लेखनाथ पौड्याल नेपाली साहित्यमा सामान्य रुचि राख्ने जो कोहीका लागि परिचित नाम हो । वि.सं १९४१ साल पुष १५ गते बुबा दुर्गादत्त पौड्याल र आमा बसुन्धरा पौड्यालको जेठो छोराको रुपमा कास्की जिल्लाको अर्घाैँ अर्चले गाउँमा लेखनाथको जन्म भएको थियो । नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता पौड्याललाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित ‘कविता कल्पद्रुम’मा सङ्ग्रहित उनका दुई कविताबाट भएको पाइन्छ । १९६९मा प्रकाशित ’लालित्य’ भित्र सङ्ग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान ग¥यो । यसपछि १९७० मा प्रकाशित उनको ’शोक प्रवाह’ शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित ‘ऋतु विचार’ खण्डकाव्य र १९७३ मा नै प्रकाशित ‘बुद्धि विनोद’ शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो । नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले ।
पौड्यालको साहितियक योगदानको कदर गर्दै विक्रम सम्वत् २००८ साल असार २९ गते तत्कालिन राजा त्रिभुवनले पौड्याललाई कविशिरोमणिको उपाधिले विभुषित गरे भने मासिक दुइसय रुपैयाँ आजीवन भत्ता समेत दिने व्यवस्था गरे । नेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने चलन लेखक अनुसार फरक पथ्र्यो । लेखनाथले जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा राममणी आ.दीको हलन्त बहिष्कार आन्दोलनमा सामेल भए । तसर्थ उनी हलन्त बहिष्कारका समर्थक पनि थिए । २०२२ साल फागुन ७ गते, ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा नेपाली साहित्य जगतका उज्ज्वल नक्षेत्र पौड्यालको निधन भयो ।
साहित्यानुरागीहरुका लागि केही वर्ष पहिलेदेखि पौड्यालका सम्पूर्ण कृतिहरुको एउटै संग्रहमा संकलित पुस्तक प्रकाशन भएको छ । पाँच खण्डमा समेटिएको पुस्तकको नाम कवि शिरोमणि रचनावली रहेको छ । पब्लिकेसन्स नेपालयले आफ्नो नेपालय क्लासिक्स श्रृङ्खला अन्तर्गत प्रकाशन गरेको कवि शिरोमणि रचनावलीको मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ रहेको छ ।
विसं २०२६ सालमा मरणोपरान्त प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरिएका पौड्यालको स्मृतिमा सरकारले हुलाक टिकट समेत प्रकाशित गरको थियो । जन्मजयन्तीको अवसरमा पौड्यालका प्रति हाम्रो पनि सम्मान र सम्झना ।
कवि शिरोमणिको सम्झना-सम्पादकीय
previous post