आइतबार विहान १०.३३ बजे काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरा अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गर्नु केही सकेण्ड अगाडी विमानस्थल नजिकै सेती नदीको खोँचमा दुर्घटना भयो । जहाजमा सवार ६८ यात्रु र चालक दलका चार सदस्य समेत गरी उक्त दुर्घटनामा ७२ जनाले ज्यान गुमाए । नेपालको उड्डयन इतिहासमा मानिसको ज्यान गएको हिसाबले तेस्रो ठूलो तथा आन्तरिक उडान तर्फको पहिलो ठूलो यो हवाई दुर्घटना अत्यन्त दुःखद रहेको छ ।
यस अघि २०४९ साउनमा नुवाकोट जिल्लाको घ्याङफेदीमा थाई एयरको विमान दुर्घटना हुँदा १ सय १३ जनाको ज्यान गएको थियो भने सोही वर्ष असोजमा ललितपुरको भट्टे डाँडामा भएको हवाई दुर्घटनामा १ सय ६७ जनाको ज्यान गएको थियो । र यस पटक ७२ जनाले ज्यान गुमाएका छन् । नेपालको उड्डयन इतिहासको ६७ वर्षमा अन्तर्राष्ट्रिय तथा आन्तरिक गरी १ सय ४ हवाई दुर्घटना भएका र ति दुर्घटनाका कारण ९१७ जनाको मृत्यु भएको तथ्याङ्क नागरिक उड्डयन प्राधिकरणसंग छ ।
हरेक जसो हवाई दुर्घटनापछि अध्ययनका लागि टोली बनाइन्छन् । तिनले निर्धारित समयमा प्रतिवेदन पनि दिन्छन् र अहिलेसम्मको अवस्था हेर्दा हरेकको प्रतिवेदन दुर्घटनामा मृत्यु भएका विमान चालकलाई दोष दिएर टुङ्गिएका छन् । यस पटक पनि छानविन समिति बनेको छ । तर केही यस्ता प्रश्नहरु छन्, जसको उत्तर समितिले खोज्नु अनिवार्य हुनेछ । काठमाण्डौंबाट आएको उक्त विमानलाई अवतरण गर्न सहज हुने धावनमार्ग ३० थियो र उक्त धावनमार्ग खाली भएकाले अवतरण अुनमती पनि पाएको थियो तर अचानक चालकले पश्चिम तर्फको धावनमार्गमा विमान अवतरण गर्ने अनुमति मागे । सहज धावनमार्ग प्रयोग गरेको भए समय बच्ने थियो र दुर्घटना टर्ने थियो भन्ने तर्क पनि आएका छन् ।
अन्तर्राष्ट्रिय हवाई उड्डयन प्राधिकरणले नेपाली आकाश असुरक्षित भएको भन्दै लगाएको प्रतिवन्ध फुकुवा हुने सम्भावना बढ्दै गएका बेला भएको आइतबारको दुर्घटनाले त्यो सम्भावना टारेको मात्र छैन नेपालको पर्यटन लगायत क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भएको छ । आशा गरौं, यस पटक सत्य बाहिर आउने छ र नेपाली आकाश सुरक्षित गराउने उपायको अवलम्बन गरिनेछ ।