दमौली र तनहुँका स्थायी शिक्षकहरुले आफ्नो पेशागत संरक्षणका लागि स्थायी शिक्षक हकहित मञ्च गठन गरेका छन् । शुक्रबार दमौलीमा भएको भेला भएका स्थायी शिक्षकहरुले विश्ववन्धु वाग्लेको नेतृत्वमा मञ्च गठन गरेका हुन् । भेलाले संघिय प्रतिनिधि समेत छनौट गरेको विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष समेत रहेका सुदिप आचार्यले बताए ।
आचार्यका अनुसार ११ सदस्य रहेको जिल्ला कार्य समितिका सदस्यहरुमा गोकुल थापा, रुपा घिमिरे, विनोद पौडेल, सुरेन्द्र देवकोटा, विपना सुनार, सपना थापा, सन्जिव श्रेष्ठ, जमुना देवी अधिकारी, नारायणप्रसाद खनाल र चीनबहादुर रानाभाट रहेका छन् । यसैगरी संघिय प्रतिनिधिहरुमा मनु सापकोटा, विद्या न्यौपाने, विजय रानाभाट, पिताम्बर सिग्देल, विमल सिग्देल, सुदिप आचार्य, दया कट्टेल, महेश भट्टराई, रमेशबाबु भट्टराई र सुशिल नराल रहेका छन् ।
भेलाले तत्काल उठाउने मागहरुको सूचिपनि निर्माण गरेको छ । ति मागहरु मा बढुवालाई श्रेणीगत नभई तहगत बनाउनु पर्ने, बढुवामा हाल कायम ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कन र २५ प्रतिशत खुल्ला प्रतियोगितालाई परिमार्जन गरी २५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा र ७५ प्रतिशत खुल्ला प्रणालीबाट हुनु पर्ने तथा शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनु पर्ने लगाएतका रहेका छन् । यसका साथै शिक्षकको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, शिक्षकहरुको सहज र सरल उपचारका लागि शिक्षक अस्पतालको व्यवस्था हुनपर्ने, हाल आन्तरिक परीक्षाको नतिजाबाट नियुक्तिको लागि छानौट नभएका शिक्षकहरुलाई सरकारले दिने भनेको सेवा सुविधा दिएर मात्र अवकास दिनु पर्ने समेत उल्लेख छ ।
समितिको मुख्य सरोकार भने आन्तरिक प्रतियोगिताबाट स्थायी भएका शिक्षकको बढुवा आफुहरुको भन्दा पहिले हुने र आफुहरुको सेवा अवधिभर बढुवा हुन नपाउने कुरामा रहेको छ । निर्णयको छैटौं नम्वरमा सोही चिन्ता प्रकट भएको छ । उक्त निर्णयमा भनिएको छ एक पटक अस्थायी सेवा गरे वापत आन्तरिक परीक्षाबाट स्थाइ भएको शिक्षकले बढुवाको लागि पुनः अस्थायी सेवा जोडी बढुवा हुने प्रवाधान हटाउनु पर्ने ।