डायरी
तनहुँका १० स्थानीय निकाय मध्ये दुई स्थानीय निकायलाई दुर्गमको कोटीमा राखिएको छ । त्यस मध्येको एक हो, ऋषिङ गाउँ पालिका । मेरो घर पनि सोही गाउँपालिकाको वडा नं ५ राम्जाकोट । सरकारले नेपालका अधिकांश वडामा इन्टरनेट सुविधा प्रदान गरेको र सो मध्ये आफ्नो वडा पनि रहेका मलाई जानकारी थियो । गाउँ गाउँमा इन्टरनेट सुविधा आइपुगेको कुराले मलाई खुुसी तुल्याएको थियो ।
अघिल्लो साता तनहुँआवजका लागि इमेल मार्फत समाचार पठाउन म वडा कार्यालय पुगें । लाइन आएको रहेनछ । सोधपुछ गर्दा थाहा लाग्यो अघिल्लो सांझदेखि नै वडा कार्यालय रहेको क्षेत्रमा लाईन आएको रहेनछ । त्रिशक्ति सामुदायिक विद्युत उपभोक्ता समितिमार्फत वितरित विद्युत बेलाबेला अवरुद्ध हुने कुरा सामान्य जस्तै थियो, स्थानीयका लागि । समितिका कोषाध्यक्ष समेत रहेका पूर्णबहादुर थापासंग फोनबाट बुझ्दा थाहा लाग्यो, वितरण प्रणालीमा खराबी आएका कारण विद्युत नभएको र आफु बनाउन आउन लागेको बताए । मैले आफ्नो समस्या बताएँ । सञ्चारको महत्व बुझेका थापाले तुरुन्त आफु आएर प्रणालीमा भएको खराबी अवलोकन गरी सुधार गरेर विद्युत अवरोध हटाउने वचन दिए र वचन बमोजिम आए पनि । तर उनी लागयत अर्का सहयोगी किशोर केसीले वितरण प्रणालीको कुन क्षेत्रमा खराबी हो पत्ता लगाउन सकेनन सांझ सम्म । समयमा समाचार पठाउन नसक्ने चिन्ताले मलाई खान थाल्यो । तर के नै गर्न सक्थें र सम्पादक ऋषिराम सरलाई बताएर घर फर्कें ।
भोली विद्युत सेवा सुचारु हुने हो कि होइन ? सुचारु भए पनि इनटरनेटले काम गर्ने हो कि होइन भन्ने कुराले राम्रो निदाउन सकिन । विहिबार पत्रिका निकाल्नु पर्ने, आज बुधबार । फेरी उनै थापालाई फोन गरें । राती अवेर खराबी पत्ता लागेर सुधार गरी विद्युत सेवा सुचारु भएको बताए । मन केही ढुक्क भयो । खाना खाएर हतार हतार वडा कार्यालय गए । अनुमती लिएर इन्टरनेट जोडेको मरिगए चल्दैन । २०÷३० सेकेण्ड सिग्नल देखाउँछ अनि हराउँछ । एक डेढ घण्टाको सिग्नलको लुकामारी पछि अलि रेगुलर सिग्नल आउन थाल्यो र हतार संकलित समाचारको फाईल मेल गरिहालें । यति गर्न सक्दा ठुलै लडाईं जिते जस्तो भयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात सेवाका अतिरिक्त ग्रामिण क्षेत्रमा विद्युत सेवा नियमित गराउने र वडा वडामा प्रदान गरिएको भनिएको इन्टरनेट सेवालाई भरपर्दाे बनाउने तर्फ लाग्न सके गाउँ गाउँमा सिंहदरबारको दलिय नाराले सार्थकता पाउने थियो कि ? समृद्ध नेपाल सुखी नेपालीको नाराले पनि सार्थकता पाउने थियो कि ?