वैशाख–३० मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा ऋषिङ–५ को वडाध्यक्षमा निर्वाचित बुद्धिमान राना तरुण दल ऋषिङका अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ का सदस्य पनि हुन् । वडाध्यक्षको कार्यभार सम्हालेको दुइ महिना पुग्न एक दिन बाँकी रहँदा हाम्रा सहसम्पादक रमेश विकलसंग कुरा गर्न उपस्थित भएका रानाले भने, म नागरिकलाई “गाउँ गाउँमा सिहदरबार” नारा नभएर यथार्थ भएको अनुभूति हुनेगरी काम गर्छु । प्रस्तुत छ, वडाध्यक्ष रानासंग गरिएको कुराकानीको सम्पादित अंशः
वडाध्यक्षका रुपमा दुइ महिनाको कार्य अनुभव कस्तो रह्यो ?
रानाः सबैभन्दा पहिले त मलाई आफ्ना विचारहरु राख्ने अवसर प्रदान गरेकोमा तनहुँ आवजप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी निर्वाचित भए लगतै पालिकाको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले नागरिकका आवश्यकतालाई मसिनो गरी खोज्ने काममा केही समयवित्यो । सिमिति बजेट र असिमित जनआकाँक्षाबीच तालमेल गरेर बजेट बनाउन निकै कठिन रहेछ । अब बजेट आएको छ । यसको अधिकतम सदुपयोग गर्दै वडावासीको आवश्यकता पूरा गर्ने काममा अब लागि पर्नेछु । यो अवधिका वडाका कर्मचारी लगाएत पालिका प्रमुख, उपप्रमुख सबैको सकारात्मक सहयोग पाएको छु । काम सिक्दै पनि छु ।
आगामी पाँच वर्षे योजना के छन् ?
रानाः आगामी पाँच वर्ष मेरो प्राथमिकता नागरिकका चासोका विषय सम्बोधन नै हो । बाटो, विजुली, स्वास्थ्य, खानेपानी, शिक्षा, कृषी लगाएत आम नागरिकका चासोका विषय हुन् र यीनीहरुको सम्बोधनमा मेरो प्राथमिकता रहने छ । म मेरो वडाका नागरिकलाई “गाउँ गाउँमा सिँहदरबार” नारा नभएर यथार्थ भएको अुनभूत गर्नेगरी काम गर्ने कुरामा आफु प्रतिबद्ध रहेको जानकारी तपाईँको लोकप्रिय सञ्चारमाध्यम मार्फत गराउन चाहन्छु ।
जिर्ण वडा कार्यालयबाट सेवा प्रदान गरिरहनु भएको छ । पक्की र व्यवस्थित वडा कार्यालय कहिले बन्छ ?
रानाः पक्की वडा कार्यालय भवन बनाउनका लागि टेण्डर परिसकको र सिलान्यास समेत भैसकेको अवस्था छ । हामी निर्माण कार्यलाई तिव्रता दिई चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने योजनामा छौं । निर्माण सम्पन्न पश्चात नयाँ, पक्की र व्यवस्थित भवनबाट सेवा प्रवाह सुरु हुनेछ ।
यहाँले आफ्ना प्राथमिकतामा शिक्षा रहेको बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीसंख्या वृद्धिका लागि वडाका योजना के के छन् ?
रानाः दक्ष र तालिम प्राप्त शिक्षकहरु उपलब्ध हुने तथा छात्रवृत्ति, दिवा खाजा लगाएतका सुविधा हुँदा हुँदैपनि सामुदायिक विद्यालयका प्रति अभिभावकको विश्वास जगाउन नसकिएको कुरा सत्य हो । यसका लागि विद्यार्थीको रुचि र चाहना अनुसारको शिक्षण सिकाई क्रियाकलाप गर्न, सिकाईमा समतामुलक सहभागिता गराउन, विद्यार्थीको विविधता अनुकुल सिकाई क्रियाकलाप गर्न, प्रभावकारी सिकाई क्रियाकलाप अपनाउन शिक्षकहरुलाई आग्रह गर्दै आएको छु । विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने तथा अन्य आवश्यक सहयोग गर्ने गरेर भएपनि हरेक बालबालिकालाई शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न वडा प्रतिवद्ध छ । विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्न बजेट व्यवस्था समेत गरिएको छ ।
आँखा भनेको विजुली हो भनिन्छ, तर वडा नं ५ मा विद्युत सेवा भरपर्दाे छैन । महसुल भुक्तानी सम्बन्धी समस्याका कारण विद्युत काटिने समस्या पनि छ । विद्युत सेवालाई भरपर्दाे बनाउन तथा अन्य समस्या हटाउने कस्ता योजना छन् ?
रानाः हामी कहाँ सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत विद्युत वितरण भइरहेको छ । अघिल्लो समितिले समयमा विद्युत महसुल नतिर्दा लाईन काटिने समस्या पनि भयो । तर अहिले गाउँ पालिका मार्फत बजेट छुट्याएर बाँकी महसुल तिर्ने र राष्ट्रियकरण गरेर नागरिकलाई सहज विद्युत उपलब्ध गराउन हामी प्रतिवद्ध छौं । वर्षाैँ पुराना काठका पोलका कारण पनि विद्युत वितरण प्रणालीमा बेलाबेला समस्या आउने गरेको छ । यसलाई समाधान गर्न गाउँ पालिकासंग समन्वय गरेर छिट्टै स्टीलपोलले काठे पोललाई विस्थापन गरिनेछ ।
तपाईको वडामा खानेपानीको समस्या पनि टडकारो छ । वडा नं ५ का वासिन्दाले स्वच्छ खानेपानी कहिले पाउँछन् ?
रानाः स्वच्छ खानेपानीको उपलब्धता मेरो प्राथमिकतामा छ । नयाँ पानीका श्रोतहरुको खोजी गरेर अभाव भएका गाउँ वस्तीमा खानेपानी सुविधा उपलब्ध गराउनु जनप्रतिनिधिका नाताले मेरो कर्तव्य पनि हो । धेरै गाउँ वस्तीमा खानेपानीको सुविधा पुगीसकेकोे छ । जुन ठाउँमा पुग्न सकेको छैन, ति ठाउँहरुमा आफ्नो कार्यकालमा सफा र शुद्ध खानेपानी सुविधा उपलब्ध गराउने कुरामा म विश्वास दिलाउन चाहन्छु ।
वडा भित्रका सडकहरुको अवस्था कस्तो छ ? सडकको स्तरोन्नतिका नयाँ योजना छन् ?
रानाः वडालाई श्रृङ्ग पथसंग जोडने, श्रृङ्शान्ति मार्ग, ढुङ्गागाढे–रुपाटार मार्ग तथा साभुङ देउरालीबाट पिपलटार जोडने मोटर मार्गहरुका लागि बजेट विनियोजन भएको छ । स्थानीय सरकार र प्रदेश सरकारसमेतको सहयोगमा ढुङ्गागाढे–रुपाटार मार्ग कालोपत्रे गर्न तथा नाला बनाउने काम अगाडि बढाइने छ । आगामी ५ वर्षमा यो मार्गको सम्पूर्ण भाग नालासहित कालोपत्रे गर्ने कुरामा म प्रतिवद्ध छु । श्रृङ्शान्ति मार्ग अन्तर्गत दोस्ती भिरमा बाटो फराकिलो बनाउने कामका लागि ३० लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ भने गाउँ पालिकको १ करोड ७५ लाख रुपैयाँले १२ मिटर बाटो कालोपत्रे योजना रहेको छ । देउराली पिपलटार मार्ग फराकिलो बनाउने तथा नाला निर्माण गर्ने काम हुनेछ भने वडा कार्यालयलाई गाउँ पालिकासंग जोडने गाउँ पालिका मार्गको नयाँ ट्रयाक खोल्न समेत बजेट विजियोजन गरिएको छ ।
पिपलटार औद्योगिक ग्रामको काम कति अघि बढ्यो ?
रानाः यसलाई केन्द्र सरकारले नै चासो दिएकाले औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढ्नेछ ।
वडाबाट प्रदान गरिने सेवालाई प्रभावकारी र सहज बनाउन के गर्दै हुनुहुन्छ ?
रानाः म वडाध्यक्ष भएर आए देखि नै नागरिकले दुःख नपाउन भन्ने कुरामा सचेत छु । मैले कर्मचारी साथीहरुलाई पनि भनेको छु कि नागरिकका काम सहज रुपमा गरिदिनु होला । सेवाग्राहीले कतिपय कुरा नबुझेका हुन सक्छन्, यस्तोमा बुझिनेगरी बताउने र उनीहरुलाई आवश्यक सेवा प्रदान गर्ने कुरामा जनप्रतिनिधि तथा कर्मचारीहरु सदा तत्पर रहनेछौं । वडाका योजनाका उपभोक्ता समितिलाई योजना र कार्यान्वयका लागि कार्यालयिय कामका सन्दर्भमा प्रशिक्षण दिने योजना पनि रहेको छ ।
पत्रिका मार्फत आफ्ना वडाका नागरिकलाई के भन्न चाहनुहुन्छ ?
रानाः सबैभन्दा पहिले त मलाई वडाध्यक्षमा निर्वाचित गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यसका साथै निर्वाचनका बेला मैले आम मतदाता समक्ष गरेको प्रतिवद्धताको स्मरण गराउँदै प्रतिवद्धता अनुरुप काम गर्न कामका लागि बेलाबेला झक्झक्याउन तथा कामका सन्दर्भमा आवश्यक सुझाब र सल्लाह प्रदान गर्नुहुन अनुरोध
गर्दछु ।