
माध्यमिक शिक्षा परीक्षा (एसईई) आवश्यक छ कि छैन वा यसलाई यति तामझामका साथ गरिनु आवश्यक छ वा छैन भन्ने विषयमा भिन्न मतहरु छन् । कतिपयलाई यो अपरिहार्य लागेको छ भने कतिपयले यसलाई अनावश्यक भन्ने तर्क गर्दछन् । तर परीक्षा नजिकिँदै गर्दा देशभरका विद्यालय, विद्यार्थी र अभिभावकमा उत्साहसँगै एक प्रकारको दबाब पनि देखिन थालेको छ ।
यसै साप्ताहिकले गत साता ऋषिङ गाउँ पालिका भित्रका विभिन्न विद्यालयहले एसईई नतिजा सुधारका लागि गरेको प्रयत्नको रिपोर्ट प्रकाशित गरेको थियो । विद्यालयहरूले गत वर्षको नतिजालाई समीक्षा गर्दै यस वर्ष सुधारका लागि जुन किसिमको तदारुकता देखाएका छन्, त्यो सकारात्मक छ । तर, तथ्याङ्कलाई हेर्दा गत वर्ष जिल्लाको औसत नतिजा ६४ प्रतिशत रहँदा ऋषिङको झन्डै ४१ प्रतिशतमा सीमित हुनुले यहाँको शैक्षिक अवस्थामा गम्भीर मन्थनको आवश्यकता रहेको सङ्केत गर्छ ।
ऋषिङ गाउँपालिका भित्रकै विद्यालयहरूबीचको नतिजामा देखिएको ठुलो खाडल (शुक्ला मावि ९२ प्रतिशत र अमर मावि ५.५६ प्रतिशत) झनै सोचनीय छ । एउटै भूगोल र एउटै स्थानीय सरकारको मातहतमा रहेका विद्यालयहरूबीच यति ठुलो अन्तर हुनुले विद्यालयको व्यवस्थापन, शिक्षण पद्धति र अभिभावकको संलग्नतामा कतै न कतै ठुलो कमजोरी रहेको प्रस्ट पार्छ ।
नतिजा सुधार केवल शिक्षक वा विद्यालयको ठेक्का होइन । यो स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र अभिभावकको साझा सङ्कल्प हुनुपर्छ । अभिभावकहरूले पनि छोराछोरीलाई अत्यावश्यक भएका बेला दिने नभए मोबाइलबाट टाढा राखेर घरमा अध्ययनको वातावरण बनाइदिनु पर्छ । जबसम्म विद्यार्थी आफैँमा ‘मेरो भविष्यका लागि मैले पढ्नुपर्छ’ भन्ने बोध र अनुशासन हुँदैन, तबसम्म बाहिरी प्रयासहरू प्रभावकारी हुँदैनन् । गत वर्षको नतिजालाई विद्यालयहरूले एउटा पाठको रूपमा लिएर अघि बढ्नु पर्छ । मिहिनेत आजैबाट गरौँ, ताकि भोलि नतिजा प्रकाशित हुँदा थकथकाउनु नपरोस् ।
नतिजा सुधारका लागि विद्यालयका प्रयासहरू विभिन्न विद्यालयका प्रधानाध्यापकहरूका अनुसार यस पटक नतिजा सुधार्न थुप्रै रचनात्मक कामहरू भएका छन् । अतिरिक्त कक्षा र उपचारात्मक शिक्षण, छात्रावासको व्यवस्था, अभिभावक–शिक्षक–विद्यार्थी अन्तरक्रिया, नविनतम प्रविधिको प्रयोग जस्ता उपाय अपनाएर नतिजा सुधारमा चासो र चिन्ता व्यक्त गरिएको रिपोर्टमा उल्लेख छ ।
अतिरिक्त कक्षा र उपचारात्मक शिक्षण अन्तर्गत कमजोर विद्यार्थीका लागि बिहान–बेलुका थप कक्षा र विशेष ध्यान दिने व्यवस्था सबै जसो विद्यालयले गरेको पाइयो । यसैगरी कतिपय विद्यालयले छात्रावासको व्यवस्था समेत गरका रहेछन् । शुक्ला मावि र शिवसरस्वती माविका प्रधानाध्यापक हरुले विद्यार्थीलाई विद्यालयमै राखेर पढाउने जुन अभ्यास गरको बताए, यसले विद्यार्थीको समय व्यवस्थापन र अनुशासनमा मद्दत पुग्ने छ । यसले नतिजा सुधारमा अवश्य सकारात्मक सहयोग गर्नेछ ।
शिक्षणमा आधुनिक प्रविधिको प्रयोग तर्फ पनि विद्यालयहरु विस्तारै उन्मूख भएका छन् । यसले विद्यार्थीमा सिकाई प्रति चाख जगाउनुका अतिरिक्त नजानेका कुरा सिक्न शिक्षकको मुख ताकिरहनु पर्ने वा शिक्षकलाई पर्खनु पर्ने अवस्थाबाट मुक्त भएका छन् । यद्यपि प्रविधिको सही प्रयोगका सन्दर्भमा भने विद्यार्थीलाई सचेत गराउनु र गलत वा अधिक प्रयोगले दीर्घकालमा पार्न सक्ने नकारात्मक असर बारे जानकारी गराउनु आवश्यक र अपरिहार्य छ । अभिभावकसँग मेसेन्जर ग्रुपमार्फत गरिने संवादले सूचना आदानप्रदानलाई सहज बनाएको छ । आधारभूत तहमा ध्यानः घर बलियो बनाउन जग बलियो हुनुपर्छ भन्ने मान्यताका साथ कक्षा ५ र ८ को परीक्षालाई पनि उत्तिकै महत्व दिनु दीर्घकालीन सुधारका लागि महत्वपूर्ण कदम हो ।
विद्यार्थीमा पढ्ने बानी छैन । अभिभावक विभिन्न वहानामा उनीहरुका लागि समय छुट्याउँदैनन् । कतिपय विद्यार्थीका लागि कमजोर आर्थिक अवस्था अध्ययनका लागि बाधक बनेको छ । समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनन् । उपयुक्त र आवश्यक शैक्षिक समाग्री विद्यालयहरुमा उपलब्ध हुन सकेका छैनन् । वास्तवमा भन्ने हो भने शिक्षकहरु चुनौतिको चाङमाथि उभिएका छन् । यावत चुनौतिको सामना गर्दै नतिजा राम्रो ल्याउनु छ । चुनौतीका पहाडहरू यति हुँदाहुँदै पनि शिक्षकहरूले औँल्याएका केही समस्याहरू निकै गम्भीर छन्। ‘उदार कक्षोन्नति’(सबैलाई पास गराउने नीति) को गतल बुझाई र प्रयोग तथा निरन्तर मूल्याङ्कन प्रणालीको गलत प्रयोगका कारण माथिल्लो कक्षामा पुग्दा विद्यार्थीको जग कमजोर हुनु र कोभिडको समयमा भएको सिकाई क्षति अझै पूर्ति हुन नसक्नु दुखद पक्ष हो । सिकाई आपूरणका केही प्रयास भएको भएपनि पर्याप्त भएको छैन । त्यसमाथि आपूरण अभ्यास निरन्तर नहुँदा त्यसले प्रभावकारी नतिजा दिन सकेको छैन । यसबाहेक, मोबाइलको अत्यधिक प्रयोग र घरमा पढ्ने उपयुक्त वातावरणको अभावले नतिजामा प्रत्यक्ष असर पारेको छ । विद्यालयमा अतिरिक्त कक्षा चलाएर मात्र पुग्दैन, छोरा वा छोरीलाई अतिरिक्त कक्षामा पढ्न पठाएको छु भनेर मात्र हुँदैन, विद्यार्थीले घरमा कति समय र कसरी पढिरहेको छ भन्ने कुराको निगरानी अभिभावकले नगरेसम्म अपेक्षित सफलता प्राप्त गर्न कठिन
हुन्छ ।
नतिजा सुधार केवल शिक्षक वा विद्यालयको ठेक्का होइन । यो स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र अभिभावकको साझा सङ्कल्प हुनुपर्छ । ऋषिङ गाउँपालिकाले विद्यालयलाई अतिरिक्त कक्षा सञ्चालनका लागि अनुदान उपलब्ध गराउने गरेको समाचार आफैमा सुखद हो । यस अर्थमा ऋषिङले राम्रो सुरुवात गरेको छ । अब विद्यालयहरूले केवल ‘कोर्स’ सकाउने भन्दा पनि विद्यार्थीको ‘सिकाइ स्तर’ उकास्ने गरी उपचारात्मक शिक्षणमा जोड दिनुपर्छ ।
अभिभावकहरूले पनि छोराछोरीलाई अत्यावश्यक भएका बेला दिने नभए मोबाइलबाट टाढा राखेर घरमा अध्ययनको वातावरण बनाइदिनु पर्छ ।
जबसम्म विद्यार्थी आफैँमा ‘मेरो भविष्यका लागि मैले पढ्नुपर्छ’ भन्ने बोध र अनुशासन हुँदैन, तबसम्म बाहिरी प्रयासहरू प्रभावकारी हुँदैनन् । गत वर्षको नतिजालाई विद्यालयहरूले एउटा पाठको रूपमा लिएर अघि बढ्नु पर्छ । मिहिनेत आजैबाट गरौँ, ताकि भोलि नतिजा प्रकाशित हुँदा थकथकाउनु नपरोस् ।
