दमौली/व्यास नगरपालिकाको आयोजनामा सहिद दिवसको अवसर पारेर आज अल्ट्रा म्याराथन सम्पन्न हुने भएको छ । व्यानपा वडां ५ मानहुँकोटबाट सुरु हुने म्याराथनमा देशभरका ७० धावक सहभागी हुने नगर पालिकाका आइटी अफिसर विशाल पण्डितले तनहुँ आवजलाई जानकारी गराए । व्यानपा–८ को पुलिमराङमा रहेको सहिद स्मारक पार्कमा पुगेर समापन हुने म्याराथन ४४ किमी दूरीको रहेको छ ।
व्यास नगर पालिकाले आयोजना गरेको यो तेस्रो म्याराथन हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने तथा सहिदहरुको समेत सम्मान गर्ने उद्देश्ले म्याराथनको आयोजना गरिएको नगर पालिकाले जनाएको छ ।
म्याराथनमा प्रथम हुने धावकले ८१ हजार ७६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ६१ हजार ७६ तथा तृतीय हुने धावकले ५१ हजार ७६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार राशीमा लाग्ने कर नगरपालिकाले व्यहोर्ने छ । यसैगरी सान्त्वना स्थान प्राप्त गर्ने ५ जनालाई जनही १६ हजार ७६ नगद पुरस्कार प्रदान गरिने समेत नपाले जनाएको छ ।
नपाले बुधाबार आफ्नो सभाकक्षमा धावकहरुलाई अभिमखिकरण गरेर म्याराथनका बारेमा सम्पूर्ण जानकारी गराएको थियो । साथै नपाले म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।