२०७५ साउनमा कञ्चनपुर भीमदत्त नपाकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या, २०७७ असोजमा बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षिय बालिका सम्झना कामीको बलात्कार पछि भएको हत्या र अहिले माघ २१ गते बुधबार बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षिय भागरथी भट्टको बलात्कार पछि भएको हत्याका घटनाले आम नेपालीको मन बारम्बार अशान्त तुत्याउने गरेको छ ।
स्थानीय सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्ययनरत भट्टको बलात्कार पछि भएको हत्याको घटनाले अहिले दोगडाकेदारमात्र होइन देशनै शोकमा छ । स्तब्ध बनाएको छ, सम्पूर्ण देशलाई । बुधबार विद्यालयबाट घरमा आमा एक्लै भएकोले आफु हतारमा रहेको भन्दै साथीहरुसंग बाट छुट्टिएर हिँडेकी भागरथी कहिल्यै फर्किने छैनन् अब । यो सम्पादकिय तयार पर्दासम्म प्रहरीले अनुसन्धान बालात्कारी हत्यारको नजिक पुगको बताएको छ । तर निर्मला हत्याकाण्डमा संलग्नलाई साढे दुइवर्ष भइसक्दापनि कानुनको कठघरमा उभ्याउन सफल नभएको प्रहरीको भनाई पत्याउन आम मानिसलाई गाह्रो भएको छ ।
प्रहरीले समयमै आवश्यक तदारुकता देखाएको भए निर्मलाको बलात्कारी हत्यारा पत्तालाग्न सक्थ्यो भन्ने आम बुझाई छ । छोरीको खोजी गरिदिन रुँदै प्रहरी समक्ष गएकी निर्मलाकी आमालाई तिम्री छोरी भोली खोजौंला भनेर फर्काउने स्थानीय प्रहरीको हर्कतले समग्र प्रहरीमाथि विश्वास घटेको थियो । अझ घटना भएको ३१ महिना हुँदासम्म हत्याराको पत्तो नलाग्नुले प्रहरीको नियत र क्षमता माथि प्रश्न गर्न थालेका छन्, आम मानिसले र अहिले भागरथीको सन्दर्भमा पनि निर्मलाकै जस्तो अवस्था आउने हो कि भन्ने चिन्ता व्याप्त छ । समयमै बलात्कारी हत्याराको खोजी गरेर कानुनको कठघरामा उभ्याउन नसक्ने हो भने प्रहरी माथिको विश्वास अझ घट्ने छ । पश्चिम प्रहरीका लागि यो एउटा अवसर पनि हो, आफ्नो विश्वसनियता घट्न नदिने । भागरथीको हत्यारालाई छिट्टै कारवाहीको दायरमा ल्याउन प्रहरी सक्षम होस् । भागरथीले निर्मलाको नियती भोग्नु नपरोस् । भागरथीसंगै थुप्रै निर्मला र सम्झनाहरुले पनि न्याय पाउने अवस्था बनोस् ।
परनिन्दक र परपिडक प्रवृत्तिको छिट्टै अन्त्य होस्
previous post