गत वर्षको भदौ तिरै हुने भनेर हल्ला खल्ला गरिएको नेपाली कांग्रेसको चौधौं महाधिवेशन यस पटक भने होला जस्तो भएको छ । यद्यपि कांग्रेसको महाधिवेशन गर्न अझै २ वर्ष लाग्ने केन्द्रीय सदस्यहरुनै भन्न थालेका छन् । उनीहरुको तर्क छ, “परिवर्तित सन्दर्भमा कांग्रेसको विचारलाई पालिका, वडा, गाउँ र टोलका नागरिकसम्म लैजान र उनीहरुलाई आवश्वस्त तुल्याउन कम्तिमा दुइ वर्ष लाग्छ ।” हुन पनि कांग्रेसमा वर्तमान राज्य प्रणालीप्रति नै फरक फरक विचारहरु छन् । कोही धर्म निरपेक्षताको विरोधमा छन् भने संघीयता नेपालका लागि महँगो भयो तसर्थ यसबारे पुनः विचार गर्नुपर्छ भन्नेहरुको संख्या पनि राम्रै छ ।
संयोगनै भन्नु पर्छ आदिकवि भानुभक्तको जन्म दिन कै दिन कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । जसरी भानुभक्तले सम्पूर्ण नेपालीलाई नेपाली भाषाको धागोमा उनेर एकताबद्ध बनाए त्यसरी नै देउवाले नेपाललाई समृद्धि र विकासको मार्गमा लैजान आम नेपालीलाई एकताबद्ध बनाउन सकुन् भन्ने कामना गर्न सकिन्छ । तर उनको विगत हेर्दा र यो आलेख तयार पार्दाको बखतसम्मका यस पटकको प्रधानमन्त्री कालको काम कारवाही हेर्दा विश्वास गर्न सकिने अवस्था भने छैन ।
गण्डकी प्रदेशमा मन्त्री नियुक्त गर्ने सन्दर्भमा देउवाले जसरी मुख्यमन्त्रीलाई दवाव दिएर सपथ लिन ठिक्क परेको एउटा निष्ठाको पर्याय जस्तै बनेको दलित नेताको नाम काटे र एउटा नव धनाढ्यलाई मन्त्री बनाउन सिफारिस गरे यसले देउवाको समावेशी, समतामुलक समाज निर्माणको गफ झुठो सावित भएको छ । अर्काेतिर नेपाली जनले जननायकको रुपमा सदा श्रद्धा गर्ने र राजनेता मान्ने बीपी पुत्र शशांक कोइरालाको पनि यसमा भूमिका थियो भनेर थाहा पाउँदा देशभरका कांग्रेस नेता कार्यकर्ताको मन कुँडिएको छ । हुुन पनि सामाजिक कुरीति विरुद्ध आफुहरु व्यवहारिक रुपमा लडेको बताउने कांग्रेस कार्यकर्ताहरुलाई यो काण्डले दुःखीत त बनाएको छ नै कांग्रेस नेता शेखर कोइरालाको भाषामा , सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ । पाँचौं पटक सत्ता सम्हालेको १५ दिन नहुँदै स्वास्थ्य राज्य मन्त्रीमा देउवाले गरेको नियुक्ती पनि न्यायसंगत काम भनेर भन्न सक्ने अवस्थामा कांग्रेसजन छैनन् । देउवा तिनै व्यक्ति हुन जसले दुइ दशक अगाडी पजेरो संस्कृति भित्र्याए । सांसद खरिद विक्री जस्तो विकृत पद्धतिको सुरुवात गरे । र यसपटक पनि त्यस्तै परम्पराको पुनरावृत्ति हुने लक्षणहरु देखिनु देश र जनताका लागि शुभ कुरा पटक्कै होइन ।
एकछिन विगत तर्फ फर्केर हेरौं । २०७४ को निर्वाचन अगाडीसम्म कांग्रेस कार्यकर्ताको नारा हुन्थ्यो, “तनहुँ जिल्ला, कांग्रेसको किल्ला” । तर पछिल्लो निर्वाचनमा दुइ संघीय संसदका लागि निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र भएको तनहुँमा कांग्रेस उम्मेदबार एक स्थानमा पनि विजयी हुन सकेनन् । दशहजार बढी मतान्तरले विपक्षी उम्मेदबारलाई हराउने रामचन्द्र पौडेल झण्डै त्यही मतान्तरले यस पटक पराजित भए । देउवा, पौडेललाई आफ्नो राजनैतिक प्रतिद्वन्दी सम्झन्थे र सम्झन्छन् । यस अर्थमा पौडेलको पराजय व्यक्ति देउवाका लागि आवश्यक थियो र त्यसले देउवालाई बाटोको काँढा हटेजस्तो भएको होला तर समग्र कांग्रेसलाई त यसले घाटा नै भयो । युवा नेता प्रदिप पौडेल ५ मतको अन्तरले पराजित भए । कांग्रेसले लौरो उठाएपनि विजय हासिल गर्छ भन्ने तनहुँ क्षेत्र नं २ मा शंकर भण्डारी ठूलै मतान्तरले पराजित भए ।
निर्वाचन ताका नै सुनिएको कुरा हो, प्रदिप पौडेलको पराजयमा कांग्रेस नेताकै हात रहेको थियो । रामचन्द्र पौडेलको पराजयमा पनि कांग्रेस नेता कार्यकर्ताकै प्रमुख भूमिका थियो । जुन कुरा पौडेललाई पराजित गरेका एमाले सांसद कृष्णकुमार श्रेष्ठको भनाईबाट पनि प्रमाणित हुन्छ । उनले एक टेलिभिजन अन्तवार्तामा भनेका थिए, मैले प्राप्त गरेको मध्ये झण्डै १४ हजार मत माओवादी र विद्रोही कांग्रेसको हो । शंकर भण्डारीको पराजयको कथा पनि उस्तै छ । पहिलो कुरा त भण्डारी उक्त निर्वाचन क्षेत्रमा त्यति परिचित व्यक्ति थिएनन् ।
दोस्रो र महत्वपूर्ण कुरा उनी आफ्नो ढंगले निर्वाचन क्षेत्रमा घुम्नै पाएनन् । सबै ठिक छ, हजुरले अत्याधिक मतले जित्नुहुन्छ भन्दै मतदाताको घर दैलोमा उनलाई जानबाट रोक्नेहरुको बल पुग्दा भण्डारी पराजित भएको भन्नेहरु त्यसबेला प्रशस्त भेटिन्थे । यस्ता उदाहरण तनहुँमा मात्र होइन देशभर भेटिन्छन् ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको चर्चा चल्दै थियो । सोही सन्दर्भमा यस वर्षमात्र क्रियाशिल सदस्यता लिएका एक युवाले आफु क्षेत्रिय प्रतिनिधि आउन पाउनु पर्ने तर्क गरे । किन ? भन्ने प्रश्नमा उनको उत्तर थियो, क्षेत्रिय प्रतिनिधि भएपछि नेताहरुलाई थर्काउन र बार्गेनिङ गर्न काम लाग्छ । यो ति युवाको मात्र होइन देशभरका युवा चाहे कांग्रेसका होउन चाहे अन्य पार्टीका सबैको ध्येय यहि हो ।
किसानहरु भन्छन्, बाली गोड्दा जरा खल्बलिने गरेर गोडमेल ग¥यो भने उक्त विरुवा दह्रो भएर आउँछ । हावा हुरीले पनि ढाल्न सक्दैन । कांग्रेसका पनि यतिबेला गोडमेलको आवश्यक छ । समावेशिताको भाषण गरेर नथाक्ने तर व्यवहारमा उतार्ने बेला मुन्टो फर्काएर कांग्रेसलाई कमजोर बनाउने झारपात गोडमेल गरेर हटाउनु पर्ने भएको छ । कांग्रेसको नाममा लाभका पद प्राप्त गर्ने तर कांग्रेसकै अहित हुने खालका व्यवहार गर्ने ऐेंजेरुहरुलाई उखेलेर फाल्नु पर्ने बेला भएको छ । र महाधिवेश ति सबै झारपात र ऐजेरु गोडमेल गरेर हटाउने उपयुक्त अवसर हो । अब पनि ति झारपात र ऐजेरु हटाउने हिम्मत कांग्रेसका नेता कार्यकर्ताले गरेनन् भने कांग्रेसरुपि बाली सप्रने अवसर पाउने छैन । तिनै झारपात र ऐजेरुले समाप्त पार्नेछन् । यस पटकको महाधिवेशन कांग्रेसलाई गोडमेल गरेर फस्टाउने अवसर प्रदान गर्न सफल होस्, यहि कामना ।