दमौली/कात्तिक ३० देखि सुरु हुने तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी बैठक बुधबार सम्पन्न भएको छ । महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सो बैठक बसेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा विभिन्न जातीय संगठनहरुको सहआयोजनामा हुने महोत्सवमा विगतका महोत्सवमा हुने गरेका अनावश्यक कार्यहरुलाई दोहोरिन नदिन र केही कार्यहरुलाई परिमार्जन गर्दै लैजाने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको स्टल निर्माण तथा रमाइलो मेलाका तयारी कार्यहरु भइरहेकोे आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्की अध्यक्ष एवं महोत्सव मुल समारोह समितिकी संयोजक बसुन्धरा घर्तीले जानकारी गराइन । केही कामहरु तिहार अगाडि बढी हुने र केही उपसमितिको काम महोत्सवकै समयमा बढी हुने भएकाले नआत्तिकन कामलाई सहज रुपमा गर्न संयोजक घर्तीले सुझाइन् ।
महोत्सवबाट हुने मूनाफाले आदिवासी जनजातिको जीवन्त संग्राहलय बनाउने मुख्य उद्देश्य आयोजकले लिएको छ । महोत्सव मार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताइएको छ ।
महोत्सवका अवसरमा व्याडमिन्टन प्रतियोगिता हुने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए । उनले महोत्सव अवधिमा नृत्य, झाँकी प्रदर्शनका लागि महोत्सवको दोहोरो दर्ता कार्यहरुलाई पनि सुधार गर्न उपसमितिका संयोजकले सुझाएको बताए । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांसकृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ ।
महोत्सवमा विभिन्न खाना, आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, हस्तकला, आदिवासी जनजाति सम्बन्धि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २३० स्टल रहेछन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, मेलिना राई, प्रिती आले, रामजी खाँड लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।