साउथ एशियन गेम (साग) को तेह्रौं संस्करणको समापन भएको भरखरै एक हप्ता वितेको छ । अत्यन्तै भव्यताका साथ उद्घाटन र त्यतिनै भव्यवताका साथ समापन समारोह आयोजना गरी आयोजकको रुपमा नेपालले आफूलाई सफल सावित गरेको छ । आयोजनाको दृष्टिकोणबाट मात्र नभई पदक संख्याको हिसाबले पनि हालसम्मकै सर्वाधिक ५१ स्वर्ण सहित आफूलाई अब्बल सावित गरेको छ । जबकी नेपालको लक्ष्य ५० स्वर्ण थियो । खेल संख्या र जितेको पदकको हिसाब लगाउँदा विगतको तुलनामा कम देखिए पनि तेह्रौं सागको स फलताले अन्तराष्ट्रिय खेल जगतमा नेपालको शिर पक्कै उँचो गराई दिएको छ । यो सफलताले अध्याँरोमा रुमलिएको नेपाली खेल जगतमा आशाको सानै भएपनि ज्योति छरेको छ ।
तेह्रौं सागको उपलब्धि, कमिकमजोरी आदिको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा अग्रज विश्लेषकहरुबाट विश्लेषण भै सकेको छ । यो अवस्थामा फेरी यही विषयमा कलम चलाउनु त्यति चाख लाग्दो नहोला र पनि खेलप्रेमी आमनागरिकको हैसियतले केही कुरा भन्न मन लागेको हुँदा यो आलेश तयार हुने संयोग जुरेको हो । मलाई धेरै कुराहरु भन्नु छैन । केबल यति भन्नु छ, तेह्रौं सागले हामीलाई के सिकायो ? सागको तेह्रौं संस्करणबाट नेपालले धेरै कुराहरु सिक्यो, पक्कै पनि । तर म यहाँ दुईवटा बुँदामा सीमित हुन चाहन्छु । जहाँसम्म मलाई लाग्दछ, सागले नेपाललाई दुईवटा महत्वपूर्ण कुरा सिकाएको छ ।
१) नेपालले गर्न सक्दछ ।
२) नेपालका महिला खेलाडि अब कमजोर छैनन् ।
तेह्रौं सागले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ हो, नेपालले गर्न सक्दछ । एउटा उदाहरण हेरौं । २०७२ बैशाख १२ को विनासकारी भूकम्प पछि खण्डहर बनेको दशरथ रंगशाला यति लामो समयसम्म पनि जस्ताको तस्तै रह्यो । जब की हामीलाई थाहा थियो, सागको तेह्रौं संस्करण नेपालमा हुँदैछ । उद्घाटन र समापन हुने ठाउँ यही हो र पनि पटक पटक सागको मिति सार्न हामी बाध्य भयौं किन भने दशरथ रंगशाला बाहेक अर्को विकल्प हामीसंग थिएन । यसरी विकल्प रहित हामीले दशरथ रंगशालाको पुनः निर्माणमा ढिलासुस्ती गर्नु के सामान्य कुरा थियो ? के यो स्वभाविक थियो ? उत्तर प्रत्येक नेपालीलाई थाहा छ । तर पनि अन्तिम समयमा आएर जसरी परिस्थितिको कायापलट भयो, यसले के बुझाउँदछ भने नेपाल असक्षम छैन । चाहने हो भने नेपालले गर्न सक्दछ । हामीलाई चाहिएको एउटै कुरा हो, राज्यको उच्च ओहोदामा विराजमान कर्मचारी र माननीय ज्यूहरुको कर्तब्य परायणता, निश्वार्थ सेवाभाव र देशभक्तिको भावना ।
बषौंदेखि अलपत्र परेको कामलाई केही महिनामै गर्न सक्ने नेपाल असफल र असक्षम राष्ट्र हुँदै होइन । तर यस्ता धेरै पक्षहरु छन्, जहाँ कायापलट हुनु जरुरी छ । जसरी केही महिनामै दशरथ रंगशालाको मुहार फेरीयो, त्यसरी काम गर्ने हो भने काठमाण्डौंका जनताको प्यास बुझाउन मेलम्ची आउन बेरै लाग्दैन । यदि त्यसरी नै काम गर्ने हो, राजनीतिक नेतृत्वले सहि नेतृत्व दिन सक्ने हो र कर्मचारीतन्त्रले निस्वार्थ सेवाभावले आफ्नो काम गर्ने हो भने प्रत्येक नेपालीको साथ र सहयोग रहनेछ । अनि सिंगो नेपालको मुहार दशरथ रंगशालाको जसरी फेरिन गाह्रो हुने छैन । तर नेपाली राजनीतिको एउटा नमिठो अभ्यास के हो भने हामी जे पनि गर्दछौं अरुलाई देशाउन गर्दछौं । वास्तवमै देश र आमनागरिकको लागि केही गर्न चाहँदैनौं । यसपालिको दशरथ रंगशालामा विदेशी आएर खेल्नु थियो र चिटिक्क पारियो । अरु बेला केलाई पार्नुृ प¥यो ? काठमाण्डौको सडक विदेशी पाहुना आउँदा चिल्लो भए भैगो नि ! अरु बेला खाल्डा होस् कि धुलो उडोस् । मेलम्चीको पानी खान विदेशी आउने हो र छिट्टै ल्याउनलाई ? यस्तै सानो सोंच र विषय वस्तुलाई लिएर राजनीति गर्ने परिपार्टीले गर्दा नेपालमा विकास हुन नसकेको हो । तर महोदय, स्मरण रहोस् नेपालले गर्न सक्दछ । गर्न नसकेको र नचाहेको तपाईले हो । यदि तपाई साँच्चै गर्न सक्नु हुन्न भने ठाउँ खाली गर्नुस्, अर्को आउँदछ । तर अब कुनै बहाना नबनाउनुस् । किनभने सबै नेपालीले बुझि सके नेपालले गर्न सक्दछ ।
सागको तेह्रौं संस्करणबाट नेपाल र आमनेपालीले सिक्नु पर्ने अर्को महत्वपूर्ण कुरा हो, महिला शक्ति । नेपाली चेलीहरुले सागमा आफूलाई सावित गरिसकेका छन् । तुलनात्मक रुपमा पुरुष खेलाडिहरुले भन्दा छ वटा धेरै कूल २८ स्वर्ण पदक जितेर आफूहरु कमजोर नरहेको प्रमाण दिईसकेका छन् । महिलाहरु कमजोर हुन्छन्, यिनलाई घरभित्रै सीमित राख्नु पर्दछ, यिनले के नै गर्लान् र ? भन्ने नीच मानसिकता बोक्नेहरुका लागि यो दह्ररिलो झापड हो । अब पालो हाम्रो हो, नेपाली समाजबाट पुरुषवादी दमनकारी र पितृसत्तात्मक सोंचलाई उखेलेर फ्याक्ने ताकि नेपाली चेलीहरुको यो हौसला कायम रहोस् सदासदा । उनिहरुलाई यो भन्दा पनि अझ धेरै ठूलो सफलताहरु चुम्ने वातावरणको सिर्जना होस् । महिला खेलाडीहरुको सफलताको कुरा गर्दै गर्दा पुरुष खेलाडिको योगदानलाई नजरअन्दाज गर्नु पंक्तिकारको मनसाय पटक्कै होइन । तेह्रौं सागमा नेपालले पाएको सफलतामा महिला पुरुष सबै खेलाडिको उत्तिकै योगदान छ र पनि नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला खेलाडिको यो उपलब्धि चानचुने कुरा पनि पक्कै होइन । महिला खेलाडिको कुरा गर्दा यहाँनेर एउटा नाम उल्लेख गर्न मन लाग्यो गोल्डेन गर्ल गौरिका सिंह । सागको एउटै संस्करणमा चार स्वर्ण जितेर उनले नेपाललाई पदक तालिकामा माथि उक्लन सहयोग मात्र गरिनन् । कितृमान नै बनाईन र पनि सामाजिक सञ्जालहरुमा गौरिका सिंह नेपाली नै होइन, विदेश बस्छे, कसरी नेपालको तर्फबाट खेल्न पाउँछे भन्ने जस्ता प्रतिक्रिया पनि आए । जबकि तेह्रौं साग भन्दा पहिल्यै नेपाली खेलाडिको रुपमा उनि ओलम्पिकमा सहभागि भैसकेकी छिन् । आस्था राउतको चौवन्दीमा पटुकी बाँध्या छैन भन्दैमा भन्ने गितमा झुमी झुमी नाँच्ने हामीले कि गौरिकालाई नेपाली स्वीकार्न आनाकानी ग¥यौं यो भने अचम्मकै कुरा हो ।
तेह्रौं सागले नेपाललाई पाठ सिकाउनुको साथसाथै जिम्मेवारी पनि बढाएको छ । त्यो के भने तेह्रौं सागमा घरेलु मैदानमा गरेको प्रस्तुती र पाएको सफलतालाई पाकिस्तानमा हुने चौधौं सागमा कसरी कायम राख्ने ? यो जिम्मेवारीलाई राज्यले आजैदेखि महसुस गर्नु पर्दछ । र सागको आगामि संस्करणका लागि तयारी पनि आजैबाट थाल्नु पर्दछ । अन्यथा घरको बाघ बनको स्याल भन्ने नेपाली उखान पाकिस्तानमा चरितार्थ नहोस् कतै । यो जिम्मेवारी बहन गर्न र सागको साखलाई जोगाई राख्न राज्यले तह्रौं सागमा भएको कमिकमजोरीलाई गंभिरतापूर्वक लिनु पर्दछ किन भने सँधै रिसको झोंकमा स्वर्ण आउँदैन । न त सँधै मागेर काम चलाउन सकिन्छ । राज्यले बुझ्न जरुरी छ, तातो पानीमा उमालेको चाउचाउ खाएर पदक जित्न कति गाह्रो छ ? भोलि पाकिस्तानमा नेपाली सुटरहरुलाई छिमेकीले बन्दुक र गोलि दिन इन्कार ग¥यो भने ? ट्रयथलनकी गोल्ड मेडलिस्ट सोनी गुरुङले राज्यले एउटा साइकल पनि उपलब्ध गराउन नसकेको झोंकमा स्वर्ण जितेको अभिव्यक्ति दिएकी छन् । भोलि अर्को सोनु गुरुङले यसरी नै इख लिन सकिनन् भने ?
तेह्रौं सागमा नेपालले पाएको सफलता वास्तव मै तारिफ योग्य छ र बधाईका प्रमुख हकदार खेलाडि नै हुन् । खेलाडिले दिनरात भोकप्यास केहि नभनि हासिल गरेको सफलताको आडमा राज्यले आफ्नो कमजारी लुकाउन पटक्कै सुहाउँदैन । चाहे त्यो खेलाडिलाई नमिल्दो पोशाक ल्याएको कुरा होस्, चाहे खेल सकिए पछि आएको बन्दुक र गोलीको कुरा या चाहे खेलाडिलाई पोषणको नाउँमा उमालेको चाउचाउ दिएको कुरा यसो भन्दै गर्दा सरकारले खेल क्षेत्रका लागि केही गरेको छैन भन्ने होइन । जति गर्नु पर्दथ्यो त्यति गर्न सकेको छैन वा गरेको छैन । यो कुरा फुटबलको फाईनलमा रंगशालाभित्र नअटेर सडकमा थुप्रिएको भिडले पनि प्रष्ट पार्दछ । अन्त्यमा तेह्रौं सागमा नेपालले कमाएको इज्जत पाकिस्तानमा लिलाम नहोस् । सम्बन्धित सबै निकायको ध्यान यसमा पुग्न सकोस्, सरकारले पदक विजेता खेलाडिलाई दिने भनेर घोषणा गरेको नगद पुरस्कार पनि काठमाण्डौंका बासिन्दालाई मेलम्चीको पानी भने जस्तै हात्ती आयो हात्ती आयो फुस्सा नहोस् । खेल क्षेत्रको प्रगति हुँदै जाओस् । ५१ स्वर्ण ६० रजत ९५ कास्य सहितको २१६ पदकको मेडलको छनछन् आवाजले समय छँदै सरकारलाई विउँझाउन सकोस् । ढिलै भएपनि सबै खेलाडिहरुमा हृदयदेखि नमन र बधाई ।