
सन् १९८४ मा पहिलो पटक अफ्रिकी मुलका अमेरिकी नागरिकमा अमेरिकामा देखा परेको एचआइभी ÷एड्स, त्यसको चार वर्षमा सन् १९८८ मा नेपालमा देखा परेको थियो । पहिलो पटक देखा परेको चार दशक हुन लाग्दा यसका कारण धेरैको ज्यान गएको छ । र तिनै एचआइभी ÷एड्स संक्रमित भएका तथा यसका कारण ज्यान गुमाउन पुगेका संसारभरका नागरिकको सम्झनामा हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्वभर एडस् दिवस मनाउने गरिन्छ । उनीहरुको नाममा दीप प्रज्ज्वलन गरिन्छ । एचआइभी संक्रमित माथि हुने भेदभाव अन्त्यको लागि विश्व समुदायलाई आह्वान गरिन्छ ।
पहिले एचआइभी ÷एड्स के हो अनि कसरी सर्छ र कसरी सर्दैन भन्ने विषयमा संक्षेपमा चर्चा गरौं अनि थप विषयमा चर्चा गरौंला । एचआइभीको पुरा रूप हयुमन इम्युनो डिफिसियन्सी भाइरस (मानिसको रोग प्रतिरोध क्षमता ह्रास गराउने भाइरस हो । एचआइभी मानिसहरूमा रगत, विर्य र योनी रसको सम्पर्क तथा स्तनपानबाट सर्छ । एचआइभीले शरीरलाई कमजोर बनाउंछ र बिरामी हुने सम्भावना बढी हुन्छ । एचआइभी जटिल बन्दै गएपछि एडस हुन्छ । एचआइभी अथवा एड्स निको हुँदैन ।
एचआइभी संक्रमितसंग हात मिलाउँदाछुँदा, अङ्गालो मार्दा, कुरा गर्दा वा एउटै घरमा बस्दा, एउटै प्लेट, भाँडाकुँडा, गिलास वा रुमाल प्रयोग गर्दा, शौचालय, ढोकाको ह्याण्डल, टेलिफोन वा अन्य कुराहरू एउटै प्रयोग गर्दा, थुक, पसिना वा आँशु पर्दा, हाच्छिउ गर्दा वा खोक्दा र लामखुट्टेले टोक्दा एचआइभी सर्दैन । सुरुवाती दिनहरुमा यी सव क्रियाकलापले एचआइभी सर्छ भन्ने भ्रम रहँदा एचआइभी संक्रमितहरु सबैको छिःछि र दूरःदुरुको अवस्थामा रहन्थे । त्यसैले कुनै मानिस एचआइभी संक्रमित भए पनि आफु संक्रमित भएको बताउँदैनथ्यो ।
अब एचआइभी कसरी सर्छ भन्ने तर्फ लागौं । एचआइभी सर्ने सबैभन्दा बढी सम्भावना यौन सम्पर्कबाट हो । एचआइभी सङ्क्रमित व्यक्तिहरूसँग गरिने योनी वा गुदा(मलद्वार)मैथुनबाट एचआइभी सर्छ । यसका साथै रगतबाट पनि एचआइभी संक्रमण हुने गर्दछ । एचआइभी सङ्क्रमितको रगत अर्को व्यक्तिको रगतमा मिसिन गएमा, खुला घाउमा रगत पर्न गएमा, रगत लिँदा वा छालामा काट्ने वा घोच्ने एउटै उपकरण प्रयोग गरेमा, एचआइभी सर्छ । त्यसैले मेडिकल सुई, दाह्री काट्ने साधन, चक्कु, नाभी काट्ने चक्कु र टाटु वा कान छेड्ने सियो जस्ता वस्तुहरू एकजनाभन्दा बढीले प्रयोग गर्नुहुँदैन । एचआइभीे संक्रमित महिलाबाट गर्भवती अवस्थामा, जन्मको समयमा वा स्तनपान गराउँदा बच्चामा एचआइभी सर्छ ।

एचआइभी संक्रमण तथा एड्स हुनबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको सुरक्षित यौन सम्पर्क हो । सकेसम्म रगत लिनु पर्ने अवस्था नआओस् भनेर सचेत हुँदा पनि एचआइभी संक्रमणको खतराबाट बच्न सकिन्छ । यसका साथै एचआएभी संक्रमित महिलाले बच्चा नजन्माउने वा जन्माउनै पर्ने भए सुरक्षित जन्म अनि सुरक्षित स्तनपानको व्यवस्था गर्नुपर्ने हुन्छ । सुरक्षित यौन सम्पर्क भनेको यौन सम्पर्कका बेला कण्डमको सहि प्रयोग हो । एकातिर यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचित विचार भएकाले कण्डम किन्न पसलमा जाने वा स्वास्थ्य चोकी र अस्पतालमा निःशुल्क पाईने कण्डम लिन जान असजिलो मान्ने अवस्था हामी कहाँ छ । अर्काेतिर कण्डम प्रयोग नै गरेको खण्डमा पनि त्यसको सहि प्रयोग नहुँदा संक्रमणको जोखिमबाट बच्न सकेको अवस्था छैन ।
एचआइभी संक्रमण र यसको खतराबारे पर्याप्त जानकारी नहुँदा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरु फर्कंदा संक्रमित भएर फर्कने जोखिम छ । यसले अन्जान मै नेपाली महिलाहरु एचआइभी संक्रमणमा पर्ने गरेका छन् । यसरी एचआइभी संक्रमणमा परेकी आमाबाट जन्मेको बच्चा जन्मदाखेरी नै संक्रमित हुने जोखिम रहन्छ । हामीले धेरै त्यस्ता बच्चाहरु देखेका छौं, जो एचआएभी संक्रमित छन्, र सोही संक्रमणका कारण बाबु आमा दुबै गुमाएका छन् । तिनै बालबालिका अवहेलनाको शिकार हुनु परेको पनि हामीले देखेका छौं ।
त्यसैले अबको हाम्रो प्राथमिकता भनेका सुरक्षित यौन जीवन हो । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्नु पनि अबको आवश्यकता हो । पछिल्ला दिनहरुमा सुरक्षित यौन जीवन, प्रजनन स्वास्थ्य, एचआइभी÷एड्स तथा विभिन्न खाले यौन रोगका बारेमा विद्यालयमा समेत पढाइ हुन थालेकाले अबको पुस्ता यसबाट सचेत हुने र एचआइभीको संक्रमण घट्ने तथा यसबाट हुने मानविय क्षति कम हुने विश्वास गर्न सकिन्छ ।
एचआइभी÷एड्सका कुरा गर्दा संसार भरिनै तिन वटा शून्य अर्थात् थ्री जिरोको अवधारणा आजकल अत्यन्त चर्चामा छ । पहिलो शून्यले एचआइभी सङ्क्रमितको मृत्युदर शून्यमा झार्ने,दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दरलाई पनि शून्यमै झार्ने तथा तेस्रो सून्यले एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा लैजाने कटिबद्धता जनाउँदछ । सन् २०२३ को नाराले भने झै अब हामी समुदायले नेतृत्व गरेर थ्री जिरोको अवधारणालाई कार्यान्वयनमा लैजाने वातावरण निर्माण गरौं । विश्व एड्स दिवसको अवसरमा यसका कारण ज्यान गुमाएका तथा संक्रमणबाट गुज्रेकाहरु प्रति श्रद्धाञ्जली र समानुभूति ।