शिक्षित र सक्षम युवापुस्ताले शिक्षण पेसामा आफ्नो भविष्य देख्ने दिन टाढा नहोस् । नेपालको शैक्षिक जगत यसरी कायापलट होस् कि कुनै दिन शिक्षण पेसामा संलग्न जो कोहीले अन्तरआत्मा देखि नै गर्व गर्न सकोस् ।

छविदीप आले
[email protected]
भर्खरैमात्र शिक्षक सेवा आयोगले असोज ९,१० र ११ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा सूचना प्रकाशित गरेको छ । सूचनामा उल्लेख भए अनुसार शिक्षक सेवा आयोगले यो पटकको परीक्षामा विगतका परीक्षाहरुमा भन्दा फरक किसिमको अभ्यास गर्दैछ । अब शिक्षक सेवा आयोगले लिने परीक्षाको ढाँचा पनि नितान्त लोकसेवा आयोगले लिने परीक्षाको ढाँचामा सञ्चालन हुने छ । शिक्षक सेवा आयोगले यस पटकबाट अध्यापन अनुमति पत्रको लागि शिक्षा संकाय भन्दा बाहेक अन्य संकायका विद्यार्थीहरुको लागि पनि अवसर प्रदान गरेको छ । यस आलेखमा शिक्षक सेवा आयोगको यही नयाँ अभ्यास र शैक्षिक सुधारको विषय वस्तुसंग सम्बन्धित भएर चर्चा गर्न चाहन्छु ।
बदलिँदो समय, परिस्थिती र आवश्यकता अनुसार हरेक क्षेत्रमा परिवर्तन जरुरी हुन्छ । यो एक किसिमको प्राकृतिक नियम नै हो । जब हामी समय अनुकुल परिवर्तन हुन सक्दैनौं भने स्वतः समय भन्दा पछाडि पर्दछौं । त्यस कारण पनि शिक्षा क्षेत्रमा परिवर्तनको ठूलो आवश्यकता छ । किनभने वर्तमान समयको आवश्यकता हरु पूरा गर्ने जनशक्ति उत्पादन गर्ने भनेकै शिक्षाले हो । अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्णाङ्क ५० प्रतिशत, वस्तुगत तर्फ गलत उत्तरको २० प्रतिशतका दरले नम्बर घट्ने र शिक्षा संकाय बाहेक अन्य विषयको विद्यार्थीलाई पनि अवसर प्रदान गरिनुले शिक्षा क्षेत्रमा आवश्यक परिवर्तनलाई केही हदसम्म सम्बोधन गरेको छ । कमसेकम अब हामी के कुरामा आशावादी हुन सक्छौं भने शैक्षिक क्षेत्रमा अझ सक्षम जनशक्तिको आगमन हुनेछ । यो अत्यन्तै सकारात्मक पक्ष हो । तर शैक्षिक सुधारको कुरा गर्दै गर्दा संगै जोडिने अन्य पाटोहरु र यसले उव्जाएका प्रश्नहरुको बारेमा पनि विचार गरिनु त्यत्तिकै आवश्यक छ ।
यस पटक करिब चार वर्षपछि बल्ल अध्यापन अनुमति पत्रको लागि परीक्षा सञ्चालन हुँदैछ । यसले सबै परीक्षाथीहरु उत्साहित छन् नै तर केहि हदसम्म नैराश्यता पनि उत्पन्न गरेको छ । त्यो किन भने उत्र्तीणाङ्क ५० प्रतिशत त यो भन्दा पहिलाको परिक्षामा पनि थियो नै यस पटकबाट चाहि वस्तुगत प्रश्नमा गलत उत्तरको अंक पनि काटिने छ । अध्यापन अनुमति पत्र लिन त्यति सहज कुरा रहेन अब। झन्डै झन्डै अध्यापन अनुमति पत्र लिनु भनेको शिक्षण पेशामा प्रबेश गर्नु सरह नै भएको छ । तर जरो समस्या चाँहि कहाँनेर हो भने सेवा प्रबेशको परीक्षा त झन परको कुरा भयो । हामी कहाँ अध्यापन अनुमति पत्रको परीक्षा पनि वर्षेनी हुन सकिरहेको छैन । यसले गर्दा दक्ष जनशक्तीहरु शिक्षण क्षेत्रबाट टाढा हुन गइरहेका छन् । एउटा उदाहरण हेरौ स्नातक तह उत्र्तीण गरेको एउटा सक्षम बिद्यार्थी मानौ कुनै कारणवस यो पटकको परिक्षा असफल भयो वा सहभागिनै हुन सकेन भने ऊ स्वयमलाई थाहा हुँदैन कि परिक्षा कति वर्ष पछि हुन्छ भनेर । वर्तमान नेपाली समाजको चित्र हेर्ने हो भने स्नातक उत्र्तीण गरेको एउटा व्यक्तिमा पारिवारिक जिम्मेवारी आईसकेको हुन्छ । अनि उसले सजिलो बाटो रोज्छ पुरुष हो भने वैदेशिक रोजगारीमा जाने महिला हो भने विवाह गर्ने दुबै अवस्थालाई केलाउने हो अरु पेशामा संलग्न व्यक्ति पुन शिक्षण पेशामा फर्किन र विवाह भईसकेकी यूबती रोजगारीमा आउनु कमसेकम आजको समय सम्म नेपाली समाजमा त्यो संभाबना धेरै कम छ, नगन्य प्राय । भन्नुको तात्पर्य के हो भने शिक्षक सेवा आयोगले गर्न लागेको नयाँ अभ्यासलाई हामी सबैले सहर्ष स्वीकार गर्नैपर्छ चाहे अध्यापन अनुमती पत्रको लागी होस्,चाहे सेवा प्रवेशको लागि । तबमात्र शिक्षण पेशामा पनि भविश्य खोज्नेहरुको सम्मान बढ ्छ । होइन भने यो वर्ष असफल भयो अब परीक्षा कहिले हुन्छ टुडंगो छैन सफल भयो जागीरको परिक्षा कति वर्ष पछि हुन्छ अत्त्तोपत्तो छैन । यो अन्यौलग्रस्त अवस्थाको अन्त्य नभएसम्म शिक्षण क्षेत्रमा सुधार आउन ज्यादै कठिन छ । यस्तै अन्यौलग्रस्त अवस्थामा रहिरहने हो भने एउटा जटिल प्रश्न उत्पन्न हुन्छ । शिक्षक सेवा आयोगले अभ्यास गर्न लागेको नयाँ प्रयोगहरु शिक्षण क्षेत्रमा सक्षम जनशक्ति ल्याउनको लागि हो वा सरकारले रोजगारी दिन नसक्ने भएर प्रवेशद्वार मै कडाई गर्न लागिएको हो ? अध्यापन अनुमति पत्रको परीक्षामा अहिले जुन कडाई गरिएको छ, त्यसको गुप्त आशय कतै हामी रोजगारी दिन सक्दैनौं त्यसैले तिमिहरु बरु लाइसेन्सकै परीक्षामा असफल भएर आफ्नो अर्काेबाटो तय गर भन्ने त होइन ? आशा गरौं वास्तविकता यस्तो नहोस् ।
शैक्षिक क्षेत्रमा सुधार ल्याउनको लागि सक्षम जनशक्तिको शिक्षण पेशामा प्रवेश जति महत्वपूर्ण हुन्छ, त्यत्ति नै महन्वपूर्ण हुन्छ, त्यो जनशक्तिको व्यवस्थापन र परिचालन । उचित वातावरणको सृजना नहुँदासम्म जति नै दक्ष शिक्षक भएपनि उसले राम्रो उपलब्धि दिन सक्दैन । त्यसकारण सम्वन्धित निकायको यस्ता कुराहरु प्रति पनि ध्यानदृष्टि पुगोस् । अन्ततः शिक्षक सेवा आयोगले यो पटकबाट जुन प्रयोग गर्दैछ, यसले साँच्चिकै राम्रो उपलब्धि हासिल गरोस् । भावि दिनहरुमा पनि शैक्षिक क्षेत्रको उन्नति प्रगतिको लागि यस्तै राम्रो पहलकदमीहरु हुँदै जाओस् । लाइसेन्सको परीक्षा पञ्चवर्षिय योजना जस्तो ५५ वर्षमा हुने अनि सेवा प्रवेशको परीक्षा दशकिय योजना जस्तो १० १० वर्ष कुर्नुपर्ने संस्कृति छिट्टै इतिहासको पाटो बनोस् । शिक्षित र सक्षम युवापुस्ताले शिक्षण पेसामा आफ्नो भविष्य देख्ने दिन टाढा नहोस् । नेपालको शैक्षिक जगत यसरी कायापलट होस् कि कुनै दिन शिक्षण पेसामा संलग्न जो कोहीले अन्तरआत्मा देखि नै गर्व गर्न सकोस् । त्यो दिन अब धेरै टाढा नहोस् ।