पार्टी समन्वय गर्ने आधार र नेताको घोषणा
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी यो साता तनहुँका कार्यकर्ता माझ पुगेर समस्या बुझ्ने र काँग्रेस बलियो बनाउन कार्यकर्तालाई जागरुक बनाउने काममा व्यस्त थिए ।
काँग्रेस भित्रको मनमुटावले तनहूँको संगठन कमजोर भएकोप्रति चिन्ता व्यक्त गर्ने कार्यकर्तालाई नेता जोशीले काँग्रेस बलियो नभए लोकतन्त्र नै खतरामा पर्ने बुझेर नै कार्यकर्ताको भावनालाई समेटेर बलियो काँग्रेस बनाउन कार्यकर्ता माझ आफू आएको बताए ।
नेपाली काँग्रेसलाई एकिकृत भावनाले अगाडि बढाउन पर्ने कुरामा जोड दिदै जोशीले विगतको स्थानीय तहको निर्वाचनमा आफूले गरेको सहयोगलाई कमजोरी ठानेर उपेक्षा गर्दा संघीय निर्वाचन र प्रदेश निर्वाचनमा पराजय भोग्न परेको चर्चा गरेका थिए ।
लोकतन्त्र बचाउन काँग्रेस बचाउन पर्ने चर्चा गर्दै नेता जोशीले नेपाली काँग्रेस तनहुँलाई नीतिगत आधारमा समन्वय गर्नु पर्नेमा जोड दिए । शुक्लागण्डकी न.पा.मा माघ ५, व्यास न.पा.मा माघ ६ गते भानु न.पा.मा माघ ६ गते र आँबु गा.पा. मा माघ ७ कार्यकर्ता माझ पुगेका जोशीले क्रियाशिल सदस्यता वितरण गर्दा निश्चित मापदण्ड तयार गरि निस्पक्षताका साथ सिफारिस गर्न सुझाएका छन् । त्यसैगरी पार्टीको स्थानीय तहको निर्वाचन सबैपक्षसंग सहमति कायम गरी निष्पक्ष निर्वाचन गर्ने, स्थानीय तहदेखि संघीय निर्वाचनसम्म सर्वसम्मत उम्मेदवार छनौट गर्ने, सहमति कायम हुन नसके अहिले देखिएको दुई धार बीच आधा आधा हिस्सामा उम्मेदवार छनौट गर्ने, अहिलेसम्म नेतृत्वले अपमान गरेका कार्यकर्तासंग क्षमायचना गर्ने सहितका आधारमा नेपाली काँग्रेस समन्वय गर्न सकिने नेता जोशीले बताएका छन् । त्यो समन्वयका लागि देखिएका दुई धारमध्ये हाल विपि विचार समाज तनहूँका सभापति डिल्लीराम अधिकारीले एक धारको प्रतिनिधित्व गर्ने पनि जोशीले काँग्रेस कार्यकर्ताका माझ स्पष्ट पारेका छन् । नेपाली काँग्रेसको संगठनमा जोशी ओझेल पर्दा पार्टी कमजोर भएको भेलामा सहभागि कार्यकर्ताको निष्कर्ष थियो ।