पुलिमराङ्ग/निर्धारित ४० किमी दूरी २ घण्टा ५९ मिनेटमा पार गरेर सुमन कुलुङ तेस्रो व्यासनगर अल्ट्रा म्याराथनमा प्रथम भएका छन् ।
सोलुखुम्बु, महाकुलुङ –५ का २८ वर्षिय कुलुङलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले ८१ हजार ७६ रुपैया नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरेका थिए । यसैगरी प्रतियोगितामा कालिकोट, रास्कोटका २३ वर्षिय देवराज महतरा सोही दूरी ३ घण्टा २ मिनेटमा पूरा गरेर द्वितीय भए भने भोजपुरका तिर्थ तामाङ ३ घण्टा ३ मिनेटमा दौड पूरा गरेर तृतीय हुन सफल भए उनीहरुले क्रमषः ६१ हजार ७६ र ५१ हजार ७६ रुपैयाँ नगद तथा प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा धादिङका पूर्ण तामाङले ३ घण्टा १८ मिनेट, भोजपुरका सरिन तामाङले ३ घण्टा १८ मिनेट ४० सेकेन्ड, रामेछापका गोपाल तामाङले ३ घण्टा २३ मिनेट, गोरखाका सयुङराज गुरुङले ३ घण्टा ३२ मिनेट र स्याङ्जाका निराजन गुरुङले ३ घण्टा ४४ मिनेटमा उक्त दुरि पार गरेर सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनिहरुलाई जनही १६ हजार ७६ रुपैयाँ नगद, प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
सहिद दिवसको दिन आयोजित म्याराथनले सहिदहरुको सम्मान गर्नुका साथै खेलकुदमार्फत व्यास नगरपालिकालाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा चिनाउन सकिने व्यास नगरपालिकाको विश्वास रहेको छ । म्याराथनले भ्रमण वर्ष २०२० लाई पनि सहयोग गर्ने विश्वास नपाको छ । नपाले विगत तीन वर्ष देखि वडा नं ५ को मानहुँकोट देखि वडा नं ८ को पुलिमराङसम्मको अल्ट्रा म्याराथन गर्दै आएको छ । ७२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावक म्याराथनमा सहभागी भएका थिए । यसैबीच नपाले नारी दिवसका अवसरमा महिलाहरु बीच दमौलीदेखि तनहुँसुरसम्मको हाफ मिनी म्याराथन प्रतियोगिता गर्ने तयारी गरेको सो अवसरमा जानकारी गराईएको थियो ।