आजभन्दा भण्डै अढाई सय वर्ष अगाडि पर्वत क्षेत्रमा प्रचिलित भनाईबाट आजको आलेखको विषय उठान गर्ने जमर्काे गरेको छु । ठूलो भनिएको मानिसको उपलब्धी कम र सानो भनिएको मानिसको उपलब्धी धेरै भन्नु प¥यो भने पर्वतमा उतिबेला यो भनाई चलाइएको रहेछ ।
पर्वतका राजा डिम्बबम शाही तथा उनका छोरा नागबम शाहीको राज्य क्षेत्रमा जम्मा आठ हजार घरधुरी भएका र सामान्य भनिएको बानियाँसंग भने १२ हजार घरधुरी भएको कुराबाट यो भनाई प्रचलनमा आएको रहेछ । कस्केली साहित्यकार चन्द्रप्रकाश बानियाँले आफ्नो उपन्यास महारानीमा यो प्रसंग उल्लेख गरेका छन् ।
एकछिन्, गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डौं महानगरको निर्वाचनलाई हरौं । नेकपा एमालेले आफ्नो किल्ला मान्ने गरेको काठमाण्डौं महानगरको निर्वाचनमा उक्त दलको तर्फबाट उम्मेदबार थिए, केशव स्थापित । अनि सत्ताधारी दल नेपाली कांग्रेसकी उम्मेदबार थिइन्, सिर्जना सिंह । यि दुवै उम्मेदबारले अझ भनौं कांग्रेस, एमालेले वर्तमान मेयर बालेन्द्र शाहलाई खासै नोटिस गरेका थिएनन् । उनीहरुलाई लागेको थियो, हाम्रो संगठनको जग काठमाण्डौंको घरघरसम्म पुगेको छ, विजेता हामी नै हौं ।
मेयर पदका प्रत्यासी स्थापित भन्थे, काठमाण्डौं परम्परागत रुपमा एमालेको गढ हो । यहाँ कांग्रेसको भोट ५०÷६० हजार हो । म कांग्रेस उम्मेदबार भन्दा दोब्बर मत बढी ल्याएर मेयर पदमा निर्वाचित हुन्छु । अर्का उम्मेदबार बालेन्द्र शाहका बारेमा सोधिएको प्रश्नमा स्थापितको उत्तर हुन्थ्यो, उ त मेरो प्रतिस्पर्धी नै होइन । तर निर्वाचन परिणाम स्थापित र सिंहले सोचभन्दा अलग आयो । काठमाण्डौंका मतदाताले एमालेले आफ्नो परम्परागत गढ भनेको काठमाण्डौंमा उसका उम्मेदबारलाई पराजित मात्रै गरेनन् बरु तेस्रो स्थानमा झारिदिए ।
दलहरुले नोटिसमा समेत राख्न नचाहेको वा आवश्यक नठानेका बालेन्द्र शाह, कांग्रेस एमाले जस्ता बलियो जनाधार भएका भनिएका दलको उम्मेदबारले भन्दा झण्डै दोब्बर मत ल्याएर विजयी भए । दोब्बर मतले अगाडि भएर जित्छु भनेका स्थापितलाई सिर्जनाले समेत पछाडि पारिन् नै प्रतिस्पर्धी नै होइन भनेका बालेनले नराम्ररी पछारे । विजयी बालेन्द्र शाहले ६१ हजार ७७६ मत पाउँदा कांग्रेसकी सिँहले ३८ हजार ३४१ मत तथा एमालेका स्थापितले ३८ हजार ११७ मत मात्र पाए । एमालेको घमण्डको घैंटो मात्र फुटेन पाँच दलिय गठबन्धनको तुजुकको तौलपनि काठमाण्डौंका मतदाताले देखाईदिए ।
उता पूर्वमा धरानको अवस्था पनि त्यस्तै भयो । निर्वाचनका बेला कहिले एक्लै हातमा एउटा स्पिकर बोकेर त कहिले ट्याम्पो चढेर प्रचार गर्दै हिड्ने हर्कराज राई (हर्क सम्पाङ) ले जित्छन् भन्ने दर्जनौं मोटर साइकल तथा गाडीको लाईन लगाएर प्रचारमा हिँड्ने गरेकी एमालेकी मञ्जु भण्डारीलाई लागेको थिएन अनि कांग्रेसका किशोर राईलाई पनि । अघिल्लो उप निर्वाचनमा जितेको कांग्रेस आफ्नो जित सहज हुने आँकलनमा थियो, भने देशभर एमालेको पक्षमा जनलहर आएको विश्वास पालेको एमाले पनि आफ्नो उम्मेदबारले जित्ने कुरामा आशावादी थियो । दुबै दल र उम्मेदबारको हालत “चैतमा डुक्रिने गोरु थला पर्छ असारमा” भन्ने कवि सोम निरौलाको कवितांशको जस्तै भयो ।
एक्ला यात्री हर्कले २० हजारभन्दा बढी मत ल्याएर विजयी हुँदा कांग्रेसका किशोरले १६ हजार तथा एमालेकी मञ्जुले १२ हजार मतमात्र पाए । काठमाण्डौं कै नियती ठूला भनिएका दलहरुले धरानमा पनि व्यहोरे ।
पश्चिमको धनगढीमा पनि स्वतन्त्र भनिएका गोपाल हमालले नगरप्रमुखमा जित हात पार्दा कांग्रेस तथा एमालेका उम्मेदबार पराजित भए । यद्यपि हमाल राजनैतिक पृष्ठभूमिबाट आएकाले स्वतन्त्र भन्न मिल्ने अवस्था रहेन । अन्य स्वतन्त्र भनिएका उम्मेदबारहरु पनि विजयी भएका थिए तर उनीहरुको बारेमा किन चर्चा गर्न आवश्यक भएन भने उनीहरु सबै कुनै दलका कार्यकर्ता थिए, विगतमा ।
काठमाण्डौं र धरान बाहेकका स्वतन्त्र भनिएकाको बारेमा किन पनि थप चर्चा आवश्यक नभएको हो भने बालेन र हर्क बाहेक स्वतन्त्र हौं भन्नेहरुले मतदाताले स्यावास भन्नेगरी कुनै काम गरेको देखिएको छैन । उही पुरानो साँचोमा ढालिन पुगेका उनीहरुको दिनचर्यामा कुनै नयाँ पन छैन ।
तर माथि भनिएका र नभनिएका समेत जतिपनि स्वतन्त्र र स्वतन्त्र भन्नेहरुले निर्वाचन जिते उनीहरुको जितले दिएको सामूहिक जवाफ के हो भने हाम्रो संगठन छ, हाम्रा कार्यकर्ताहरु छन् भनेर अब कुनै दलले तुजुक नदेखाउँदा हुन्छ ।
संघीय संसद सदस्य तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन आउन अब दुइ महिना पनि बाँकी छैन । काठमाण्डौंका बालेनले जुन हिम्मतका साथ आफ्नो अर्काे नभनि अबैध संरचना भत्काउने तथा गाएब पारिउका खोला खोज्ने काम गरेका छन् । यसले स्वतन्त्रहरुका प्रति आकर्षण अवश्य बढेको
छ । उता पानीको अभावमा काकाकुल बनेका धरानबासीलाई पानी खुवाउन दिन रात नभनी खटेर जुन भरोषा जितेका छन्, त्यसले पनि स्वतन्त्रहरुका प्रति जनविश्वास बढेको छ । पार्टीका तर्फबाट उम्मेदबार बनेकाहरु अनेक बन्धनमा हुँदा रहेछन् र जनअपेक्षा अनुसार काम गर्न नसक्दा रहेछन् भन्ने आम मतदातामा परेको छ ।
गत साता काठमाण्डौंमा सम्पन्न इन्द्रजात्राको दृष्य सायद कसैका आँखाबाट हटेको छैन । जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाण्डौका मेयर बालेन्द्र शाह पुगेका थिए । आँखाबाट नहटेको दृष्य के हो भने भण्डारी र देउवासंग सुरक्षाकर्मी बाहेक देखिएनन् भने बालेनसंग हजारौं समर्थकको भिड थियो । मतदातामा बढदै गएको यो विश्वास र भरोषाले आगामी निर्वाचनमा समेत बालेन र हर्कहरुको उदय हुने सम्भावना निकै छ ।
यदि यसो भएमा दलका उम्मेदबारले पाउने मतभन्दा स्वतन्त्रले पाउने मत धेरै हुनेछ, अर्थात स्वतन्त्रहरु विजयी
हुनेछन् । र ठूला भनिएका दलहरुको हालत हुनेछ, “आठ हजारका राजा “ अनि स्वतन्त्रहरुको हैसियत ” १२ हजारका बानियाँ ।”
आठ हजारका राजा १२ हजारका बानियाँ
previous post