रमेश विकल
भारतीय लोक सभाको सम्पन्न मत परिणामले भाजपा नेता नरेन्द्र मोदीको लोकप्रियता घट्दै गएको देखाएको छ ।
अप्रिल १९ मा प्रारम्भ भएर सातौ चरणमा गत शनिबार अर्थात जुन १ मा सम्पन्न भएको मतदान र ४ जनुमा भएको मत गणना तथा त्यसले देखाएको परिणामले प्रधानमन्त्री मोदी अलोकप्रिय हुँदै गएको देखाएको हो ।
५ सय ४३ सदस्यीय भारतको लोकसभामा मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले ३ सयभन्दा बढी स्थानमा र भाजपा लगाएत २४ दल सम्मिलित एनडिए गठबन्धनले ४ सयभन्दा बढी स्थानमा जित हासिल गर्ने अनुमान गरिएको थियो । तर मंगलबार सम्पन्न मत गणना र त्यसको परिणाम अुनसार भाजपाले जम्मा २ सय ४० सीटमा चित्त बुझाउनु परेको छ । एनडिए गठबन्धनले २ सय ९५ सिटमात्र जितेको छ । यो गठबन्धनले सन् २०१४ को निर्वाचनमा ३ सय ३६ तथा २०१९ को लोकसभा निर्वाचनमा ३ सय ५२ स्थानमा जित हात पारेको थियो भने भाजापा एक्लैले २०१४ मा २ सय ८२ तथा २०१९ मा ३ सय ३ स्थानमा जित हासिल गरेको थियो ।
अघिल्ला दुई निर्वाचनमा एक्लै सुविधाजनक बहुमतमा रहेको भाजपा यस पटक सामान्य बहुमतका लागि आवश्यक २ सय ७२ सिटभन्दा ३२ सिटले कममा झरेको छ । यसलाई मोदीको घट्दो लोकप्रियताको रुपमा धेरैले अथ्र्याएका छन् । अघिल्लो निर्वाचनमा ६ लाख ७४ हजार मत सहित विजयी भएको प्रधानमन्त्री मोदीले यस पटक झण्डै ६३ हजार कम मत प्राप्त गरे । यसले पनि मोदी आम भारतीय माझ अलोकप्रिय बन्दै गएका छन् भन्नेहरुको भनाइ सत्य रहेको भन्न कर लाग्छ ।
भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको २४ दलिय इण्डिया गठबन्धनले २ सय ३१ स्थानमा जित हात पारेको छ । अघिल्लो निर्वाचनमा ९४ सिटमा सिमित इण्डिया गठबन्धनले यो निर्वाचनमा १३७ सिट बढाउँदै २३१ मा उक्लेको हो । अघिल्लो निर्वाचनमा जम्मा ५२ सिटमा सिमित कांग्रेसले यो निर्वाचनमा ९९ सिट जितेको छ ।
नेरेन्द्र मोेदी र उनको गठबन्धले ४ सय बढी सिटमा जित हात पार्ने र कट्टर हिन्दुवादी मोदीको आडमा नेपाललाई हिन्दु राष्ट्र बनाउन सकिने भन्दै हौसिएका कतिपय नेपालीलाई भारतीय लोकसभाको निर्वाचन परिणामले निराश बनाएको छ । १२ बुँदे सम्झौता नेपालको हित विपरित भएको बताउने उनिहरु मोदीको विजयले धर्म निरपेक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउन सजिलो हुने बुझाइमा थिए ।
विपक्षी इण्डिया गठबन्धनको सिट बढ्दा प्रसन्नता व्यक्त गर्नेहरु पनि नेपालमा छन् । वर्तमान व्यवस्थाको जग १२ बुँदे दिल्ली सम्झौता भएको र इण्डिया गठबन्धन बलियो हुँदा संघीयता, धर्म निरपेक्षता जस्ता उपलब्धिको जगेर्ना गर्न सजिलो हुने एकथरीको बुझाई रहेको छ ।
तर परराष्ट्र सम्बन्ध निर्माणमा जासुस संयन्त्र रिसर्च एण्ड एनालाइसिस विङ (र) निर्णायक हुने गरेकाले भारतीय सरकारको नेतृत्व एनडिए वा इण्डिया जसले गरेपनि खास फरक नपर्ने तर्क गर्नेहरु पनि नेपाल प्रसस्तै
छन् ।
भारतीय लोकसभा निर्वाचन–२०२४ मत परिणाम भन्छ, मोदीको लोकप्रियता घट्दै
previous post