
दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँले माघ १२ गते शुक्रबार दमौलीमा सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । कार्यक्रम व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको थियो ।
जिल्ला प्रहरी कार्यलय तनहुँले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालय तनहुँसंग सम्बद्ध सावलहरुमा नागरिकले जिज्ञासा राखेका थिए ।
नागरिक सुनवाईमा नगरका भित्री सडकमा राखिएको ब्रेकर र त्यसले ह्वीचियरवालालाई भएको असुविधा, कुच्चिएका दुर्घटनामा परेका सवारी साधन राजमार्ग क्षेत्रमा नराखी अन्यत्र व्यवस्थापन गर्नुपर्ने, भएको भवन भाडामा लगाएर फेरी अर्को २८ करोडको लागतमा बन्न लागेको बहुउद्देश्यीय भवन अनावश्यक भएको, एकतर्फी यातायातको उचित व्यवस्थापनमा गर्न सके नगरक्षेत्रमा आउने विशेषगरी धार्मिक पर्यटकहरुलाई सूचनाको अभावमा एक हजार जरिवना गर्नुपर्ने अवस्थाको अन्त्य हुने तर्फ ध्यानाकर्ष गरिएको थियो । त्यसैगरी सवारी भाडा दरको अनुगमन र कार्यान्वयन तर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराइएको थियो । नगरक्षेत्रभित्र अखाद्य पदार्थको विक्री वितरण भएको तर्फ ध्यानकर्षण गराइएको थियो । प्रहरीले नागरिकलाई गर्ने सम्बोधनमा शिष्टता आवश्यक भएको, सीसी क्यामेराको व्यवस्थापन, अफिस टाईममा ट्राफिक व्यवस्थापन समेतक सवालहरु उठेका थिए ।
जिल्ला प्रहरी कार्यालय अन्तर रहेको सामुदायिक साझेदारी शाखाको बार्षिक कार्यक्रम अनुसार हुने सार्वजनिक सुनवाई यस पटक विगतमा भन्दा बृहद रुपमा भएको महसुस नगरवासी तथा जिल्लावासीले गरेका छन् । एकजना नागरिकले विगतमा भन्दा यस पटकको बृहद नागरिक सुनवाईका लागि काम गरेरे देखाउने सोंचका प्रहरी प्रमुखलाई जस दिएका थिए ।