भिण्डी, शायद यो तरकारीसंग अपरिचित नेपाली कोही छैन । र यसको अचार वा तरकारी मन नपराउने नेपाली पनि कमै होलान । करेलासंग मिसाएर बनाइएको अचार जिब्रो मै झुण्डिने स्वादको हुन्छ । चिफ्लो हुने भएकाले भिण्डीसंग भात खान निकै सजिलो हुन्छ । यसको आफ्नै विशिष्ट स्वादका कारण खाना स्वादिलो लाग्ने त छँदैछ । यसको सेवनले कोलेस्ट्रोलको मात्रा घट्ने, रक्तचाप कम हुने, आँखाको रेटिनालाई स्वस्थ्य राख्ने, कब्जियत हुनबाट बचाउने तथा क्यान्सर हुने खतराबाट समेत बचाउने बताईन्छ । आजकल भिण्डी र करेलोसंगै पकाएर खानु हुँदैन भन्ने स्वर पनि सुनिन थालेको छ । यसो किन भनिएको होला ? यसका वैज्ञानिक कारण के होलान् ? आदि विषयमा आगामी दिनमा सन्दर्भ मिलेमा चर्चा गर्नेछु तर यस पटक भिण्डी र भातको साइनो र यसले दिने अर्थबारे चर्चा गर्न चाहन्छु ।
माध्यमिक शिक्षा परीक्षा–२०८० को उत्तर पुस्तिका परिक्षण तथा सम्परिक्षणको काम भइरहेको थियो । केही विषयका उत्तरपुस्तिकाको परिक्षण सकिएर संपरिक्षण समेत अन्तिम चरणमा पुगेको थियो । परिक्षण केन्द्रमा जम्मा भएका दुई शिक्षकबीचको वार्तालापले मेरो ध्यान तान्यो । उनीहरु ठट्यौलो भावमा आजबाट भिण्डी र भात खाने दिन सकिएको बताउँदै थिए । भिण्डी र भातको साइनो र त्यसको अर्थ नबुझेको मैले प्रश्न सूचक भावमा उनीहरु दुबैतिर पालैपालो हरें । दुईमध्येका एकले शायद मेरो आँखाको भाषा बुझेछन् र भने, एसईईको उत्तर पुस्तिका परिक्षण तथा संपरिक्षणको काम सकियो । सकेसम्म धेरै उत्तरपुस्तिका परिक्षण गर्ने ध्याउन्न रहने भएकाले धेरै चपाई रहन पनि नपर्ने तथा निल्न समेत सजिलो हुने भएकाले उक्त समयमा भिण्डी र भात खाने जसले गर्दा परिक्षण केन्द्रमा चाँडै आउन सकिने र धेरै उत्तर पुस्तिका परिक्षण गर्न सकिने भन्ने अर्थमा भिण्डी र भातको सन्दर्भ आउने गरेको रहेछ । अर्थात भिण्डी र भातको नाता यसरी जोडिएको रहेछ । उत्तर पुस्तिका परिक्षण कार्यमा सहभागी शिक्षकको त्यो कुराले मलाई फ्ल्यास ब्याकमा लग्यो । खासगरी उत्तर पुस्तिका सम्परिक्षणका लागि हुने दौडा–दौड, एउटै शिक्षकले दुइ र त्यो भन्दा धेरै विषय आफुले अध्यापन गर्ने गरेको भन्दै स्याहारेका कापिका प्याकेट, रातभर कापि जाँचेर विहान ३ बजे तिर परिक्षण केन्द्रमै सुतेको र ५ बजे उठेर फेरी कपि परिक्षण सुरु गरेको बताउने शिक्षक, सबै सिनेमाका दृष्य जस्तै सजिव भएर मेरो आँखा अगाडी आए । र केही प्रश्नहरु ले मलाई पछ्याउन थाले । भिण्डी र भात खाएर आउने शिक्षकको ध्यान उत्तर पुस्तिकाको सही परिक्षण मार्फत विद्यार्थीको सम्यक मूल्याङ्कनमा गयो होला कि धेरैभन्दा धेरै कपि परिक्षण गरेर अरुलेभन्दा धेरै कमाउने कुरामा ? कतै भिण्डी र भातको त्यो साइनोको अर्थ विद्यार्थीले लेखेको कुराको सही मूल्याङ्कन गर्दै उपयुक्त अंक प्रदान गर्नु नभई धेरैभन्दा धेरै अनि अरुलेभन्दा धेरै कपि परिक्षण भन्ने त होइन ? एउटै शिक्षकले दुइ र त्यो भन्दा धेरै विषय आफुले अध्यापन गर्ने गरेको भन्दै स्याहारेका कापिका प्याकेट भित्रका कपिको के सहि परिक्षण भयो होला ? कुनै त्यस्तो विद्यालय होला जहाँ कक्षा १० मा एकैजना शिक्षकले दुई वा त्यो भन्दा बढी विषयको अध्यापन गरेको होस् ? दुइ विषयसम्म होला तर त्योभन्दा धेरैको शायद सम्भावना छैन । यसमा कतै धेरैभन्दा धेरै कपि परिक्षण गरेर धेरैभन्दा धेरै कमाउने चेष्टामात्रै त थिएन ? यदि त्यसो हो भने त्यस्ता शिक्षकले परिक्षण गरेको कापी मार्फत उनीहरुको भविष्यमाथि खेलवाड गरेको ठहरिँदैन होला ?
सम्परिक्षणमा गरिने हतारो र दौडा–दौडले परिक्षणका क्रममा भएका त्रुटी सच्यायो
होला ? के त्यसले सम्परिक्षणको मर्म आत्मसाथ गर्ला ? रातभर कापि जाँचेर विहान ३ बजे तिर परिक्षण केन्द्रमै सुतेको र ५ बजे उठेर फेरी कपि परिक्षण सुरु गरेको बताउने परिक्षकले कस्तो कपि परिक्षण गरे होलान् ? रातभर अनिँदो बसेको उसले निन्द्राको तालमा कति त्रुटी ग¥यो होला अनि सम्परिक्षणका क्रममा देखिने दौडादौडले कति त्यो त्रुटि सच्यायो होला ? विद्यार्थीलाई आदर्श र नैतिकताको पाठ पढाउने अनि समाजले आदर्श मान्ने शिक्षकको व्यवहार कतै धनार्जनमा मात्र केन्द्रीत भएको त होइन ? भन्ने आफैभित्र उब्जेको प्रश्नले सोही पेशामा आबद्ध मलाई दुःखी बनायो । सबै शिक्षकलाई एउटै डालोमा हालेर आदर्श च्यूत र अनैतिक बताउन खोज्यो भन्ने कसैलाई लाग्न सक्छ । मेरो आशय त्यो पटक्कै होइन । तर फेरी माथि उल्लेख गरिएका सन्दर्भहरु तिता सत्यहरु हुन् । आग्रहवस कसैलाई अपमानित गर्न प्रस्तुत गरिएका र त्यसका सन्दर्भमा थप चर्चा गरिएका होइनन् ।
काठमाण्डौ, पोखरा, भरतपुर लगाएतका व्यस्त शहर र दमौलीमा पनि भिण्डी र भातको साइनोसंग जोडिएका थुप्रै शिक्षकहरु पाउन सकिन्छ । हातमा हेल्मेट लिएर कक्षा कोठा छिर्ने र संगै हेल्मेट लिएर निस्कने अनि अर्काे कलेज धाउने ति शिक्षकलाई हेल्मेट टिचर नामले विद्यार्थीहरु पुकार्ने गर्छन् । हेल्मेट टिचरको अर्थ पनि भिण्डी र भात जस्तै हो अर्थात हतारो । आजकल गरिने आशंका के हो भने हेल्मेट समेत स्याहार्न नभ्याएर कक्षा कोठामा पुग्ने शिक्षकले शिक्षकका नयाँ विधिको खोजी, शिक्षण योजना निर्माण, विद्यार्थीको सिकाई चासो सम्बोधनमा कति समय दिएको होला ? छिमेकीको भन्दा अग्लो घर बनाउने, उसको भन्दा महंगो गाडी किन्ने, अझ नाम चलेको सपिङ मलमा जाने आदि होडले कतै विद्यार्थी छायाँमा परेका त छैनन् भन्ने चासो र चिन्ता रहनु स्वाभाविक देखिएको छ ।
सामान्य मानिसलाई पनि थाहा छ, खाना खाँदा मजाले चपाएर खानु पर्छ । राम्रोसंग चपाएर नखाएको खाना पचाउन गाह्रो हुन्छ । यसको अर्थ हो हाम्रो पेटमा समस्या आउँछ । पेटमा समस्या आउनु भनेको रोग निम्त्याउनु हो । जब निल्न सजिलो हुन्छ भनेर हामी भिण्डी र भात खान थाल्छौं अवश्य हाम्रो स्वास्थ्यमा खरावी आउँछ । त्यसरी नै भिण्डी र भात खाएर गरिएको अर्थात हतारमा गरिएको जुनसुकै काममा कहीँ न कही कमजोरी भएको हुन सक्छ । यदि कपि परिक्षणमा कमजोरी भएको भए १० वर्षको एउटा विद्यार्थीको अथक मेहनत खेर जान्छ । उसको भविष्य अन्योल बन्छ । हामीले सुनेका र देखेका छौं, नतिजा सन्तोषजनक नहुँदा आत्महत्याको निर्णयमा पुगेका र जीवन गुमाएका विद्यार्थीहरु । त्यसैले भिण्डी र भात चपाएर, स्वाद लिएर खाने गरौं, आफ्नो स्वास्थ्य र विद्यार्थीको भविष्य सुरीक्षत गरौं अस्तु ।
भिण्डी र भात
previous post