पृथ्वी राजमार्गलाई छुने तनहुँका स्थानीय निकायले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेका छन् । गत शुक्रबारबाट प्रारम्भ भएको यो अभियानले पक्कै राजमार्ग क्षेत्रलाई सफा तुत्याउने छ । राजमार्ग छेउमा भएका होटल, कलकारखाना आदिले गरेका फोहरका कारण यात्रुहरुको आँखै विझाउने गरेको यथार्थलाई मनन् गरेर सुरु गरिएको यो अभियानले भ्रमण वर्षलाई सफल बनाउन सघाउनेमा विश्वास लिन सकिन्छ ।
राजमार्ग सफाइ अभियानसंगै आम नागरिकमा दुइवटा प्रश्न उब्जेको छ । पहिलो हो के हामीले आफ्नै घर अगाडिको सडक सफा गर्न हाम्रोमा विदेशी पाहुना नै आउनु पर्ने हो ? विदेशी नागरिक सम्मिलित हुने कुनै ठूला सभा सम्मेलन हुने बेला वा विदेशी नेताहरु नेपाल आउने बेलामा राजधानीका सडक सिगार्ने हाम्रो अभ्यासले यस्तै कुरा दर्शाएको छ । अर्काै कुरा सडक छेउमा भएको होटल वा कलकारखानाले आफ्ना कारण निस्केको फोहोर व्यवस्थापन गर्ने र यातायातका साधनमा फोहर जम्मा गर्ने डस्ट विनको व्यवस्था गर्ने कि अरु आएर गाडीबाट यात्रुले फालेका र होटल तथा कल कारखानाले गरेको फोहर सफा गर्दिनु पर्ने हो ?
सरसफाई हाम्रो सभ्यताको परिचायक हो र हामीलाई हाम्रो वातावरणीय सरसफाइले स्वस्थ्य हुन पनि सघाउँछ । हामी साँच्चै सभ्य बन्ने वा अरुलाई सभ्य भएको देखाउने सोच्ने बेला आएको छ । सफाइ अभियानका बेला देखिएको तितो यथार्थ के हो भने राजमार्ग छेउमा होटल व्यवसाय गर्ने र उद्योग व्यवसाय गर्ने अधिकांश सरसफाइको मामलामा अत्यन्त गैर जिम्मेबार देखिएका छन् । सवारी साधनका मालिकपनि सरसफाइका सन्दर्भमा इमान्दार देखिएनन् । राजमार्ग सफा राख्ने हो भने यातायातका साधनमा फोहर जम्मा गर्ने व्यवस्था गर्नु र राजमार्ग छेउमा होटल घर वा उद्योगले आफुले उत्सर्जन गरेको फोहर व्यवस्थापनमा जिम्मेबार हुनु आवश्यक छ । मेरो आँगन अरुले आएर सफा गरिदेला भनेर बस्नु एक्काइसौ सताब्दीको नेपाली समाजका लागि सुहाउने कर्म होइन । सरसफाइ हाम्रै काम हो । सबै मिलेर सभ्य र स्वस्थ समाजको निर्माणमा सहयोग गरौं । सकारात्मक कामको प्रतिफल अवश्य सकारात्मक नै आउने छ ।