लामो खडेरी र खडेरी सिर्जित अत्यधिक गर्मीका कारण जेठ अन्तिम साता जन्मथलो राम्जाकोट जाने मौका मिल्यो । गर्मीसंग गाउँ जाने कुराको के साइनो भन्ने लाग्न सक्छ । गर्मी अत्यधिक भएका कारण बालबालिका बिरामी पर्न थालेको भन्दै व्यास नपाले सामुदायिक विद्यालय एक हप्ताका लागि वर्षे विदाबाट कट्टी हुनेगरी विदा गर्न आग्रह गरेको थियो । सोही अनुसार बहिनी अध्ययनरत तथा बुवा अध्यापनरत विद्यालय एक हप्ताका लागि बन्द हुने भए । कक्षा १२ को अन्तिम परीक्षा भर्खरै सकिएका कारण मलाई पनि फुर्सदै थियो । हजुरबा–हजुरआमा गाउँमा हुनु भएको र आमाको जागीर समेत गाउँमै भएकाले गाउँ जाने कुरामा हामी उत्साहित
हुन्थ्यौं । अझ आँप र लिचीको सिजनमा झण्डै तीन रोपनी जग्गामा फैलिएको आफ्नै आँप तथा लिचीको बगैंचा सम्झँदा गाउँ जान मन नलाग्ने कुरै भएन ।
पठन पाठनका विकल्पहरु विहानमा पढाउने, कोभिडका बेला जस्तै अनलाईन पढाउने वा अन्य उपायहरु बारे सोच्न व्यास नगरपालिकाले किन आवश्यक नठानेको होला भनेर सोचिरहन मैले पनि आवश्यक ठानिन । व्यासको एक साता विद्यालय विदा गर्ने निर्णयको स्वागत गर्दै विदाका दिनमा गाउँ जान मैले बुबा र बहिनीसंग प्रस्ताव गरें । दमौलीको गर्मीसंगै भादगाउँ कराँदी खानेपानी आयोजनाका उपभोक्ताले व्यहोर्नु परेको पानी अभावको सास्ती छल्न गाउँ जाने कुरामा हाम्रो एकमत भयो। जेठ २८ मा आवश्यक बन्दोवस्त सहित गाउँ हिड्यौं ।
दमौलीबाट खैरेनीटार सम्मको सडकमा भएको धुलोले धेरै सास्ती दियो । खैरेनीबाट भिमाद अनि भिमादबाट राम्जाकोटसम्मको बाटो खैरेनी–दमौली सडक खण्डको तुलनामा राम्रो छ तर सडक छेउका बारीमा कोही चमरा काढ्न लागेका त कोही घोँगा हाल्न लागेका मकै ठाडै सुकेको देख्दा मन खिन्न भयो । एक मन लाग्यो, प्रकिृती कति निर्दयी भएको । तर उपलब्ध प्राकृतिक साधनको अति दोहन गरेर निर्दयी भएका त हामी आफु आफ्नैकाप्रति हो भन्ने सत्य स्वीकार्न मलाई कर लाग्यो ।
घर पुग्दा हजुरबा–हजुरआमाको न्यानो आतिथ्यले मख्ख बनायो । कुराकानी गर्ने क्रममा हजुरबुबाले दिग्दारी भावमा वगैँचाका आँप चोरिएको भन्दै पाक्ने बेलासम्म रहने वा नरहने भन्न नसकिने साथै अघिल्लो दिन मात्रै बाँदरको एकहुल आएर पाकेका सबै लिची खाएर गएको बताउनु भयो ।
केही वर्ष अगाडी वडाका सबै परिवारलाई भू–तथा जलाधार संरक्षण कार्यालय तनहुँले आँप, लिची तथा कागतीको विरुवा निःशुल्क वितरण गरेको थियो । सबै परिवारले लगेका पनि हुन तर खै किन आँप चोरी हुने क्रम रोकिएको रहेनछ । खान मिठो चाहिने तर आफुले मेहनत नगर्ने बरु चोरेर पेट भर्ने, कस्ता भएका
हामी ? मानवताको यो स्खलनले हामीलाई कहाँ पु¥याउला ? यो प्रश्नले धेरैबेर पिरोली रह्यो ।
बाँदरले धेरै किसानको बाली र फलफूल नष्ट गरेर हैरान पारेका तथा आम्दानी र गास खोसेका थुप्रै उदाहरण हुँदा पनि स्थानीय सरकार के हेरेर वसिरहेको होला भनेर अर्काे प्रश्न आफैलाई सोधें । हाम्रा जनप्रतिनिधि किसानका यस्ता समस्याका बारेमा बेखवर त छैनन तर अन्य कतिपय पालिकाले बाँदर नियन्त्रणका विकल्पहरु अपनाईरहँदा किन वेखबर झै बसिरहेका होलान ? किन निर्वाचनका बेलाको दुःख सुखमा साथ दिने प्रतिवद्धता भुल्दा हुन्, हाम्रा प्रतिनिधि ?
गाउँ डुल्दै गर्दा उमेर र नाता दुबैले हजुरबुवा भन्नु पर्ने भेषबहादुर थापा भेटिनु भयो । लामो खडेरीका कारण मकै सबै मरिसकेको बताउने उहाँ प्रसस्त पिँडालु उत्पादन गरेर त्यसबाट राम्रो कमाई गर्नेमा गनिनु हुन्छ । उहाँको दुःखेसो थियो, मकै त बीउ छ, फेरी छर्न सकिन्छ तर पिँडालुको बीउ कहाँ खोज्ने ? लगाएको पिडालु नामोनिसान नरहने गरी म¥यो । हिउँदमा तरकारी के खाने भन्ने चिन्ता थपियो भने आम्दानी
गुम्यो । भेषबहादुरको जस्तो पिडा राम्जाकोट र आसपासका थुप्रै किसानको छ । हेर्न बाँकी छ, जनप्रतिनिधि नागरिकको पिडामा मलम लगाउने कार्यक्रम लिएर कहिले आउँछन् ?
मोजेइक भनेको मैले बुझेको साना ढुङ्गा, सिसाका टुक्रा आदिबाट बनाईने सिङ्गो चित्र
हो । मैले यहाँ पनि व्यासको विद्यालय बन्दको निर्णय, गाँउमा रहेको बाँदर आतंक, आफु नगर्ने तर मिठो खानका लागि चोरी गर्ने प्रवृत्ति तथा खडेरीका कारण समस्यामा परेका किसानका कुरालाई स–साना ढुङ्गा वा सिसाका टुक्राको रुपमा राखेर लेख तयार पारें र नाम दिएँ मोजेइक । यस्ता मोजेइक गाउँमा थुप्रै भेटिन्छन् । आगामी दिनमा यस्ता मोजेइक लिएर फेरी भेट्ने वाचा सहित अहिलेलाई बिट मार्न चाहन्छु ।