दुलेगौंडा/शुक्ला गण्डकी नगरपालिकाकी उप–प्रमुख सविता रसाइलीद्वारा शुक्रवार नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार माथि नै दुव्र्यवहार र हातपात समेत भएको छ ।
दमौलीबाट प्रकाशित हुने सेतीमादी दैनिकमा साउन ९ गते उप– प्रमुखले क्षेत्राधिकार नाघेर विवादित जग्गामा खेलकुद मैदान बनाउन स्थानीय क्लबलाई जिम्मा दिएकमो विषमया समाचार प्रकाशित भएको थियो । सोही विषयमा जानकारी गराउन भनि पत्रकार बोलाएकी उप–प्रमुख रसाइलीले पत्रकारहरुलाई पैसा खाएर समाचार लेख्ने गरेको आरोप लगाएकी थिइन् । त्यसपछि सभाहलमा जम्मा भएका अन्यले सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डम्वर अधिकारी माथि दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारको प्रतिरोध गर्न खोज्दा खवरबाटीका साप्ताहिकका सम्पादक समुन्द्र पौडेललाई हातपात समेत गरेका थिए ।
पत्रपत्रिकामा प्रकाशित समाचारका विषयमा चित्त नबुझे असहमती जनाउँदै खण्डन गर्न पाउने बाटो हुँदा हुँदै आफैले बोलाएको पत्रकार सम्मेलनमा पत्रकारमाथि गालिगलौजमा उत्रने र दुव्र्यवहार तथा हातपात गर्ने कार्यले उप–प्रमुख रसाइली आलोचित भएकी छन् ।
यसैबीच पत्रकार सम्बद्ध संस्थाहरुले उप–प्रमुख रसाइलीको उक्त कार्यमो निन्दा गरेका छन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्ती प्रकाशित गरी जनप्रतिनिधिद्वारा नियोजित रुपमा पत्रकारमाथि गरिएको हातपात र दुव्र्यवहार प्रति खेद प्रकट गरेका छन् । यस्ता अभद्र र अमर्यादित कार्यमा संलग्नलाई कडा कारवाही गरी पत्रकारलाई निर्भयतापूर्वक समाचार संकलन तथा सम्प्रेशण गर्ने वातावरण बनाउन स्थानीय प्रशासन र सरोकारवालासंग युनियनले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पनि एक विज्ञप्ती जारी गरी पत्रकारद्वय अधिकारी र पौडेलमाथि भएका घटनाले सिङ्गो पत्रकार जगतलाई दुःखीत तुल्याएको जनाएको छ । विज्ञप्तीमा उप–प्रमुख रसाइलीको कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको महासघले ठहर गरेको उल्लेख छ । यसैगरी नेपाल प्रेस युनियन तनहुँ तथा रिपोटर्स क्लब तनहुँले पनि छुट्टा–छुट्टै विज्ञप्ती प्रकाशित गरी शुक्रबारको घटनाको निन्दा गरेका छन् । विज्ञप्तीमा घटना स्वतन्त्र प्रेसको कलम भाँच्ने नियोजित चाल भएको उल्लेख गरिएको छ ।