कामको सिलसिलामा एउटा गाउँमा पुगें, जहाँ म विद्यालयमा शिक्षण गर्न गएकी थिए । यातायातको साधन पर्याप्त नपाइने, आउन जान समस्या हुने, त्यसैले उक्त ठाउँमा नै बस्नुपर्ने भयो । कोठाको व्यवस्था मिलाएँ । नयाँ ठाउँ नयाँ रहन सहन भएता पनि म छिट्टै त्यस ठाउँको वातावरणमा घुलमिल हुँदै गएँ । छिट्टै रमाउन थालें । म महिला, त्यसमाथि गाउँमा गएर कोठा भाडामा लिएर बस्न थालेको कुरा गाउँ, टोल र छिमेकमा चर्चा परिचर्चा हुन थाल्यो । गाउँका मानिसहरु कुनै न कुनै बहानामा मसंग नजिक हुने प्रयास गर्दथे । फोन नं माग्ने र साँझमा फोन गर्ने गर्दथे । म पनि मानिसको आचरण र बोल्ने शैलीको लेखाजोखा गरी बोल्ने या तर्कने गर्दथें ।
गाउँमा नजिकै खोला भएपनि पिउने पानीको निकै समस्या रहेछ । स्कुलबाट फर्केपछिको मुख्यकाम भनेको पानीको जोहो गर्नुहुन्थ्यो । झोलामा प्लाष्टिकका बोतलहरु राखी पानीको खोजीमा निस्क्यो, अनि घण्टौं पर्खेर पानीका बोतल भरेर ल्याउनु थियो । कुवा नजिकै एउटा घर थियो । कुवामा पानी भर्न पर्खने क्रममा संयोगले उक्त घरकी महिलासंग भेट भयो । नमा बताउन लजाउने उनको बोली पनि प्रष्ट बुझिँदैनथ्यो । निकै टिठ लाग्दो उनको शारिरीक अवस्था देखेर मैले उनका विषयमा अलि चासो राखेर केही कुरा सोध्ने जमर्काे गरें । कति वर्षकी हुनु भयो ? घरमा को को हुनुहुन्छ ? विवाहित भएकिले माइती कहाँ हो ? आदि इत्यादी । उनले आफ्नो उमेर त्यस्तै १५÷१६ वर्ष बताइन । पढाइको बारेमा सोध्दा उनको उत्तर थियो, आफुलाई चाहिने जति पढेकी छु । चाहिने जति भनेको कति भनेर कर गर्दा बल्ल खुलिन र भनिन्, चार कक्षामा २ पटक फेल भएको तर कक्षा ५ मा पढ्न थालेको तर घरमा आमा नहुँदा धेरै काम गर्नुपर्ने भएकाले स्कुल जानै छाडें । कुराकानीकै क्रममा जति काम गरेपनि सौतेनी आमाले गाली गरिरहने भएकाले दिक्क भएर बिहे गरेको बताईन । मैले सोधें बिहेपछि त गाली खानु परेको छैन होला नी ? जवाफमा उनका गह भरिएर आए र भक्कानिदै भन्न थालिन्ः मलाई त कहिल्यै रात नपरे हुन्थ्यो जस्तो लाग्छ । रात परेपछि सधै श्रीमान्ले पिट्न थाल्छन् । काखमा दूधे बालक भएकि उनको दैनिकी रहेछ, रक्सी खाएर आएका श्रीमानको कुटाई खानु । दिनभर डुलेर साँझ रक्सी खाएर आउनु, बाबु आमासंग झगडा गर्नु अनि श्रीमती कुछ्नु उनका लोग्नेको दैनन्दिनी रहेछ । घरका अरु सदस्य पनि उनैको कमजोरी देखाएर उनलाई पिट्न उक्साउने गर्दा रहेछन् । बुहारी छाडा हुनु हुँदैन, छोराको कब्जामा बस्नपर्छ रे ! रक्सी किन पिउनु हुन्छ ? घरमा खाने अन्न छैन भनेर उनले सम्झाउन खोज्दा उल्टै तेरो बाउको कमाई खाएको छु र ? तेरो बाबुले के दियो भन्ने जस्ता जवाफ लगाएर हातपात गर्ने अनि हातपात गरेको कुरा आफुजस्तैसंग गरेमा उनलाई छोडिदिने धम्की समेत दिने रहेछन्, श्रीमान्ले । उनका अनुसार श्रीमानको अर्कै केटीसंग उठवस पनि छ रे !
सानै उमेर जानेर विवाह गरेता पनि विवाह पश्चात उक्त कुरा बिर्सेर सबै कुरामा विज्ञता हासिल गरी सबैको मर्यादा राख्नु पर्दछ ,एउटी बुहारीले । यो त भयो, अशिक्षा र गरिबीले जकडिएको ग्रामिण समाजको एउटा प्रतिनिधी घटनाक्रमको स्थिती । ग्रामिण भेगमा हरेक घरमा यस्ता समस्या रहेका द्धछन् । जाउन् उनीहरु कहाँ ? उनीहरुको पिडमा क्रन्दन सुनिदिने कसले ? अनि यो नारकिय जीवनबाट मुक्ति पाउने कसरी ?
ग्रामिण समाजमा, सहरमा गरिने महिला हिंसा विरुद्धका कार्यक्रमहरु, गोष्ठी, सेमिनार आदिको कुनै अर्थ रहँदैन । अर्थ त्यो बेला रहन्छ, जुन दिनभर डुलिहिँड्ने बेरोजगार युवाहरुलाई कठालोमा समातेर कामका लगाइन्छ । परिवार प्रतिको जिम्मेवारी बोध उक्त युवामा परोस् । शिक्षालयमा पनि लैङ्गिक हिंसा विभेदका विषयमा थप बहस गरी पठ्क्रममा समेत समावेश हुनु जरुरी छ । हिंसामा कोही नपरुन, सबैले आफ्ना समस्या फुकाउन सकुन । शिक्षालय शिक्षालय जस्तो बनोस्, अनाथालय जस्तो नबानोस् । अनि समाजमा हिंसा गर्न नहुने र सहनपनि नहुने रहेछ भन्ने सन्देश छाओस् ।
शहरमा झट्ट हेर्दा हरेक क्षेत्रमा महिलाहरु पुरुष जत्तिकै अगाडि बढिरहेका छन् । अहिले कार्यालयहरुमा पनि महिला कर्मचारीको संख्या बढिरहेको छ । त्यस्तै विद्यालय, खेलकुद, अस्पताल, पत्रकारिता, सवारी चालक, व्यापार, प्रहरी तथा लेखन जस्ता हरेक क्षेत्रमा महिलाको पहूँच बढेको देखिन्छ । महिलाको इतिहास हेर्दा हरेक क्षेत्रमा महिलाहरु सक्षम देखिन्छन् । तर जुन प्रकारले परम्परागत रुपमा सामाजिक संरचनाको विकास भएको छ, त्यस संरचनालाई पनि बदल्नु आवश्यक छ ।
पहिले–पहिले महिला र पुरुषको कामलाई वर्गिकरण गरिन्थ्यो । पुरुष घर बाहिर कमाउन जाने र महिलासंग स–साना बालबच्चा हुने भएकाले तिनै बालबच्चाको स्याहार गर्ने र घरको काममा मात्र सिमिछ हुनुपर्छ भन्ने मान्यतालाई आधुनिक समाजले धकेल्दै लगेको त छ तर अझैपनि हाम्रो सामाजिक संरचना महिला मैत्री छैन । केही उदाहरणलाई छोडेर हेर्ने हो भने हरेक घरको कथा यही हो । चाहे परीक्षा होस्, चाहे बिरामी नै किन नहोस् घर गृहस्थीका साथै बालबच्चाको ख्याल राख्ने जिम्मेबारी महिलाको मात्रै छ । तर घरको हरेक निर्णय बुबाको मात्रै छ । जे जस्तो होस्, घरको मूख्य मानिस भनेको बाबु नै हो, त्यसैले बाबुले गरेको निर्णयलाई सर्वाेपरी ठान्नुपर्ने अवस्था छ । महिला( आमा ) बोल्न सक्ने छ भने आमाको निर्णयलाई स्वीकार गरिहाले र काम राम्रो भयो भने मौन रहन्छन् । तर जस भने दिँदैनन् । अनि कमजोरी खोज्न थाल्दछन् । काम राम्रो भएन भने त्यसको अपजस आमाले लिनुपर्ने खानुपर्ने हुन्छ । काम विग्रँदाको अपजस महिलाको इज्जत र अस्तित्वसंग जोडिएको हुन्छ । नारी कोमल मनकी हुन्छिन्, नारीलाई स–साना कुराले सम्बेदनशिल बनाउँछ । पुरुषले त्यही मौका पर्खी आफु अनुकुल हैकम चलाउँछ । नारी धर्म, संस्कृति, लोक, परम्परा सम्झेर मौन रहन्छिन् । पुरुष हैकमलाई (कानुन) धर्म सम्झेर पालना गर्दछिन् ।
विभिन्न सामाजिक सञ्जालले विश्वलाई एउटा कोठामा सिमित गरेको अहिलेको युगमा अझैपनि महिलालाई विभिन्न बहानामा (सञ्जालको प्रयोग)आफ्नो इच्छा अनुसार चलाउने । चल्न नमानेमा सञ्जालका माध्यमबाट तरित्र हत्या गरेरै भएपनि पुरुष आफु गर्व गर्दछन् । त्यसलाई आफ्नो कर्तव्य सम्झन्छन् । आफुलाई सेवा गर्न विभिन्न धर्मशास्त्रका पत्र खोतल्ने पुरुष यतिबेला भने नारीको चरित्र हत्यालाई पुण्य ठान्दछ । नारीको रक्षा गनुृको सट्टा, इज्जत गर्नुका सट्टा सारा दोष नारीमाथी खन्याएर आफु पानी माथिको ओभानो बन्दछ । एउटा विवाहित पुरुष घरमा श्रीमतीको सेवाबाट कहिल्यै अघाउँदैन । जति गरेता पनि सेवा कमै हुन्छ । कुनै न कुनै खोट देखाइरहन्छ । त्यही पुरुष घरबाहिर रहेका विवाहित वा अविवाहित स्त्रीलाई जिस्क्याउन उद्धत रहन्छ । स्त्रीलाई जिस्क्याउनु पुरुषको विशेषता हो, भन्दछ । त्यही पुरुष भन्दछ, नारी सचेत हुनुपर्दछ अनि त्यहि पुरुष भन्छ, नारीहरु स्वतन्त्रताका नाममा छाडा भए । फेरी त्यही पुरुष भन्दछ, कानुनले नारीहरुलाई छाडा बनायो । सदियौं देखि घर्ममा, परम्पराका नाममा गरेका अपमानपूर्ण व्यवहार नारीले कसरी सहन सकेका छन् भन्नेकुरा अहिले पनि पुरुषले बुझ्न सकेका छैनन् ।
शास्त्रले भन्दछ, नारी देवी हुन् । नारीलाई खुसी पार्नसके लक्ष्मी खुसी हुन्छिन् । धन धान्यले पूर्ण हुन्छ । नारीलाई पुज्नु पर्दछ । तर तिनै देवी मानेर पुजिएकी नारीलाई आफ्नो दाजुभाइले खाएको जुठो भाँडा नमाझ्दा आफ्नै दाजुभाईले शील स्वभाव नभएकी ठाडे आदि जस्ता शब्द प्रयोग गरी नारीका मनमा ठेस पु–याउँछन् । भारी मन लिएर चुपचाप जुठा भाँडा माझ्न विवश पारिन्छ, भने पुरुष भएकै थालमा चुठेर छोरी बुहारी बहिनीको टिका टिप्पणी गर्न थाल्दछ । अन्त्यमा अनकौं माध्यमबाट महिला स–शक्तिकरणका आवाज उठिरहेको बेला आजको २१ औ शताब्दीका महिलाहरुले उही हिँजोका रितीथिती अंगाल्दै मानसिक रुपमा प्रताडित भइ विवशताको देखावटी हाँसो देखाइ बाँचिरहेछन् भने अर्काे आफु सरहको महिलाले नै आफुभन्दा सक्षम देखेपछि र स्वस्थ प्रतिस्पर्धा गर्न नसके महिलाके अधिकार महिलाले नै हनन् गर्ने गरेको पाइन्छ । अनावश्यक चियो चर्चाे गर्ने, बेतुकका टिका टिप्पणी गर्ने गरिन्छ । कोसंग कतिबेर बोलेको भन्ने देखि कहाँ कहाँ गइ भन्ने सम्मको कान फुक्ने प्रवृत्तिले पनि प्रताडित बनाएकै छ । महिलालाई पुरुष सहारा चाहिन्छ भन्ने मानसिकताले हिंसा सहिरहन्छन् । हिजोको बहुविवाह प्रथा, सती प्रथामा हिंसा सहेर मात्र नभई लोग्नैसंगै जिउँदै जल्नुपर्ने बाध्यता थियो । आज सती प्रथा हटेको छ । बहुविवाह प्रथालाई पनि कानुनले केही कडाई गरेको छ तर श्रीमान्संगै शरिर नजलेपनि मन पहिले नै जलाएर कठपुतली या डोमी भएर बाँच्नुपर्ने अवस्था रहेको छ । यो अवस्था कहिले सम्म ?