रमेश विकल
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत देशभर सबैभन्दा तल्लो तह, वडा अधिवेशन भदौ १८ मा सम्पन्न भएको छ ।
यो समाचार तयार पार्दासम्म तनहुँका १० स्थानीय निकायका ८५ वडा मध्ये ८४ वडाको अधिवेशन सम्पन्न भैसकेको छ । संघीयता कार्यान्वयन पछिको पहिलो अधिवेशनले युवाहरुलाई राजनीतिमा लाग्ने ढोका पूर्णतः खोल्ने नदखिएपनि बाटो केही हदसम्म सहज भने बनाएको देखिएको छ । यो अधिवेशनले देखाएको अर्काे तस्विर हो, अब राजनैतिक विरासत सर्दैछ र जनजाति, महिला र दलित समूदायसम्म पुग्दैछ ।
मंगलबारसम्म सम्पन्न ८४ वडाको अधिवेशनमा चार महिलाले वडा सभापतिको रुपमा आफुलाई उभ्याउन सफल भए । व्यास–१४ बाट वडा सभापतिमा निर्वाचित नरीमाया राना, बन्दिपुर–५ की रीता तिवारी, बन्दिपुर–४ की सीता थापा र ऋषिङ–१ की सविना रानाले राजनीतिमा पुरुष वर्चश्वलाई हाँक दिँदै सक्रिय राजनीतिमा लागेर जनविश्वास कमाएका छन् ।
यहि अधिवेशनले व्यास–१२ का चन्द्रबहादुर विक, व्यास–११ का रेशक विक तथा देबघाट–३ का गंगासिं विकलाई कांग्रेस वडा तहको नेतृत्वमा पु¥याएको छ । जनजातिको उपस्थितीपनि राजनैतिक नेतृत्वमा राम्रै गरी उदाएको छ । अधिवेशन सम्पन्न ८४ वडा मध्ये ४८ वडाका सभापति जनजाति समुदायबाट निर्वाचित भएका छन् । जुन कुल निर्वाचित सभापतिको ५७ प्रतिशत भन्दा बढी हो । सदरमुकाम रहेको व्यास नपाका १४ वडा मध्ये ९ वटा बडामा जना जनजाति समुदायबाट सभापति निर्वाचित भएका छन् भने ऋषिङ र घिरिङका सबै वडामा जनजातिका सभापति निर्वाचित भएका छन् । देवघाट तथा आँबु खैरेनी गाउँ पालिकामा समेत जनजाति समुदायका सभापतिको बहुलता छ ।
वडा अधिवेशनमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताहरुका अनुसार यस अघिका अधिवेशनहरुमा निर्धारित कोटाहरुमा क्षेत्रीय प्रतिनिधि हुन आउने महिलाको अभाव हुने अवस्थाको अन्त्य भएको छ । यस पटकको अधिवेशनमा महिलाहरुले खुलेरै आफुहरु महिला कोटाबाट नभई खुल्लाबाट निर्वाचित भएर आउने उद्घोष गरे र निर्वाचित भएर आए पनि । कतिपय जनजातिका युवाहरुले पनि कोटामा सीमा नाघेर खुल्लाबाट निर्वाचित भएर आउन चाहे र सफल पनि भए ।
यस पटक मात्रै साढे सात हजार क्रियाशील सदस्य थपिएका र त्यसमायुवाको बाहुल्य रहेकाले कांग्रेसमा नेतृत्व गर्नेहरुको अनुहार फेरिँदै गएको सहज अनुमान गर्न सकिन्छ । समयसंगै नेतृत्वमा फेरिँदै गएको अनुहार र राजनीतिमा अघिबढ्न जुर्मुराएको जनजाति, महिला र दलित समूदायको उत्साहलाई पक्रन सके कांग्रेसको भविष्य सुरक्षित हुने छ ।
कांग्रेस तनहुँको वडा अधिवेशन अघिबढ्दै जनजाति,महिला र दलित
previous post