
पृष्ठभूमिः
दुष्कृतिको कानुनका बारेमा संहिताले पहिलो पटक कानुनमा व्यवस्था गरेको छ । यो कानुनको बारेमा आमनागरिकमा त्यति प्रभावकारी सन्देश दिन सकेको पाईदैन । यदाकदा कानुन व्यवसायीहरुले अभ्यास गर्न थालेको भएतापनि यो कानुनी व्यवस्थाको व्याख्याको चरणमा अभ्यास हुन अझै धेरै समय कुर्नुपर्ने हुन्छ । तर पनि अब कानुन नै बनेर आईसकेपछि कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्तको आधारमा आफ्ना काम र नकामहरु कानुनको दायरामा आउन सक्दछ । त्यसैले हामी दृष्कृति कानुनको बारेमा जानकार हुनु अनिवार्य भएको छ ।
काम र नकामः
काम भनेको त हामीलाई सहजै थाहा भयो कि कानुनले गर्नु भनेको काम नगरेमा हामी कानुनको दायरामा आउँछौं । दायित्व बहन गर्न बाद्य हुन्छौं । ‘नकाम’ लाई कानुनी भाषामा अकर्मण्यता भनिएको
छ । यसको अर्थ लगाउँदा कसैले गर्नुपर्ने काम नगरेको अवस्थालाई अकर्मण्यता भनिएको छ । काम गर्नुलाई नकाम भनेर सरल शब्दमा बुझाउने प्रयास मात्र हो ।
दुष्कृतिः
काम गर्नका लागि वा नगर्नका लागि सम्बद्ध पक्षहरु बीच पहिले नै कुनै करार भएको अवस्थामा बाहेक त्यस्तो काम वा नकाम अर्थात अकर्मण्यता को परिणाम स्वरुप कसैलाई हानि भएमा, नोक्सानी भएमा त्यस्तो कसूरदारले दुष्कृतिको कसूर गरेको कानुनले परिभाषा गरेको छ ।
दायित्वः
दुष्कृतिको कसूरबाट सिर्जना हुने हानि, नोक्सानीको परिणाम सिर्जनाहुने दायित्व कसुरदारले व्यहोर्नु पर्ने छ । अलग अलग दायित्व निर्धारण हुन सक्ने अवस्थामा कसूरको अनुपातमा र नसकेको अवस्थामा समान रुपमा दायित्व बहन नर्गुपर्ने व्यवस्था छ ।
अभिभावकीय दायित्वः चौध बर्ष उमेर नपुगेको नाबालक वा होस ठेगानमा नभएको व्यक्तिले गरेको दुष्कृतिको दायित्व आमाबाबु वा अभिभावक वा संरक्षक वा माथबर व्यक्तिले बहन गर्नुपर्ने कानुनको मनसाय देखिन्छ । त्यसैगरी आफ्नो घरेलु सहायक, अन्य कामदार वा कर्मचारीले असल नियतले काम गर्दा हानि नोक्सानी भएमा त्यस्तो दायित्व काममा लगाउने व्यक्तिले बहन गर्नुपर्ने व्यवस्था छ ।
गोसायँको दायित्वः
पशुधनको मालिकलाइ गोसायँ भनिन्छ । पशुपालकले आफ्ना पशुधनले गरेको हानि नोक्सानीको वापतको दायित्व पशुधनीले व्यहोर्नु पर्दछ ।
विविध दायित्वः
घर भत्काउँदाको असवाधानीले हानि नोक्सानीको दायित्व घर धनीले व्यहोर्नु पर्दछ । मेसिन, उपकरणको मालिकले त्यस्तो मेसिन उपकरणको कारण पुगेको हानि नोक्सानीको दायित्व बहन गर्नुपर्दछ । प्रज्वलनशील वा विस्फोटक पदार्थको ओसार पसार, भण्डारण समेतको व्यवसायिक कारोबार गर्ने व्यक्तिले त्यसबाट सिर्जना हुने हानि नोक्सानीको दायित्व बहन गर्नुपर्दछ ।
घरमुलीको दायित्वः
कुनै घरबाट कुनै किसिमको फोहोर मैला वा वस्तुको फालेको कारणबाट कसैलाई कुनै किसिमको हानि नाोक्सानी भएको सो हानि नोक्सानीको दायित्व घरधनीले व्यहोर्नु पर्दछ ।
निष्कर्षः
दुष्कृति कानुनले मानिसलाई जिम्मेवार बनाएको छ । आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारलाई सम्मान गर्नुपर्ने कुरालाई जोड दिएको छ । दुष्कृतिको कानुनको प्रयोगलाई अझ प्रभावकारी कार्यान्वयन गराउन सक्दा समाजको शान्ति अमनचयन कायम गर्न प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।