दमाैली/गत चैत्र ७ देखि १९ सम्म चलेको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा असार दास्रो साता प्रकाशन भयो । असार १३ गते शुक्रबार प्रकाशित नतिजा बारेको चर्चा र चासो भने सकिएको छैन ।
चारलाख ३८ हजार ८९६ विद्यार्थी एसईईमा सहभागी भएका मध्ये दुइलाख ७१ हजार २९९ जना अर्थात ६१.८१ प्रतिशत ग्रेडेड भए । गत वर्षको तुलनामा झण्डै १४ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य देखाएको यो नतिजाले केही आशंकाकाबीच पनि देशभर नै उत्साह र खुसी ल्यायो ।
तनहुँमा पनि एसईई नतिजाले उत्साह नै ल्यायो । गतवर्ष नतिजा सून्य भएका कतिपय विद्यालयले राम्रै संख्यामा विद्यार्थीलाई ग्रेडेड गराउन सफल भए । यद्यपि दुइवटा सामुदायिक तथा एक संस्थागत विद्यालयको नतिजा सून्य हुँदा सुधारका थुप्रै प्रयासहरू बाँकी रहेको देखियो । तनहुँमा नियमित तर्फ कूल १७१ विद्यालयका चार हजार ९७८ विद्यार्थी परीक्षामा सहभागी थिए । ति मध्ये तीन हजार २०२ अर्थात ६४.३२ प्रतिशत परीक्षार्थी ग्रेडेड भए । समग्र तनहुँको नतिजाले राष्टिय नतिजालाई उछिनेको छ । तर एकतिहाईभन्दा बढी विद्यार्थी नन ग्रेडेड भएको तथा १० मध्ये ६ वटा पालिकाको नतिजा राष्ट्रिय नतिजाभन्दा कमजोर रहेको अवस्थामा सन्तोष मान्ने ठाउँ रहेको छैन ।
तनहुँ जिल्लाको पालिकागत नतिजालाई हेर्दा घिरिङको नतिजा निराशाजनक रहेको देखिन्छ । घिरिङमा सात विद्यालयबाट १७९ विद्यार्थी एसईईमा सहभागी भएकामा ६९ जनामात्र सफल भए । जुन ३८.५५ प्रतिशत हो । झण्डै दुइतिहाई विद्यार्थी माथिल्लो कक्षा पढ्न अयोग्य हुनु सुखद नतिजा होइन । गत वर्ष कतिपय विद्यालयको नतिजा सून्य आएको भएपनि यो वर्षको नतिजा भने ऋषिङ्ग गाउँ पालिकाको राम्रै रह्यो । ऋषिङ्ग अन्र्तगत ११ विद्यालयका २७० विद्यार्थी एसईईमा सहभागी भएकामा १११ जना विद्यार्थी ग्रेडेड भए । नतिजा सून्यको नियती भोग्नु नपरेपनि राष्ट्रिय नतिजाभन्दा झण्डै २१ प्रतिशत कम नतिजा आउनु सोचनीय विषय हो ।
दुर्गम भनिएका घिरिङ र ऋषिङ्गको नतिजा कमजोर हुनु स्वाभाविक भएपनि राष्ट्रिय राजमार्गले पाँच दशकदेखि छोएकोले विकासका अन्य पूर्वाधार समेत तयार भएको म्याग्दे गापा, शुक्लागण्डकी नपा, बन्दिपुर गापा भानु नपाको नतिजा राष्ट्रिय नतिजाभन्दा कमजोर रहनुले शिक्षाको विकास हाम्रो प्राथमिकतामा छैन भन्ने जनाएको छ । म्याग्देका ८ विद्यालयबाट २८७ विद्यार्थी एसईईमा सहभागी भएकामा १४६ मात्र ग्रेडेड भए । यसैगरी बन्दिपुरका ९ विद्यालयबाट ३२१ जना सहभागी भएकामा १७५, भानुका २३ विद्यालयका ५१९ सहभागीमध्ये ३०१ तथा शुक्लागण्डकीका २८ विद्यालयबाट सहभागी ९८६ मध्ये ५९३ जनामात्र ग्रेडेड भए । यि सबैको नतिजा राष्ट्रिय नतिजाभन्दा कम छ । यद्यपि बन्दिपुर स्थित पवित्रा माविकी छात्रा आयुषा श्रेष्ठले ४ जिपिए ल्याएकीले बन्दिपुर चर्चामा छ ।
राष्ट्रिय औसतलाई उछिनेको भीमाद अन्तर्गतका १८ विद्यालयका ४२८ विद्यार्थी एसईईमा सहभागी भएकामा २८७ ग्रेडेड भए भने व्यास नपाका ४४ विद्यालयबाट एक हजार ३४० सहभागीमध्ये एक हजार छ जना सफल भए । व्यास नपा स्थित शान्तिवर्ष माविकी छात्रा स्नेहा गिरीले ४ जिपिए ल्याइन् । उता शिक्षा क्षेत्रमा लगानी गर्ने तत्पराता देखाएको आँबुखैरेनीले ७७.५६ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भयो । आँबुखैरेनीका १० विद्यालयबाट ४०१ विद्यार्थी सहभागी भएकामा ३११ जना ग्रेडेड भए । यहाँको रामशाह माविका छात्र किस्मत पोखरेल र छात्रा सञ्जिना थापाले ४ जिपिए ल्याए ।
यस पटकको एसईईमा खासै अपेक्षा नगरिएको देवघाटले राम्रो नतिजा ल्यायो । जिल्लाको सबै पालिकालाई उछिन्दै ७८.४१ प्रतिशत विद्यार्थीलाई ग्रेडेड बनाउन देवघाट सफल भयो । यहाँ रहेका १३ विद्यालयबाट २४७ विद्यार्थी सहभागी भएकामा १९३ जना सफल भए । माध्यमिक तहसम्मको अधिकार पाएका स्थानीय तहमा सारेर ढुक्क बसेको सघीय सरकार र प्राप्त अधिकार अनुसारकोे जिम्मेबारी बहन गर्ने तत्परता स्थानीय तहले नदेखाउँदाको परिणाम आम बालबालिकाले त भागी रहेका छन् नै पालिका नेतृत्व स्वयम् जिम्मेवारी वहन नगरेकोमा हेयको पात्र बनेका छन् । केहीलाई छोडेर अरु सबैले पाँच दशक अगाडीका बेलायतका प्रधानमन्त्री टोनी व्लेयरको शिक्षामा प्राथमिकता नबुझेको र आत्मसात गर्न नसकेको देखेर नागरिकका निराशा छाएको छ ।
एसईई–२०८१ मा तनहुँ: देवघाटको नतिजा अब्बल घिरिङको सुधारोन्मुख
previous post