अघिल्लो अंकबाट क्रमश …
जेठाजु र ससुराको कुरा सुनेर सल्मा भित्रैबाट सर्माएकी थिई, फेरी एकपटक दुलही भई सजिने कुरा
सम्झिएर । लाग्दै गरको हिउँदले रातो भएको उनको गाला झन रातो भयो, लाजको लालीले ।
“ए कान्छी ! बाख्रालाई धाँस हालिस् ?” भान्साबाट आएको फुपुको आवाजले भस्किएकी सल्मा हठात् यता उता हेर्दै आफु लजाएको कसैले देख्यो कि भनेर सम्हालिँदै भन्छे, “अब हाल्छु फुपु ।”
नरे छुट्टी आउन र सल्मा फेरी दुलही हुन अब धेरै दिन बाँकी थिएन । हिजो भन्दा आज, आज भन्दा भोली सल्मा को प्रतिक्षा बढ्दै गइरहेको थियो । तर शायद दैवकोे लेखान्त अर्कै थियो । दैवलाई सल्मा दुलही बनेको हेर्न मन थिएन । पल्टनबाट खबर आयो, सल्माको सिउँदोको सिन्दुर, डाँडा गामका तरुनीहरुको ढुुकढुकी, सुबेदार बाको कान्छो छोरो नरे अब रहेन । सल्माको सिउँदोको रातो सिंदुर अब रहेन । अब रहेनन् उसको गालमा चढेका लालीहरु पनि । कसले बुझ्दछ र दैवको लीला, त्यही दैवले डाँडाघरे बाको घरमा खुसी वर्षाएको थियो । आज त्यही दैवले डाँडाघरको खुसीको मुहान सुकायो ।
“कान्छी भात खान आइज ।” “हस्” फुपुको आग्रहमा सल्माको संक्षिप्त जवाफ । आज नरेले सल्मालाई एक्लै छोडेर गएको पनि वर्ष दिन भैसकेछ । आज भोली कान्छी यस्तै भएकी छ । कम बोल्छे । फुपु–पुसैंले अह्राएको काम आफ्नै सुरले गर्छे । दैवले उसको रुप त खोसेन तर उसका मुहारबाट सधैंको ला िग खुसी लग्यो । कमसेकम यो अवस्थामा त्यही लाग्थ्यो । नरबहादुरको मृत्युको पिडा त्यत्तिकै थियो, सुबेदार बा र आमालाई अनि माइला माईलीलाई पनि तर सल्माको भन्दा सायद कम । सुबेदार बाको एउटा छोरा नरहेपनि दुइ बाँकी नै थिए । माइलोले भाइ गुमाएपनि दाइ थियो ।
तर सल्मा विचरीले त जीवन गुमाएकी
थिई । सायद त्यही बुझेर होला सुबेदार बा–आमाले पनि सल्मालाई धेरै मायाँ गर्थे, उत्तिकै गर्ने माइला–माइलीले पनि । अब सल्मा घाँस– दाउरा, मेलापातमा कम जान्छे । घरमै फुपुसंग हुन्छे, धेरैजसो । घरकै काममा सघाउँछे । बाहिर फेरको जिम्मा माइला–माइलीले लिएका छन् ।
एक रात सुबेदार बाले सुबेदारनीलाई भने “आई ! सुन्न साँच्ची” अनिच्छावस सुबेदारनीले भनिन् “के भो ?” लामो सास तान्दै सुबेदारले भने “केही होइन्, सुत भो ।” सुबेदार बा मनमनै सोच्दै थिए, विचरी सल्मा छँदा खाँदाको उमेरमै यस्तो भयो । कसरी बिताउली खै बाँकी जीवन ? छोरा छोरीको मुख हेरेर बस्छे भनौं भने त्यो पनि छैन । हे दैव कस्तो पाप ग¥यौ यो । सायद सुबेदार बा सल्माको पुनः विवाह गरिदिन चाहन्थे । उसलाई खुसी देख्न चाहन्थे । सुबेदारनीसंग त्यही सल्लाह गर्न चाहेका थिए, उनले त्यो रात तर समाज र समाजले बनाएको मर्यादालाई चुनौति दिने आँट गर्न सकेन सुबेदारको आत्माले ।
दिनहरु बित्दै गए एवम् रितले । सल्मा र सुबेदारनी आमा घर हेर्ने, माइला माइली बाहिर फेर । एकदिन घाँस काट्न जंगल गएकी माइली मध्य दिनसम्म पनि फर्किन । के भो कसो भो भनेर सबै मिली जंगलतिर खोज्न जाँदा पो पत्ता लाग्यो भिरको टाकुरामा घाँस काट्दै गरेकी माइली त्यहीबाट लडिछन्, कहिल्यै नउठ्ने गरी । विचरा माइलोलाई अनिदो रातहरु छोडेर आफु मस्त निदाइछन्, चीर निन्द्रामा । डाँडाघरे सुबेदारको घरमा अर्काे बज्रपात भयो । कान्छो छोराको वर्ष दिन र केही महिना पनि नहुँदै माइली बुहारी गइन सदाका लागि । अचेल सल्माको व्यस्तता अलि बढेको छ । त्यसो त ५ वर्षको रामु पहिला पनि सल्मासंग नजिकै थियो तर टुहुरो भएपछि रामु प्रतिको जिम्मेबारी ह्वात्तै बढेको थियो । रामु धेरै जसो सल्मासंगै हुन्थ्यो । रामुको जिम्मबारीको कारणले सायद सल्मापनि कहि खुलेकी थिई । भुलेकी थिइन हिजो आज ।
“अब के गर्ने सोच्याछस् त माइला ?” माइली भिरबाट खसेको त्यस्तै ३÷ ४ महिना भएको हुँदो हो, सुबेदार बाले माइलालाई एक दिन अचानक सोधे । अलमलमा परको माइलो केही छिन् टोलाएर भन्यो, “अब एक पटक विदेश गएर आउनु पर्ला ।”
“हैन ब्या गर भो माइला ” एकदिन सांझको खाना खाँदा खाँदै अचानक सुबेदार बा बोले “ विदेश जान्छु भन्छस्, बालख नि सानै छ । एउटा आमा त चाहिन्छ क्यारे । छर छिमेकी नाता गोता पनि त्यसै भन्छन् । तँ के भन्छस् ?” अचानक बुबाले गर्नु भएको कुरा प्रस्ताव हो या प्रश्न केही नबुझेर माइला चुपचाप खाना खाइवरी चुठ्न उठ्यो ।
आज माइली वितेको पनि वर्ष दिन वितेर नौ दिन काटिसकेछ । सुबेदार बाको घरमा चटारो छ, माइलाको कान्छ भित्र्याउने चटारो । सबैको करकाप पछि माइलाले पनि हुन्छ भन्दिएछ । माइलाकै भेनाले मिलाई दिएको केटी रे । पहिला त माइलाले खासै वास्ता गरको रैन छ तर छोरालाई पनि आफ्नै सरह मायाँ गर्ने कुरा आएपछि माइलाले पनि मञ्जुरी दिएको रहेछ । त्यसैको चटारो आज सुवेदार बाको घरमा । ५ वर्षे रामुले अनायासै सोधेको प्रश्नले नाजवाफ बनेकी सल्मा धेरैबेर टोलाईरही । रामुले फेरी सोध्यो,“आन्टी साँच्ची भन्नु न । आमा ल्याउने हो ? पहिले कै आमा ।”
लामो स्वास तानेर सल्माले भनि “ हो बाबु हो । आज तिम्रो बाबाले तिमीलाई आमा ल्याईदिने, पहिलाकी भन्दापनि धेरै राम्री, धेरै मायाँ गर्ने आम बाबुको नयाँ आमा । ” आन्टीको उत्तरको गहिराई नबुझेको रामु एकै छिन्मा अलप भयो, सायद आफ्नै साथीहरुसंग खेल्न गयो । सल्मा टाढा क्षितिजमा रातो सूर्य हेर्दै टोलाउँदै थिई । रामुको मुखबाट निस्केको आमा भन्ने शब्दले उनलाई धेरै भित्रसम्म छोएको थियो । आमा त्यो स्थान थियो, जुन यो समाजले निर्माण गरको कथित मर्यादा भित्र बसेर सल्मा कहिल्यै पनि हुन
सक्दिनथी । जसकोलागि उसले ठूलो विद्रोह गर्नुपथ्र्यो । ठूलो मूल्य चुकाउनु पथ्र्याे । क्षितिजमा सूर्य डुब्नै लागेको थियो । उता रामुका लागि नयाँ आमा लिन गएका माइला र छरछिमेकीहरु पनि घर छेउ आइपुगी सकेका थिए । हुल मध्येको कसैले बोल्यो “ आखिर माइलाले ल्याई छाड्यो है । ” अर्काेले बोल्यो “के गर्नु त आखिर जे हुनु थियो, भै हाल्यो । गएकालाई सम्झेर कति दिन चल्ने हो र ?”माइलाले पुनः विवाह गरकोमा समर्थन जनाउने जमातले हो मा हो थप्दै थियो । आखिर यो त्यही समाजको ‘हो’ जुन समाजको सुबेदारलाई डर थियो के भन्ने भनेर सल्माको बारेमा सोच्दा । यो त्यही समाजको ‘हो’ हो, जसले सल्मालाई कहिल्यै भनेन “आखिर गएकोलाई सम्झेर कति दिन चल्छ र ?”
कथा हुन नसकेको विद्रोह
previous post