रमेश विकल
नेपाली कांग्रेसको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता खड्गप्रसाद शर्मा ओलीले संसदमा दुइतिहाइ सांसदको समर्थन पाएका छन् ।
गत आइतबार संसद वैठकमा ओलीले विश्वासका लागि राखेको प्रस्तावको पक्षमा उपस्थित २ सय ६३ सांसदमध्ये १ सय ८८ सांसदले मतदान गरे । ओलीलाई नेपाली कांग्रेस, उनकै पार्टी नेकपा एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी तथा स्वतन्त्र सांसदले समर्थन गर्दै पक्षमा मतदान गरेका थिए । ओलीको प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा एकिकृत समाजवादीका सांसदले मतदान गरेका थिए ।

विश्वासको प्रस्ताव संसदमा पेश गर्दै प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा लगाएकै नारा दाहो¥याए । ६० लाखभन्दा बढी नागरिक गरिबीको भुङ्ग्रोमा पिल्सिएका, बैकहरुमा नगद थुप्रिएको, व्यापार घाटा बढेको, बेरोजगारी समस्या दिनानुदिन बढेको जस्ता निराशाका तस्विर प्रस्तुत गर्दै ओलीले भने, देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तिब्र आर्थिक विकासको दिशामा लैजान वर्तमान सरकार गठन भएको हो । विश्वासको मत माग्दै उनले अगाडि थपे, भ्रष्टाचार गर्दैनौं, सहन्नौं । कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइने छ ।
ओलीले यही नारा दोस्रो पटक प्रधानमन्त्री भएका बेला पनि निकै लगाउने गरेका थिए । उनको नारा थियो, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, समृद्धि, सुशासन र विकास । भान्सा– भान्सामा ग्याँस पाइप, दुइ वर्षमा केरुङ देखि काठमाण्डौ हुँदै देशका विभिन्न ठाउँमा रेलसेवा, पानी जहाजको टिकट काट्न त उनले मिति नै तोकेका थिए । भ्रष्टाचार आफुले पनि नगर्ने र गर्नेको अनुहार पनि नहेर्ने उद्घघोष तथा कुनै नागरिकले अब भोकै मर्न नपर्ने लगाएतका थुप्रै जनप्रिय नारा सहित ४० महिना झण्डै दुइतिहाइ मत सहित सत्तामा रहेका ओलीले आशातित काम गर्न सकेनन होइन झण्डै असफल रहे ।
उनकै पालका कोरोना विरुद्धको स्वास्थ्य सामग्री खरीद सम्बन्धी ओम्नी काण्ड, यति काण्ड, ७० करोड घुस बार्गेनिङ काण्ड, वाइडबडी विमान खरिद काण्ड, ललिता निवास जग्गा प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद काण्ड जस्ता अनेकौं काण्ड मच्चिए । भ्रष्टाचार विरुद्ध सून्य सहनशीलताको नीति अपनाएको भनेका ओलीलाई यी काण्डहरुका कारण अविश्वसनिय बनायो । विकास र समृद्धिका नाममा भ्यू टावर बनाउने होड देशै भरी चल्यो तर तुइन तरेर विद्यालय जानु पर्ने बालबालिकाको अवस्थामा कुनै फेरवदल भएन । सिटामोल समेत नपाएर ज्वरो आफै निको नहुँदासम्म ओछ्यानमै वस्नु पर्ने बाध्यताबाट नागरिक उम्कन पाएनन् ।
ओलीले संसदमा विकासका कर्णप्रिय गफ त गरे तर उनको विगत तीन कार्यकाल व्यहोरेका नेपाली नागरिकले ति नारा कार्यान्वयन हुने कुरामा भने आशंका गरेका छन् । पूर्व परीक्षित र दागी सहयात्री त छँदैछन्, प्रधानमन्त्री हुन नपाउँदै वर्षाैदेखि विद्युत महसुल नतिरेका उद्योगमा कटौती गरिएको विद्युत जोड्न दिएको आदेशले उनीमाथिको विश्वास अझ स्खलित भएको छ