शिक्षक वर्ग अभिभावक वर्गले आफ्नो विद्यार्थी तथा छोराछोरीबाट अँ त नी बुझेँ, ल ल बुझेँको जवाफ पाउँदा कुरा बुझेको अँ त नी हो वा कुरा टारेको अँ त नी हो खुट्टयाउन सक्नुपर्छ । यो अँ त नी भनेर टार्ने रोग फेरी दीर्घकालीन रोग रहेछ, एक पटक लाग्यो भने बल्झिरहने ।
“हेल्लो”
“व्यूँझिस् ?”
“अँ, विहानै फोन गर्नु भयो त ! किन हो ? केही काम थियो कि ?”
“हिजो आमाले फोन गर्नु
भाथ्यो । हिजो पनि ढिलो आइस रे त घर ? के हो तेरो
चाला ?”
“अँ त नी हिजो त्यस्तै भयो ।”
“सँधै यसरी कहाँ
हुन्छ ? …………….. ।”
यस्तै यस्तै कुराहरु भनेर केहीबेर दाइले फोन मार्फत नै सम्झाउनु भयो । एकाविहानै दाइको खप्काई खाइसकेपछि सिरक भित्रै गुटमुटिएर केही बेर गम्न थालें । मस्तिष्क भरी मेरो विगत फनफनी घुम्न थाल्यो । हिसाब गरें, अँ त नी यो पटक यस्तै भयो, भनेर कति पटक मैले दाइलाई , आमालाई, बुबालाई बहाना बनाएँ । जाडोले हो या विगतका हिसाब किताबले हो आङ जिरिङ्ग भयो । आफुले गरेको बहानवाजीको पश्चातापमा आत्मग्लानी पनि भयो । मनमनै अबदेखि यो अँ त नी यस्तै भयो भन्ने बहाना कहिल्यै नगर्ने प्रण गरें । भलै मनले भने मैले गरेको प्रणलाई विश्वास गर्न मानिरहेका थिएन । ट्रिङ ट्रिङ । ट्रिङ ट्रिङ । फोनको घण्टीले निन्द्रा खुल्यो । अहो सपना पो देखेको रहेछु । यस्सो मोबाइल तर्फ आँखा लगाएँ । दाइले विदेशबाट फोन गर्नु भएको रहेछ ।
“हेल्लो”
“हेल्लो, कान्छा व्युँझिस् ?”
“अँ दाइ व्युँझिएँ, साँच्चिकै व्युँझिएँ ।”
सहरतिर बिहे भोज भतेरमा खानको जिम्मा प्रायः क्याटरिङ सर्भिसलाई दिने चलन भएपनि गाउँ घर तिर आफ्नै घर छिमेक र गाउँले मिलेर खाना बनाउने चलन अझै पनि यथावत नै छ । समय र स्थान उल्लेख नगरौं होला, वितेका कालखण्डमा पङ्तिकारलाई पनि कुनै भोजमा भान्सा हेरिदिने जिम्मेबारी आईप–यो । मैले आवश्यक सर समानको लिस्ट बनाएँ र कुन कुन समान अलिक धेरै मात्रामा ल्याउनु पर्ने भनेर घरबेटीलाई सम्झाएँ । भोजको दिनमा पहिलो चरणका पाहुनाहरुलाई राम्रैसंग सेवा गरियो । दोस्रो चरणका पाहुनाहरुलाई खाना बनाउने क्रममा भान्सेहरु सामान अपुग भएको गुनासो गर्न थाले । मैले घरबेटीसंग सोधखोज गरें । भएछ के भने मैले बढाएर ल्याउनु भनेको सामाजको मात्रा नबढाइकनै ल्याइएछ । मैले गुनासो गरें । उनले सहज तरिकाले उत्तर दिए, अँ त नी अलि बढाउनु पर्ने रैछ । मिलाएर काम चलाउँ न । कति ल्याउन पठाउँ त ?
अँ त नी नेपाली मातृभाषीहरुले प्रायः प्रयोग गरिरहने वाक्यांश हो । अँ, त, नी तीनवटा निपातको संयोजनबाट बन्छ, अँ त नी भन्ने वाक्यांश । अँ त नी, अँ त नी है, हो र ? अँ त नी बाई, यसरी विभिन्न तरिकाले प्रयोग गरिन्छ, अँ त नीकोे । कहिले आश्चर्य जनाउन, किहले सहज बहाना बनाउन, कहिले सहमति जनाउन । यस्तै यस्तै उद्देश्यले । मैले यहाँ प्रसंग उठान गर्न खोजेको चाहिँ हामीले सहज बहाना बनाउन र आफ्नो गल्ती ढाकछोप गर्न प्रयोग गर्ने अँ त नी को हो ।
हामीबाट गल्ती भै हाल्यो, हामी त्यसको बारेमा धेरै खुल्न चाहन्नौं भने हामीले बनाउने सहज बहाना हो, अँ त नी । छोराछोरी घर अबेर गरी आए । आमा बुबाले सोधखोज गर्नुभयो । अँ त नी आज ढिला भयो । अबदेखि ढिलो गर्दिन । कुरा सकियो । प्रेमी–प्रमिकामा चर्काचर्की भयो । दुइचार दिन बोलचाल बन्द । अर्काे दिन फोन ग–यो, एउटाले गुनासो गर्छ, अर्काेले अँ त नी यसपटक यस्तै भयो अब त्यस्तो गर्दिन, भन्यो । कुरा मिलि हाल्यो । परीक्षामा नम्बर कम आयो, शिक्षकले विद्यार्थीलाई प्रश्न गर्छ । अँ त नी सर पढेको त हो खै के भएछ कुन्नी, अर्काे पटक कोशिस गर्छु । सिकाई उपलब्धी कम भयो भनेर अभिभावक गुनासो गर्नुहुन्छ । अँ त नी, राम्रै गर्लान जस्तो लागेको थियो, के भएछ ? शिक्षकको सहज उत्तर । नम्र तरिकाले अँ त नी को प्रयोग गर्दा फाट्न लागेका, बिग्रन आँटेका कयौं सम्बन्धहरु पनि सुध्रन्छन् तर यदि हामी प्रत्येक पटक आफ्नो गल्तीबाट उम्कने सहज बहानाको रुपमा प्रयोग गर्छाैं भने त्यसले सबैभन्दा ठूलो घाटा हामी स्वयमलाई नै हुन्छ । किनभने अँ त नी यस्तै भयो भनेर हामी अरु कसैलाई होइन आफैलाई ढाँटी रहेका हुन्छौं । हरेक पटक अँ त नी भनेर पन्छिने बानीले आफु प्रतिको अरुको विश्वास गुमाइरहेका हुन्छौं ।
विशेष गरि किशोर अवस्था र युवावस्थाका ब्यक्तिहरुलाई समस्याले सताउने गर्छ भलै अन्य उमेर समुहका ब्यक्तिहरुलाई पनि नसताउने भनेहैन । प्राकृतिक रुपमै किशोरअवस्था र लाग्दो युवावस्थामा ब्यक्तिहरुको माानसिकता अर्ध परिपक्व हुन्छ । त्यसैले गर्दा गल्तीहरु हुने सम्भावना पनि बढि हुन्छ । तर उनीहरुलाई आफुभन्दा अग्रजको नजरमा झुक्न र गल्ती स्वीकार्न कति सहज लाग्दैन । उनीहरु बहस गर्न पनि रुचाउदैनन् । त्यसैले भनिदिन्छन्, अँ त नी बुझें ल ल एकपटकलाई भै हाल्यो, अब त्यस्तो गर्दिन् । त्यसैले शिक्षक वर्ग अभिभावक वर्गले आफ्नो विद्यार्थी तथा छोराछोरीबाट अँ त नी बुझेँ, ल ल बुझेँको जवाफ पाउँदा कुरा बुझेको अँ त नी हो वा कुरा टारेको अँ त नी हो खुट्टयाउन सक्नुपर्छ । यो अँ त नी भनेर टार्ने रोग फेरी दीर्घकालीन रोग रहेछ, एक पटक लाग्यो भने बल्झिरहने ।
भोलीवाद र अँ त नी यी दुवै एकै कुलको हुनुपर्छ , जस्तो लाग्छ । रगतको नभए कमसेकम मितेरी साइनो त पक्कै छ । किनभने जसरी भोली भोली भन्ने मान्छेको जीवन भोली नै नआई समाप्त हुन्छ, त्यसरी नै अँ त नी , अँ त नी भन्ने मान्छेको जीवन प्रगति विनै समाप्त हुन्छ । भैरव दाजुले उहिल्यै भन्नु भाथ्यो, भोली भोली भन्दा भन्दै आगो लागको एक महिना पछि भोली नै निभाउनु भन्ने आदेश आउँदासम्म गाउँ डढेर सखाप भैसक्याथ्यो रे ! त्यस्तै अँ त नी एक पटकलाई यस्तै भएछ भनेर अँ त नीको साहार लिने मान्छे जिन्दगिको उत्तरार्धमा पनि अँ त नी जिन्दगी त त्यस्तै वितेछ, थाहै नपाई, भनिरहनु सक्छ । भोलीवाद र अँ त नी यी दुवै मानिसको प्रगतिका बाधक हुन् ।
नेपाली जनजिब्रोमा यति प्रिय अँ त नीलाई त्यसै छोडि दिने त अब ? यस्को प्रयोग नै नगर्ने त ? कि शब्दकोश बाटै हटाउने हो ? मानिसको प्रगतिमै बाधक बन्ने अँ त नीलाई कि सम्हाली राख्नु त ? समस्याको समाधान पक्कै यो होइन । समाधान के चाहिँ हो भने हामीले अँ त नीको सहारा लिन छोड्नु पर्छ । प्रथमतः हामी सचेत नै हुनुपर्छ ताकी हामीबाट गल्ती नहोस् । गल्ती भैहालेछ यदि भने पनि अँ त नी यस्तै भएछ, अँ त नी भै हाल्यो के गर्नु भनेर टार्नु भन्दा गल्तीबाट पाठ सिक्न सक्नुपर्छ । अँ त नी भनेर आलटाल गर्ने तरल बानीलाई अँ हो भनेर ठोस बनाउन सक्नुपर्छ । तब मात्र हामी आफ्नो उद्देश्यमा पुग्न सक्छौं । सफल हुन सक्छौं ।
पङ्तिकार न कुनै दार्शनिक हो, न कुनै अध्येता , न कुनै अनुसन्धानकर्ता , न त कुनै परिपक्व व्यक्ति । पङ्तिकार स्वयम अँ त नी रोगसंग लडिरहेको एउटा रोगी हो । त्यस कारण मैले माथि उल्लेख गरेको प्रसंग, तर्क पाठक वर्गले आशा गर्नु भए जस्तो माथिल्लो स्तरको नहोला । र पनि यदि कुरा जायज वस्तो लाग्यो भने आजैबाट मनन गरेर व्यवहारमा लागू गर्ने प्रयास गरौं । फरी यही सोचेर मात्र नबसौं, “अँ त नी कुरो त ठिकै हो क्यारे । ”