![](https://tanahunawaj.com.np/wp-content/uploads/2024/07/20240704_163142.jpg)
“रेडियो र जलवायु परिवर्तन” भन्ने नाराका साथ आज विश्व रेडियो दिवस मनाउने कार्यक्रम छ । विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान गर्दै संसारभरका रेडियोकर्मी तथा श्रोता र रेडियो प्रेमीहरूले रेडियो दिवस मनाउने गरेका छन् ।
सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरको तरङ्गहरूलाई हामीले आजकल रेडियोको माध्यमबाट सुन्ने गरेका छौं । यो अवसर इटालीका वैज्ञानिक जी मार्कोनीले सन् १८९४ मा रेडियोको आविष्कार गरेपछि हामीलाई प्राप्त हुन थालेको हो । सञ्चार जगतमा यो अद्भूत क्रान्ति गर्ने मार्काेनी प्रति यो अवसरमा ससम्मान शब्द श्रद्धा ।
आज म रेडियोसंग जोडिएका बाल्यकालदेखिका भोगाई र अनुभूति तथा कसरी सस्तो र सशक्त भयो भन्ने विषयलाई यो आलेख मार्फत पस्कने प्रयत्नमा छु ।
बाल्यकालका रेडियोका सम्झनाहरू धेरै छैनन् । बरु रेडियोसँग जोडिएर आउने अरु धेरै कुराहरू भने छन् । सानो छँदाको यतिमात्र सम्भना छ, पिँडीको माथि पट्टी हामी केटाकेटीले पुग्न नसक्ने गरी झुण्डिएको हुन्थ्यो, हाम्रो घरको रेडियो । अरुका जस्तै स्वाभाविक प्रश्नहरू मेरो मनमा पनि आउँथे । सोच्थें, यती सानो भाँडोमा कोही समाचार भन्ने, कोही गीत गाउँने, कोही विभिन्न बाजाहरु बजाउने अनि कोही आयो साबु न सेर्पा यो भन्दै सेर्पा साबुनको प्रचार गर्ने यत्रो विधि मान्छे कसरी अटेका ? बुबाले सफा गर्न भनेर रेडियो खोल्नु हुँदा कहाँ बसेका होलान् भनेर हेरेको पनि हुँ । तर कोही देखिन ।
हामी हुर्किँदै गर्दा टेलिभिजन थिएन्, एफएमहरू पनि थिएनन् । मोबाइलको त झन कुरै भएन । त्यसैले सूचना र मनोरञ्जनको एक मात्र साधन रेडियो थियो । त्यो पनि सबैको घरमा हुन्थेन । घरमा रेडियो भएकाले मलाई देशविदेशका समाचार सुन्ने र विभिन्न कार्यक्रमहरू सुनेर मनोरञ्जन तथा ज्ञान लिने सुविधा थियो ।
शनिबार साढे एक बजे रेडियो नेपालबाट आउने रेडियो नाटक कसैगरे पनि सुन्न छुटाउँदैनथ्यौं । शनिबार भएपछि आमा नुहाउन बोलाउने तर हामी भाग्ने क्रम सुरु हुन्थ्यो तर समय घर्किँदै गएर घडीले १२ बजेको संकेत गरेसंगै लुरुलुरु नुहाउन धारामा पुग्थ्यौं । बीचमा रेडियो राखेर वरपर चुपचाप नाटक सुन्नका लागि तयार वस्थ्यौं । नाटकका पात्र खुसीले रमाउँदा सँगै रमाउँथ्यौं र उनीहरु दुःख परेर रुँदा हाम्रा आँखा रसाउँथे ।
लोकगीत मन पराउनेका लागि पाण्डव सुनुवारले सञ्चालन गर्ने चोतारी कार्यक्रम उत्तिकै प्रिय थियो । पछि उनै सुनुवारले चलाउने फोनइन कार्यक्रम पनि उत्तिकै लोकप्रिय थियो । युनिसेफको सहयोगमा सञ्चालन हुने साथीसँग मनका कुरा कार्यक्रम नसुन्ने र मन नपराउने किशोर किशोरी शायद थिएनन् । शनिबार अपरान्ह आउने साथीसँग मनका कुरा पनि सँगै बसेर सुन्थ्यौं । फर्माइसी गीत बजाउने कार्यक्रममा चिठी पठाएर कार्यक्रम आउने दिन रेडियो अगाडि आफ्नो नाम आउने अनि मन परेको गीत बज्ने आशामा बस्ने म जस्ता धेरै थिए । आफ्नो नाम रेडियोमा बज्यो भने साथीहरूको बीचमा आफ्नो सान नै भिन्दै हुन्थ्यो । आफ्नो सन्देश रेडियोका माध्यमबाट सात समुन्द्र पारी पठाउन पाइने तथा उताको सन्देश सुन्न पाईने भएकाले ब्रिटिस आर्मीमा कार्यरत नेपालीका परिवारबीच परदेशीको सन्देश उस्तै लोकप्रिय थियो ।
सन्दर्भः विश्व रेडियो दिवस
निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रीक व्यवस्थाको स्थापनाका लागि लडेकाहरूलाई रेडियोमा बाघको छाला ओढेका स्याल, अराष्ट्रिय तत्व भनेर गरेको गाली सुन्दा आन्दोलनमा होमीन जाउँ कि भन्ने लाग्थ्यो । तर तनहुँको कछार ऋषिङमा बस्ने मेरा लागि त्यो कहाँ सम्भव हुनु ? २०४६ साल चैत्र २७ गते विहान ७ बजेको समाचारमा २६ गते राती आन्दोलनरत पक्षका नेताहरूसँग राजाले भेट गरेर पञ्चायती व्यवस्थाको अन्त्य भएको तथा बहदलिय प्रजातान्त्रिक व्यवस्थाको स्थापना गरिएको घोषणा गरेको सुन्दा मकै छर्नै काममा व्यस्त म खुसीले उफ्रेको थिएँ ।
बहुदल आएपछि पुरुषोत्तम दाहालले घटना र विचार कार्यक्रम सुरु गरे । बेलुका सात बजेको समाचार पछि आउने उक्त कार्यक्रम निकै लोकप्रिय पनि भयो । संसारभर नै विश्वसनिय सञ्चार संस्थाको रुपमा विश्वास जितेको विविसी जत्तिकै विश्वसनीय मानिन्थ्यो घटना र विचारलाई । दीपकराज गिरी र दीपा श्री निरौलाको रामविलास र धनियाँ उस्तै लोकप्रिय थियो । बहुदलसँगै एफएम रेडियोहरु स्थापना हुन थाले । काठमाण्डौंमा रेडियो सगरमाथा, दक्षिण एशियाकै पहिलो एफएम रेडियोको रुपमा स्थापना भै सकेको थियो । ऋषिङमा भने मकवानपुरमा स्टेशन भएको मनकामना एफएम सुनिन्थ्यो । यज्ञनिधी दाहालले जदौ भन्दै सुरु गर्ने साहित्यिक कार्यक्रम, कृषि कार्यक्रमकी बुढी आमै भुसाल थर थियो, नाम याद भएन, साह्रै लोकप्रिय थिए ।
रडियो सगरमाथाले समुदायको आवाज बोल्न थालेपछि धेरैले एफएम रेडियोको आवश्यकता महसुस गर्न थाले र देशभर यस्ता रेडियो खुल्न
थाले । यसो भनौं एक समय एफएमको बाढी नै आयो । एफएम रेडियोहरूले स्थानीय समुदायको आवाजमात्र बोलेनन् बरु नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनामा ठूलो भूमिका खेले । २०६२÷६३ को दोस्रो जनआन्दोलनमा नागरिक सहभागिता बढाउने कुरामा तथा त्यसको सफलतामा देशभर खुलेका एफएमहरूको महत्वपूर्ण भूमिका थियो ।
दुई वा तीनवटा व्याट्री हालेर सामान्य खर्चमा महिनौं देश विदेशका नयाँ खवर थाहा पाउने मात्र होइन् आफुलाई मनपर्ने लोक तथा पप वा अन्य गीत सुन्ने र आफन्तलाई सुनाउने अवसर पनि रेडियोले हामीलाई दिएको छ । एफएम रेडियो मार्फत त भुर्इँ तहको मान्छेले पनि आफ्ना कुरा भन्ने मौका पाएको छ ।
समयक्रम सँगैं टेलिभिजन आयो । सुनेर चित्त बुझाउने ठाउँबाट हामी सुन्न र हेर्न पाउने अवस्थामा आयौं । लाग्थ्यो, यसले रेडियोलाई विस्थापित गर्ने त होइन् ? तर विश्वका नागरिकको मनमा स्थान बनाइसकेको रेडियोको विस्थापन कहाँ सजिलो छ र ? त्यसैले त अहिले पनि थुप्रै रेडियो स्टेशनहररू छन् । सस्तो र सशक्त सञ्चारको यो माध्यमलाई कसले पो विर्सेला र ?