दमौली/आदिकवि भानुभक्त क्याम्पस विभिन्न विधामा पुरस्कृत भएको छ । क्याम्पसले एम वि एस कार्यक्रममा नेपालको प्रथम, सामुदायीक क्याम्पस तर्फ नेपालमै द्वितीय र विविएस कार्यक्रम तर्फ नेपालकै तेस्रो उत्कृष्ठ नतिजा ल्याउँदै तेस्रो पुरस्कार प्राप्त गरेको हो । न्यू विजनेस एज म्यागेजिनले हरेक वर्ष नेपाल भर व्यवस्थापन विषय पढाई हुने क्याम्पसहरुको अध्ययन अध्यापन, नतिजा, पूर्वाधार विकास र व्यवस्थापनलाई आधार मानेर पुरस्कृत गर्ने क्याम्पस छनौट गर्ने गर्दछ ।
सोही क्रममा देश भरमा एम वि एस पढाई हुने एकहजार आठसय ५४ क्याम्पस मध्ये आदिकवि प्रथम भएको हो । यसैगरी देश भरका छसय सामुदायीक क्याम्पस मध्ये यो क्याम्पस दोस्रो हुन सफल भएको छ । शुक्रबार काठमाण्डौं स्थित होटल अन्नपूर्णमा भएको समारोहमा क्याम्पस प्रमुख महाप्रसाद हडेखलेले अवार्ड ग्रहण गरेका थिए । अवार्ड शिक्षा सचिव खगराज बराल तथा न्यू विजिनेस एजका अध्यक्ष मदन लम्सालले प्रदान गरेका हुन् ।
राम्रो पढाई, चुस्त व्यवस्थापन तथा सस्तो शुल्कका कारण तनहुँका धनी तथा विपन्न सबैको रोजाई बन्न सफल आदिकवि क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर सम्ममा विभिन्न संकाय र विषयमा पढाई हुने गर्दछ । व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीको संख्या मात्र यो क्याम्पसमा करिब एकहजार दुईसय रहेको छ ।