पूर्ण विके
ऋषिङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयंको सहयोगमा गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले जातीय विभेद र छुवाछूत अन्त्यको लागि केही स्थानीय तहले समेत कानुन बनाएर रचनात्मक कार्य गरेका बताउँदै राष्ट्रिय दलित आयोग गठन विधि, काम कर्तव्य, अधिकार र जातीय विभेद अन्त्यको लागि आयोगको भुमिका बारेमा चर्चा गरेका थिए ।
प्रवक्ता पुर्कुटीले दलितमाथि हेर्ने दृष्टिकोण सकारात्मक नबनेसम्म जातीय विभेद र छुवाछूत हट्न नसक्ने
बताए ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूत अन्त्यको लागि आफूहरु जुटिरहेको वताउँदै मानिसबीच विभेद हुनु दुखद भएको र जातीय विभेद कसैले गर्न नहुने अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले ऋषिङ गाउँपालिकामा जातीय विभेद विरुद्ध विभिन्न कार्यक्रम गरिएको समेत उल्लेख गरे ।
उपाध्यक्ष गिनुमाया थापाले समाज परिवर्तनको लागि दलित एक्लैको प्रयास पर्याप्त नभएकोले विभेद अन्त्यको लागि सबैको सहकार्य आवश्यक रहेको बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले जातका नाममा हुने विभेद अन्त्यको लागि राज्यले विभिन्न नीति बनाएर जुटिरहेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र पाण्डेले जातीय विभेद अन्त्यको लागि आफूहरुले स्थानीय तहसंग समन्वय गरी विभिन्न कार्यक्रम बनाएको उल्लेख गरे ।
कार्यक्रममा दलित अगुवा डम्बरबहादुर विक, कार्यपालिका सदस्य दिलबहादुर नेपाली लगाएतले स्थानीय तहमा हुने जातीय विभेद र छुवाछुतको अवस्था र सामाधानको उपाय बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, दलित महिला जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
