कार्यकर्ताले भने, नेता सुध्रनु प–यो हामी ठिक छांै
दमौली÷नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको एक महिने जागरण अभियान जेठ २५ मा समापन भएको छ । केन्द्रिय नेताहरुलाई जिल्ला जिल्लामा पठाएर त्यहाँका स्थानीय तहसम्म पुगेर अभियान सञ्चालन गर्ने जिम्मा दिइएको थियो । केन्द्रिय नेतालाई आफ्नै गाउँमा पाउँदा कार्यकर्ता निकै उत्साहित देखिए । एक महिना देश व्यापि रुपमा सञ्चालित अभियानले कार्यकर्तामा वास्तवमै जागरण ल्याए नल्याएको थाहा पाउन केही समय कुर्नु पर्ला तर केन्द्रिय र जिल्ला नेतृत्वलाई एउटा सन्देश भने मतदाता, कार्यकर्ता तथा शुभेच्छुकले दिएर पठाए । त्यो शन्देश थियो– ‘नेताहरु गुटगत राजनीतिमा अल्मलिनु भएन । हामी ठिक छौं । हामीले कांग्रेसलाई मायाँ मारेका छैनौं ।’
संगठन सुधार सहित वर्तमान नेकपाको सरकारको गलत काम कारवाहीको भण्डाफोर गर्ने तथा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित विधान, कांग्रेसको नीति तथा रणनीतिबारे स्थानीय तहमा सुसूचित गरिने भन्दै जागरण अभियान सञ्चालन गरिएको थियो । तर अभियानका बारेमा यतिबेला कांग्रेसकै कतिपय केन्द्रिय तहका नेताबाट आगामी फागुनमा गर्नु पर्ने महाधिवेशन छल्न गरिएको कर्मकाण्डी कार्यक्रम भनेर आलोचना हुन थालेको छ । पार्टीको संघियता अनुसारका संरचनाहरु अझै बन्न सकेका छैनन् । भातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशन समयमा हुन सकिरहेको छैन् । यसले गर्दा आम कार्यकर्तामा निशासा छाएको छ । कार्यकर्ता जिम्मेबारी विहिन भएका छन् ।
सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने भनिए पनि वाइड वडी काण्ड, वालुवाटार जग्गा काण्ड, निर्मला पन्तको हत्या, ३३ केजी सुनकाण्ड, संविधान विपरितका विधेयक संसदमा दर्ता गर्ने सरकारी कार्य, संवैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थिति बेगर गरिएका निर्णय लगाएतमा कांग्रेस संसदमा खरो रुपमा प्रस्तुत भएको हेर्न चाहेको अभियानका क्रममा कार्यकर्ताले बताए । यसरी हेर्दा कांग्रेस कमजोर हुनुको कारण कार्यकर्ता पार्टीको भूमिकाबारेमा र आफ्ना कर्तव्यका बारेमा जागरुक नभएर होइन नेता नै आफ्नो जिम्मेबारीबाट च्यूत हुँदा कमजोर भएको हो भन्ने निष्कर्ष निस्कन्छ । हुन पनि प्रमुख प्रतिपक्षीको रुपमा रहेको कांग्रेस संसदमा सशक्त ढंगले प्रस्तुत हुन नसक्दा सरकार स्वेच्छाचारी ढंगले चलिरहेको छ ।
निर्वाचन सकिएको डेढ वर्ष पछि जागरण अभियान लिएर गाउँ गएको कांग्रेस नेतालाई कार्यकर्ताले प्रश्नै प्रश्न गरेका छन् । कांग्रेस डेढ वर्षदेखि फुर्सदमा थियो, यस्तो समयलाई पार्टीको संगठन निर्माणमा नलागेर महाधिेवेशनको मुखमा पार्टी संरचनाहरु बनाउने, वडा तथा पालिका र क्षेत्रिय तथा जिल्लाका अधिवेशन गरेर कार्यकर्तालाई क्रियाशिल बनाउने कार्यक्रम ल्याउन छाडेर के गरेको ? नेताहरु स्वेच्छाचारी भए, किन नेता पिच्छेका फरक कुरा हुन्छन् ? आफ्नो र गुटको भविष्य सूनिश्चित गर्ने दाउमा किन भुलेका नेताहरु ? पार्टी रहे मात्र आफ्नो भविष्य रहन्छ भन्ने कुरा किन भुलेको ? स्थानीय तह जहाँ कांग्रेसले जितेको छ, तिनीहरुलाई कसरी प्रभावकारी ढंगले काम गर्ने भनेर पार्टी किन प्रशिक्षित गर्दैन ? कांग्रेस नेता, कार्यकर्तामा बढ्दो अनुशासन हिनता कम गर्न किन कुनै कदम नचालेको ? पार्टीका लागि जीवन दिनेहरु पछाडि पर्ने तर चाकरी गर्नेहरुले पार्टीबाट सुविधा र संरक्षण पाउने अवस्था किन बनेको ? २०७२ को भारतीय नाकाबन्दी जसले भर्खरै भूकम्पले प्रताडित नेपाली नागरिकलाई अझै प्रताडित तुल्यायो । त्यसलाई किन कांग्रेस नेतृत्वले नाकाबन्दी भनेर विरोध गर्न नसकेको ? यि सबै प्रश्नको उत्तर कांग्रेस नेताहरुले कार्यकर्तालाई चित्तबुझ्दो ढंगले दिनु जरुरी छ । प्रश्नहरुबाट भागेर अब पार्टीको पूनः जीवन सम्भव छैन ।
आगामि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर पनि महाधिवेशन सार्न नहुने कतिपय कार्यकर्ताको मत छ । जागरण अभियानको जुन कार्यतालिका सार्वजनिक भएको छ, त्यसले वडा देखि पालिका, निर्वाचन क्षेत्र र जिल्लाका अधिवेशनहरु प्रभावित हुने छन् जसले महाधिवेशनलाई पछाडि धकेल्छ । कार्यकर्ताको चिन्ता कहाँ हो भने महाधिवेशन एक वर्षपछि धकेल्दा स्थानीय निकायको निर्वाचनको एक वर्ष अगाडि महाधिवेशन हुन्छ र यसले निर्वाचनमा नकारात्मक असर पर्नेछ । किनभने एक वर्षसम्म महाधिवेशनमा भएको जय पराजयको प्रभाव रहिरहेको हुन्छ ।
एक महिना सञ्चालित जागरण अभियानले ेकांग्रेस कार्यकर्तामा उत्साह पक्कै ल्याएको छ । तर जति उत्साह थप्नु पर्ने हो त्यो हुन सकेको छैन । ७७ जिल्ला चाहार्दा नेताहरुले जे देखे र कार्यकर्ताका जुन आवाज सुने त्यसलाई आत्मसाथ गर्दै पार्टीलाई अगाडि बढाउन सक्दा मात्र कांग्रेसको भविष्य सुरक्षित हुनेछ । जुनकुरा कार्यकर्ताले जिल्ला आएका नेतालाई राम्रैसंग र शायद बुझिने भाषामा भनेका छन् ।