
जनप्रतिनिधि र सरकारको भ्रष्टाचार, करको दुरुपयोग, नातावाद, र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा जेन जेड युवाहरूले भाद्र २३ गते गरेको आन्दोलनले नेपालको राजनीतिक नेतृत्वमा ठूलो परिवर्तन ल्याएको छ ।
भाद्र २३ गते ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’ जस्ता नारासहित जेन जेडले आन्दोलन सुरु गर्यो । जेन जेडको विरोधको मुख्य कारण सरकारको भ्रष्टाचार, करको दुरुपयोग र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले युवाहरूलाई ‘आलोकाँचो’ भन्दै होच्याएका थिए र उनीहरूको माग सुन्न तयार थिएनन् । यसले आन्दोलनलाई थप उत्तेजित बनायो । आन्दोलनको पहिलो दिनमा नै प्रहरी दमनबाट १९ जना युवाले ज्यान गुमाए । तर पनि ओलीले आफ्नो अडान छोडेनन्, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन अस्वीकार गरे । त्यसपछि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दबाबमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए । अन्य मन्त्रीहरूले पनि राजीनामा दिन थाले ।
भाद्र २४ गते आन्दोलन थप हिंसात्मक भयो र प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्न थाले । यही दिन प्रधानमन्त्री ओलीले
राजीनामा दिए, तर यो धेरै ढिलो भइसकेको थियो । देशभरि आगजनी, लुटपाट र हिंसा फैलियो ।
आन्दोलनले पुराना नेताहरूको राजनीतिक अवसान गरायो । कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीका कार्यालय र नेताहरूको घरमा आक्रमण गरियो । आन्दोलनमा घुसपैठ भएको र यसलाई आपराधिक समूहले पनि दुरुपयोग गरेको देखियो । रवि लामिछाने जस्ता केही राजनीतिक व्यक्तिहरू कारागारबाट मुक्त भए, जसले नैतिकताको प्रश्न उठायो । आन्दोलनले देशलाई अराजकता र सरकारविहीनताको अवस्थामा पु¥याएको थियो । सरकार विहिनताको अवस्था हटेको छ तर शान्ति स्थापनाका लागि बहुपक्षिय पहल जरुरी छ । नभए देश लामो द्वन्द्वमा फस्नेछ ।
जेन जेडको आन्दोलनले नेपालको राजनीतिक प्रणालीमा विद्यमान भ्रष्टाचार र शासकीय अहंकारको विरुद्ध सशक्त आवाज उठायो, जसले सत्तामा ठूलो परिवर्तन ल्यायो । तर यस क्रममा भएको हिंसा र अराजकताले आन्दोलनको शुद्धतामाथि पनि प्रश्नचिन्ह खडा गरेको छ, र अब देशलाई सही दिशामा लैजाने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ । आन्दोलनका क्रान्तिकारी कुरा गर्ने अनि लुटपाटमा पनि त्यतिकै सक्रिय हुनेहरु पनि देखिए । यसले युवाहरु माथिको विश्वास धर्मराउन सक्छ । बेलैमा सचेत भएर देशलाई शान्ति, सुव्यवस्था र विकासको मार्गमा अगाडि लैजानु अबको मूल कार्यभार हो । यसमा हामीलाई सफलता मिलोस् ।