असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर नेपालीले मनाउने महत्वपूर्ण पर्वको नाम हो, विजया दशमी । यो पर्वमा असोज शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजाआजा र आराधना गरिन्छ ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप विजयको प्रतिक रातो टिका र समृद्धिको प्रतिक जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहकासाथ गरिन्छ ।
नेपाली मात्रको साझा यो पर्व यस वर्ष भने खासै रमाइलो नहुने भएको छ । असोज ११ र १२ मा भएको वर्षाले आएको बाढी र पहिरोले धेरै परिवारको विचल्ली भएको छ । दुईसयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । सयौं ठाउँमा सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । ढुवानी समस्याको मौका पारेर व्यापारीहरुले अमानवीय ढंगले उपभोग्य सामानको मूल्य बढाएका छन् । दसैँमा मासु होइन आँसु खाने भन्ने जस्तो भएको छ । सरकारले अबरुद्ध सडक खुलाउन तदारुकता देखाएर र बजार अनुगमन गरी मूल्य नियन्त्रण गरेर नागरिक जीवन सहज बनाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन । स्थानीय भनिएका सरकारहरु पनि यस्तो काममा असफल जस्तै देखिएका छन् ।
परिस्थिती जे जस्तो भएपनि जहाँ जुन अवस्थामा छौं, त्यही हाँसीखुसी दसैँ मनाऔं । दुर्गामाताले नेपालीमाथि आशिष प्रदान गरिरहुन् । विजया दशमीको शुभकामना ।
दशैं–२०८१ को शुभकामना-सम्पादकीय
previous post