केही दिन अघि प्रधानमन्त्री केपी ओलीले भनेका थिए– यो नेपाल हो, यहाँ जे पनि हुन्छ । हुन पनि यहाँ जे पनि हुन्छ । त्यस्तै अनपेक्षित घटना भएको समाचारले केही दिनदेखिका समाचार पत्रहरु र सामाजिक सञ्जाल भरिएका छन् । नेपाली नागरिकको समृद्धिको कसम खाएर निर्वाचनमा विजयी भएर आएका हाम्रा सभासदले काठमाण्डौंमा घर हुँदा हुँदै संसद सचिवालयबाट घरभाडा बापतको रकम लिएको खबरले यतिबेला सबैको ध्यान तानेको छ ।
सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै अनेक टिप्पणीहरु आएका छन् । भिडियोहरु बनाइएका छन् । घरभाडा प्रकरण–२ नामक भिडियोमा सांसदहरुको चालालाई एक जना व्यक्ति बाटोमा निहुरेर आफ्नो मोटरसाइकल मर्मत गर्दैहुन्छ । यसो गर्दा उसको पाइन्टको पछाडी खल्तीमा भएको पर्स देखिन्छ । सोही समयमा आएको एक व्यक्तिले उसकोे खल्तीबाट पर्र्स निकाल्छ । पर्स निकाली सक्दा पर्स निकाल्नेलाई थाहा हुन्छ कि उ सिसी टीभी निगरानीमा छ । अनि पर्स बाटोमा फाल्छ र मोटर साइकलवालालाई बोलाएर पर्स खसेछ टिप भन्ने संकेछ गर्छ । यसको अर्थ लगाई रहनु परेन कि हाम्रा सांसदहरुले घरभाडाको कुरा सञ्चार माध्यममा नआएको भए के गर्ने रहेछन् ।
काठमाण्डौंमा घर हुँदा हुँदै घर भाडाको रकम लिनु भएछ नि भन्ने प्रश्नमा हाम्रा सांसदले दिएको जवाफ झन आश्चर्य लाग्दो छ । कोही आफुले संसद सचिवालयमा आफ्नो घर काठमाण्डौमा रहेको जानकारी दिएको तर सचिवालयले भरभाडाको रकम दिइरहेको रहेछ ,अब फिर्ता गर्छु । कोही भन्दैछन्– घर श्रीमतीको नाममा छ, उनले आफन्तहरु ल्याएर राखेकी छन्, पर्याप्त ठाउ नहूँदा अर्काे घर भाडामा लिनु परेको छ, त्यसैले घरभाडा बापतको रकमा लिएको हूँ । अनि कोही, भएको घर साँघुरो भएकाले पार्किङ गर्ने ठाउँ नभएकाले पार्किङका लागि अर्काे घर भाडामा लिएको छु, त्यसैले घरभाडाको रकम लिएको हुँ ।
आफ्नो तलब, भत्ता, यातायात, फोन र घरभाडामा कति कति रकम जान्छ भनेर थाहा नपाउने पनि हाम्रा प्रतिनिधि रहेछन् । थाहा नपाएको स्वाङ गरेर जनता लुट्ने धन्दामा यो वा त्यो दल भन्ने छैन । सत्तारुढ नेकपाका सांसद देखि प्रतिपक्षी कांग्रेसका सांसद पनि छन् । कम्तीमा पनि हामीले आफुले मतदान गरेर निर्वाचित गरेर पठाएका सांसदबाट यस्ता कार्यका अपेक्षा गरेका थिएनौं । आगामी दिनमा छलछाम छाडेर जनताको पसिनाको सम्मान गर्ने आचरणको विकास हाम्रा प्रतिनिधिले गरुन् । अहिलेलाई यत्ति कामना गरौं ।