
यो हप्ता मुलुकको स्वरुप आन्दोलित रुपमा प्रकट भएको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ । तर त्यसको आभाष आन्दोलित नेपालीले गर्न सकेका छैनन् । सरकारका तर्फबाट शान्तिपूर्ण सभा गर्न पाएको अनुमित अनुसार नै राष्ट्रिय गान शुरु भइरहँदा चलेको अश्रुग्याँसको म्याद सकिएको लोला प्रहारले शान्तिपूर्ण सभा जुलुसलाई विथोलिएपछि पक्राउ, नजरबन्द, गृहबन्दी जस्ता प्रकृतिका सरकारी रवैयाले झनै आन्दोलित मुलुकको स्वरुपलाई प्रष्ट्याएको छ ।
सरकारको प्रशासनीक रवैयालाई सोझो रुपमा बुझ्दा आन्दोलनलाई दवाउने रणनीति लिएको देखिन्छ । सरकारी रवैयाले आन्दोलनको आगोमा घिऊ थप्ने काम भएको छ । सक्लेको आगो जगाउने काम यो सरकारले गरेको छ । आन्दोलनबाट सरकार डरायो भन्ने विश्लेषण गरिएको छ ।
राजनीतिक रुपमा बुझ्दा सरकार र प्रतिपक्षले गणतान्त्रिक लाज बचाएर गणतन्त्र फालेको दोषमुक्त हुने सुरक्षित अवतरण खोजेको आभाष हुन्छ । यी आवरणका गणतन्त्रवादीलाई यो गणतन्त्रको मायाँ भएको विगत १८ बर्षको अवसरले पुष्टि गर्न सकेन । यो मुलुकमा देश, जनताप्रति इमानदार राजनीतिज्ञ भएको भए २०६३ पछि पाएको अवसरको भरपुर उपयोग गर्दा प्राकृतिक साधानस्रोतले सम्पन्न विकाशको शिखरमा पु¥याउन सकिन्थ्यो । शासकीय इमानदारीताले मुलुकको मुहार फेर्न सकिन्छ । जनतामा आशा, भरोसा र विश्वास जगाउन सकिन्थ्यो । लोकतान्त्रिक गणतन्त्रको आवरणमा रहेकाहरुले त्यो अवधिको उपयोग गर्ने प्रयाससम्म गरेको आभाष नेपाली जनतालाई भएको छैन । भूमाफिया, तस्करसंगको मिलेमतोमा मुलुक दोहन गर्ने पहिचान नेपालका लोकतान्त्रिक गणतन्त्रीक आवरणमा प्रकट गराइएका शासकहरुले गरे । त्यसका विरुद्धमा यतिबेला मुलुक आन्दोलनमय भएको हो ।
मुलुकको शासनको वागडोरो सम्हाल्न पाएका राजनीतिक दलहरुले एक बर्षमा यो व्यवस्था र यसका सञ्चालकहरुप्रति आशा भरोसा र विश्वास जगाउन सकिने आधार र अवसरहरु थिए । तर १८ बर्षको अवसर यिनीहरुले आफूलाई लुटेरा, तस्कर, एजेन्ट र भरिया सावित गर्नमा खर्चे । बर्षौं जेल नेल यातना भोगेको सुनामलाई बद्नाम बनाए ।
मुलुक आन्दोलनमय भएको छ । दमनले बद्नामी सत्ता र शासकलाई बचाउन सक्दैन । अभिभावकत्व सहितको त्यागले यो सत्ता बचाउन सक्दछ । मुख्य दल नेपाली काँग्रेस, एमाले र माओवादीको नेतृत्वले बेलैमा कदम चालोस् । अन्यथा सत्तासुम्पेर विद्रोहको राजनीतिक अस्त्रले लाज बचाउने बाहेक अन्य विकल्प बाँकी रहँदैन ।