दमौली । राष्ट्रिय ख्याती कमाएको सत्यवती माध्यमिक विद्यालयले प्रतिष्पर्धामा भन्दा आलोपालोमा प्रधानाध्यापक चयन गर्ने प्रणाली बसालेको छ । बहालवाला प्रधानाध्यापक एकबहादुर गुरुङ्गले प्रधानाध्यापकको पद खाली गरिदिएपछि विद्यालय व्यवस्थापन समितिले २०८० बैशाख १७ गतेबाट विद्यालयका शिक्षक पुष्पकला भट्टराईलाई प्रधानाध्यापक पदमा पदस्थापन गरेको हो । विद्यालय विकास प्रस्तावबाट प्रतिष्पर्धामा अब्बल ठहरिएकी भट्टराईले प्रधानाध्यापकमा दावी गरेको भएपनि पछिल्लो समयमा राजनीतिक हस्तक्षेपले गर्दा आलोपालोको समझादरीको समयसम्म प्रतिक्षा गर्नु परेको थियो । नमूना विद्यालयको पहिचान बनाएको सत्यवतीमा व्यास नगर शिक्षा नियमावली अनुसार तीन बर्ष एक बहादुर गुरुङ्गले प्रधानाध्यापक पाउनु पर्ने हो । आलोपालो समझदारीमा एक बर्षको कार्यकाल प्रधानाध्यापक चलाउने सहमति भएकोमा करिब १६ महिनामै प्रधानाध्यापकको जिम्मेवारीबाट विदाई हुनु परेको बताइएको छ । तीन बर्षभित्रै दुई प्रधानाध्यापक चयन गर्ने आलोपालो प्रणाली बसेपछि विद्यालयको शैक्षिक गुणस्तर खस्कने तर्फ अभिभावकहरुमा चिन्ता बढेको पाईन्छ ।
राष्ट्रियस्तरको सामुदायिक विद्यालय दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले पहिलो पटक बल्लबल्ल महिला प्रधानाध्यापक पाएको छ । पुष्पकला भट्टराई माध्यमिक तहको द्वितिय श्रेणीको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकका रुपमा सत्यवतीमा धेरै बर्ष अघिदेखि कार्यरत थिईन् । प्रधानाध्यापक भट्टराईले अंग्रेजी विषयमा एम फिल उत्तीर्ण गरेकी छन् भने विद्यावारिधीको समेत अध्ययन गरिरहेकी छन् ।
वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि पहिलो पटक महिला शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाएको हो । भट्टराईको कार्यकाल अब कति हो भन्ने बारेमा कतैबाट सूचना चुहिएको छैन ।
नवनियुक्त प्रधानाध्यापक पुष्पकला भट्टराईको पदस्थापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतको उपस्थिति रहेको थियो । पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त प्रधानाध्यापक भट्टराईले सत्यवती माध्यमिक विद्यालयले हासिल गरेको गरिमा अझै उचाईमा पु¥याउने प्रतिबद्धता जाहेर गरेकी थिइन ।
पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई धन्यवाद सहित दोसल्ला ओडाएर ससम्मान विदाई गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको प्रसंसा गरेका थिए ।