सन्दर्भ जेठ ७ गते विहानको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ५ बजेसम्मका लागि नेपालको संविधान धारा ७६(५) बमोजिमको सरकार गठन गर्न समयसीमा तोकेकी थिइन् । ६ गते बेलुका ८ बजे तिर सामान्यतया सरकार गठनका लागि तीन दिनको समय दिने प्रचलन विपरित २१ घण्टे समयावधी तोकेर राष्ट्रपति भण्डारीले दलहरुलाई निकै अप्ठ्यारोमा पारेकी थिईन् । राष्ट्रपति भण्डारीका त्यस पछिका व्यवहारहरु हेर्दा दलहरुले ओली विरुद्ध बहुमत सृजना गर्ने वातारण नवनोस् भन्नका लागि नै त्यसो गरेकी थिइन् भन्ने देखाएको छ । गर्विलो इतिहास बनाउने सोच भएको भए शायद भण्डारी, ओलीका हरेक नाजायज कामको साक्षी बन्ने थिइनन् । कमसेकम वर्तमानमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीमा राजनैतिक नैतिकता, प्रजातान्त्रिक आचरण, संविधानवाद तथा लोकलज्जाको को अपेक्षा गर्नु वालुवा पेलेर तेल आएन भनेर पिरोलिनु जस्तै हो । त्यसैले म यो आलेखमा उनीहरुका विषयमा थप चर्चा गर्न गइरहेको छैन । बरु अन्य दलका नेताहरुमा पनि पदका प्रतिको लोलुपता कति छ भन्ने विषयमा साथै मृत्यु पर्यन्त पदमा टाँसिइरहन खोज्ने नेतृत्व के आम नागरिकका लागि प्रितिकर अनुहार हो भनेर विमर्श गर्न गइरहेको छु ।
सत्ता सञ्चालनका सन्दर्भमा बर्तमान प्रधानमन्त्री ओली अप्रितिकर अनुहार हुन भन्ने कुरा त बैशाख २७ मा उनले संसद सदस्यहरुको विश्वासको मत पाउन नसकेबाट प्रमाणित भैसकेको छ । नभए तीन वर्ष अगाडी झण्डै दुइतिहाई सांसदको समर्थन सहित प्रधानमन्त्री बनेका ओलीको यती नमिठो वाहिर्गमन हुने थिएन । अहिलेलाई यतिमात्र भनौै थुप्रै अप्रितिकर कामका कारण ओली लोकप्रियताको ग्राफ खरायो गतिमा ओरालो लागको छ र रोकिने कुनै छाँटकाँट छैन् ।
मैले उठान गर्न खोजेको विषय भने ओलीको विकल्पमा सत्ताको साँचो जिम्मा लिन तम्सेका व्यक्तिहरुको अनुहार प्रितिकर छ त ? भन्ने हो । के उनिहरु नागरिकले भरोषा गर्ने लायकका छन् ? के उनीहरुको नाम सुन्दा वा सत्ता सम्हाल्न तम्सेका छन् भन्ने सुन्दैगर्दा आम नागरिकमा यसले त गर्छ है भन्ने विश्वास पैदा हुन्छ ? फेरी यतीहरुका नाममा हजारौं विघा जमिन कौडीको भाउमा जाने छैन, ओम्नी र शेरमहरुले महामारीका बेला औषधी आयातमा मनपरी गर्ने छैनन् भन्ने विश्वास नागरिकमा आएको छ ?
निर्मलाले न्याय पाउने छिन् । सनि खुन्नाहरुले न्यायको माग गर्दा ज्यान गुमाउनु पर्ने छैन । (निर्मलको न्यायका लागि भएको आन्दोलनमा ज्यान गुमाएका व्यक्ति), किसानले समयमा मल पाउने छन् । आम नागरिकले समयमै कोरोना विरुद्धको खोप लगाउन पाउने छन् । देशव्यापि बन्दाबन्दीले सांझ विहान हातमुख जोर्न समस्यामा परेका नागरिकले राहत पाउने छन् । अक्सिजनको अभावमा कुनै नागरिकले चाहे त्यो गरिब होस् अनि नेताहरुसम्म पहुँच नभएको नै किन नहोस् मृत्युवरण गर्नुपर्ने अवस्था आउने छैन । धनमायाँ गुरुङहरुले अस्पतालमा बेड नपाएर एम्बुलेन्समै प्राण त्याग गर्नुपर्ने छैन । अब बन्ने मन्त्रीले छिमेकी देशले निःशुल्क दिएको अक्सिजन सिलिण्डरमा आफुले किनेको भनेर आफ्नो नामको स्टीकर टाँस्ने छैनन् । अस्पतालमा बेड, आइसियू र भेण्टिलेटरको सट्टा आर्यघाटमा चिता अबको नेतृत्वले थप्ने छैन । अक्सिजन पर्याप्त बनाउनु साटो लास जलाउने दाउराको अभाव हुन नदिने घोषणा अबका सत्ताधारीहरुले गर्ने छैनन् ।
गोरे, गोकुल र भानुभक्तहरु कानुनको कठघरामा आउने छन् । प्रश्न गर्ने पेशा अंगालेकाहरुले राजु थापाले जस्तै प्रश्न गरेकै आधारमा जागिरबाट हात धुनु पर्ने छैन । नवराज विकहरुको नरसंहार रोकिने छ र उनको परिवारले न्याय पाउने छ । यी र यस्ता अन्य थुप्रै कुराहरुमा विश्वास अहिले अघि सरको नेतृत्वबाट के आम नागरिकले गरेका छन् ?
विषयान्तर हुन लाग्यो भन्ने पाठकलाई लागको होला । म अव विषमा आउँदैछु । र फेरी जेठ ७ गते विहान तर्फ फर्कन चाहन्छु । सांझ ५ बजेसम्म बहुमत सांसदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष जानु पर्ने भएकोले सबैखाले नेताहरु दौडधुपमा थिए । गगन थापा, रामकुमारी झाँक्री लगाएतका केही युवा नेताहरु यो समयलार्ई युवा पुस्तामा नेतृत्व हस्तान्तरणको अवसरको रुपमा परिणत गर्न सकिन्छ कि भनेर प्रयत्न गर्ने तर्फ लागे । माथि नै भनियो, चाहे जुनसुकै पार्टीको किन नहोस्, हाम्रो नेतृत्व आर्यघाटमा पुग्दासम्म पनि कुर्सीमै टाँसिएर रहन चाहन्छ । अवस्था त्यस्तै बन्यो । कांग्रेस, माओवादी, एमालेको माधव–झलनाथ समूह, जसपा कुनै पनि दलका नेता युवालाई सत्ता दिन तयार भएनन् ।
एमालेका झलनाथ–माधव समूहका युवा नेता योगेश भट्टराई माधव नेपाललाई प्रधानमन्त्रीमा बनाउने प्रस्ताव लिएर आए । अनि कांग्रेस नेताहरु आफ्नै सभापति शेरबहादुर देउवाको नाम लिएर प्रस्ताव गर्न आए । एमाले झलनाथ–माधव समूहको दाव थियो, माधवलाई प्रधानमन्त्री प्रस्ताव गर्दा ओली समूहका अरु थप सांसदहरु तान्न सकिन्छ । अनि कांग्रेसको दावा थियो, माओवादी तथा जसपालाई फकाउन शेरबहादुरको नाम अगाडि सार्दा सजिलो हुन्छ । आ–आफ्नो दावामा गलफत्ती गर्ने बेला थिएन । र चार पटक प्रधानमन्त्री भैसकेका र ज्योतिषीले अझै तीन पटक प्रधानमन्त्री बन्छौ भनेका शेरबहादुर प्रधानमन्त्रीका रुपमा अगाडि सारिए । तर पाँचांै पटक प्रधानमन्त्री बन्ने साईत देउवालाई जुरेको रहेनछ ।
सबै समस्याको हल एक साथ जादुको भरमा हुने होइन । तर के शेरबहादुरले ओलीले भन्दा राम्रो गर्न सक्छन् ? भन्ने हो । केही कुरामा अवश्य ओलीले भन्दा देउवाले सकारात्मक परिवर्तन ल्याउन सक्छन् तर देउवाको ५० को दशकको इतिहासलाई हेर्नेहरु समग्र प्रणालीगत सुधारमा चासो राख्लान र जनअपेक्षा अनुकुल काम गर्लान भन्ने कुरामा विश्वास जाग्न सकेको छैन । छुद्रता र अहंकार ओलीमा भन्दा कम पक्कै छ तर आसेपासेहरुको हितमा रमाउने बानीका कारण देउवाको नाममा उत्साह छैन । त्यसो त माधवको नाममा पनि थिएन । समग्रमा भन्नुपर्दा अप्रितिकर अनुहारहरुको पुनरावृत्तिले आम नागरिकमा उत्साह थप्न सकेको छैन । प्रितिकर लाग्ने र भरोषा योग्य अनुहारको खोजी अब चाँडै गर्नुपर्ने भएको छ ।
अप्रितिकर अनुहार
previous post