तोकिए
previous post