मंगलबार अक्टोबर १५ मा विश्वभर विश्व हात धुने दिवस मनाइयो । सन् २००८ बाट मनाउन थालिएको यो दिवसको कार्यक्रम यो सत्रौं पटकको हो । यो दिवसको अवसर पारेर संसारभर सहि तरिकाले हात कसरी धुने ? , हात धुनु किन जरुरी छ ? भन्ने विषयमा आम मानिसलाई जानकारी गराइन्छ । तर विडम्बना सहि तरिकाले हात धुन नजान्दा वा हात नधुँदा वर्षेनी लाखौं मानिस झाडा पखाला, आऊँ, हैजा जस्ता रोगको शिकार भएका छन् र कतिपयले त मृत्युवरण समेत गरेका छन् । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला हो र झाडापखाला लाग्नुको प्रमुख कारण बालबालिकाले आफै राम्रोसंग हात नधुनु त हुँदै हो, उसको स्याहार सुसार गर्ने अभिभावकले राम्रोसंग हात नधोएका कारण पनि उनीहरु झाडापखालोको शिकार हुन पुग्दछन् । यसरी भविष्यका कर्णधार भनिने बालबालिकाले आफ्नोभन्दा बढी आमाबुबा वा आफुलाई स्याहार गर्ने मानिसको असावधानीका कारण ज्यान गुमाएका छन् ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मिचिमिचि धुन जरुरी छ । विश्व स्वास्थ्य संगठन भन्छ, शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरूलाई भेट्नु अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि राम्ररी साबुन पानीले हात धुनु पर्छ ।
सफा हात किन जरुरी छ ? भन्न नाराका साथ मनाइएको यो वर्षको हात धुने दिवसको अवसरमा पानीले भिजाएको हातमा साबुन दलेर २० सेकेण्डसम्म मिच्ने, हातको पछाडी, औंलाका काप र नारीसम्म मिच्ने, हात धुँदा हातमा लगाएका औंठी तथा घडी खोलेर धुने तथा हात धोइसकेपछि सफा कपडाले पुछ्ने र सम्भव भए सुकाउने बानीको विकास होस् भन्ने कामना गर्दछौं । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या सङ्क्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको सङ्क्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु उत्तम उपाप हो । आउनुहोस्, हामी पनि सहि तरिकाले हात धुने बानी पारौं र अरुलाई पनि सहि तरिकाले हात धुन र विभिन्न खालका रोगबाट बच्न प्रेरित गरौं ।
हात धुने कुरा- सम्पादकीय
previous post